ग्यास सिलिन्डर दुर्घटनाबाट कसरी जोगिने? (भिडिओ)
दैनिक ग्यास सिलिन्डर प्रयोग गर्दा सामान्य सतर्कता अपाउन सकेमा ठूलो दुर्घटनाबाट जोगिन सकिने विज्ञहरू बताउँछन्।
खाना पकाउने एलपी ग्यास लिक भएर फागुन ३ गते राति आगलागी हुँदा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए। ८६ वर्षीया हरिकलाको फागुन ४ गते बिहान १०ः५६ बजे कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भयो। नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।
त्यस्तै, फागुन ४ गते नै दाङको तुलसीपुर नगरपालिका-१६, लहलौरामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएका छन्। केसीको अवस्था गम्भीर छ। कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने वेला सिलिन्डर विस्फोट भएको प्रहरीको भनाइ छ।
यी त ताजा घट्ना हुन्। ग्यास चुहावटका कारण आगलागीका यस्ता घटना हुँदै आएका छन्। किन यस्ता घटना हुन्छन्?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल। तस्वीरहरू: सुमन नेपाली/हिमालखबर
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल सचेतनाको कमीले यस्ता घटना हुने गरेको बताउँछन्। “सामान्य अवस्थामा सिलिन्डर पड्किंदैन। ग्यास निस्किँदैमा पनि आगो बल्दैन,” डा. ढकाल भन्छन्, “आगोको झिल्का वरिपरि भएमा, बिजुलीको स्वीच अन-अफ गर्दा आगो सल्किन्छ। आगो सक्लेपछि सिलिन्डर पड्किन सक्छ।”
यससँगै लिक भएको ग्यास भूइमा छरिएर बसेको हुन्छ। त्यतिवेला पनि बिजुलीको स्पार्कले आगो लाग्ने र सिलिन्डर पड्किने सम्भावना हुने उनी बताउँछन्।
त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभागकी प्रवक्ता ज्योती जोशी भट्ट पनि धेरै जसो घटना लापरवाहीका कारण भएको देखिएको बताउँछिन्। प्रवक्ता भट्ट भन्छिन्, “ग्यास विस्फोटमा हुने धेरै जसो घटना लापारबाही, विस्फोटक पदार्थको बीचमा दूरी कायम नभएको कारणले हुने गरेको देखिन्छ।”
नेपाल गुणस्तर तथा नापतौल विभागकी प्रवक्ता ज्योती जोशी भट्ट।
विभागले उद्योगमै गएर अनुगमन गर्दै आएको उनी बताउँछिन्। अहिलेसम्म विभागबाट ५० उद्योगले गुणस्तरीय मापन एनएस चिह्न लिएका छन्। अनुगमनका क्रममा चुहावट टेस्टमा पास नभएको, रेगुलेटरमा समस्या आउने, एनएस लोगोको बस्तुको प्रयोगका कम सचेत रहेको देखिएको उनी बताउँछिन्।
ग्यास सिलिन्डरबाट पड्किनबाट कसरी जोगिन सकिन्छ? “ग्यास सिलिन्डरलाई सडक गुडाउने, पल्टाउने गर्नुहुदैन। भेन्टिलेटर भएको भान्सामा ग्यास सिलिन्डरलाई बाहिर राख्नुपर्छ,” डा. ढकाल भन्छन्, “ग्यास सिलिन्डरलाई राम्रोसँग जाच्ने, पाइप र रेगुलेटरबारे ध्यान दिने, समय-समयमा पाइप फेर्ने, सिलिन्डरको एक्सपाएर मितिबारे चनाखो हुने, ग्यास चुलोलाई एकै ठाउँमा नराख्ने लगायतका सतर्कता अपनाएमा दुर्घटनाबाट बच्न सकिन्छ।”