दिलीप महतोको हत्यामा तीन जना दोषी ठहर
धनुषाका दिलीप महतोको हत्यामा तीन जना दोषी ठहर भएका छन्।
अवैध उत्खनन रोक्न खोज्दा दिलीपको हत्या गरिएको थियो। त्यसमा धनुषा जिल्ला अदालतले विपिनकुमार महतो, मुनीन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको हो।
जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले विपिन र मुनीन्द्रलाई नियतपूर्वक हत्या गरेकाले मुख्य कसूरदार ठहर गरेको स्रेस्तेदार विकास बस्नेतले बताए। त्यस्तै, जितेन्द्रलाई मतियारका रूपमा कसूरदार ठहर गरेको बस्नेतले बताए।
हत्याको आरोप लागेका चार जनालाई भने अदालतले सफाइ दिएको छ। रोशनकुमार यादव, शत्रुधन महतो, सत्यनारायण र विनोद महतोले सफाइ पाएका हुन्।
उनीहरूलाई कति सजाय हुने भन्ने अर्को इजलासबाट तय हुनेछ। आगामी फागुन १२ गते न्यायाधीश गुरुङले नै सजाय निर्धारण गर्ने स्रेस्तेदार बस्नेतले बताए।