चितवन २ मा चैत २० गते उम्मेदवारी दर्ता
चितवन २ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २० गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। त्यसपछि चैत २२ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।
यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो। अहिले चितवन २ को प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ। निर्वाचन आयोगले चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्न लागेको छ।
गत मंसीर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार १६५ मतदातामध्ये ८२ हजार ९३४ मत खसेको थियो। गत माघ ३ देखि २९ गतेसम्म चितवनमा ५९७ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरूले नामावली दर्ता गराएका हुन्। आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ। फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिनेछ।