फोटो काठमाडौं महोत्सव फागुन दोस्रो साता
फोटो काठमाडौं महोत्सवको पाँचौं संस्करण फागुन १२ गतेदेखि शुरू हुने भएको छ।
आठ वर्षअघि शुरू भएको फोटो काठमाडौं महोत्सव हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ। यस वर्ष हुने महोत्सवको पाँचौं संस्करणको विषय जलवायु परिवर्तन र प्रकृति रहेको छ।
महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार तथा उनीहरूका सिर्जना प्रस्तुत गरिने भएका छन्। यस पटक नेपालसँगै बाङ्लादेश, स्वीट्जरल्यान्ड, भारत र अस्ट्रेलियाका सर्जकको सहभागिता रहनेछ।
महोत्सवले प्रकृतिसँगको बुझाइलाई गहिरो बनाउने जनाइएको छ। यससँगै महोत्सवमा प्रस्तुत हुने सिर्जनाले ज्ञान उत्पादनका माध्यममाथि प्रश्न गर्ने अपेक्षा गरिएको छ।
महोत्सवमा फोटो प्रदर्शनीसँगै कलाकारहरूसँग वार्ता, छलफल, बहस पनि हुने भएको छ। त्यस्तै, कार्यशाला, नेटवर्किङ इभेन्ट लगायतका क्रियाकलाप पनि आयोजना गरिने भएका छन्।
फोटो काठमाडौं महोत्सव फागुन १२ देखि चैत १७ गतेसम्म सञ्चालन हुनेछ।