नौमती बजाउँदै आमा ब्यान्ड
नौमती बजाउन शुरू गरेर झापाका आमाहरूले लोप हुँदै गएको बाजा संरक्षण मात्रै गरेका छैनन्, नेपाल र भारतका सांस्कृतिक महोत्सवमा सहभागी भएर आम्दानी पनि गरिरहेका छन्।
परिवारले झैझगडा गर्दा झापाको बिर्तामोड नगरपालिका-२ चारपाने, लालमाटी चोककी ६४ वर्षीया शान्ता दाहाल नौमतीको घुर्की लगाउँथिन्। “परिवारमा हेप्न खोजे, घुर्की लगाउँथें- मलाई त्यसै ल्याएको हैन, नौमती बजाएर ल्याएको हो।”
हुन पनि २०३४ सालमा शान्ताको बिहे हुँदा नौमती बजा बजाएर अन्माइएको थियो। त्यति वेला दुलही अन्माउँदा नौमती बाजा बजाइन्थ्यो। शान्ता भन्छिन्, “मेरा दुई सन्तानको बिहे पनि नौमती बजारै गर्न मन थियो, तर कहाँ पाउनु!”
अहिले नौमतीको ठाउँ ब्यान्डबाजा र डिजेले लिएका छन्। र, आफ्ना सन्तानको बिहेमा नौमती बजाउन पाइनन्। उनी भन्छिन्, “सन्तानको बिहेमा बजाउन नपाएपछि नौमती बाजा लोप हुने हो कि जस्तो लाग्यो, मन पोल्यो।”
गीत गाउन र लेख्न मन पराउने शान्तालाई महिलाले नै नौमती बाजा बजाउने समूह खोल्न पाए हुन्थ्यो भन्ने लाग्यो। छरछिमेकमा आफ्नो इच्छा सुनाइन्। ब्राह्मण समुदायको बाक्लो बस्ती रहेको लालमाटीका धेरै महिलाले शुरूमा त आनाकानी गरे। “कथित तल्लो जातले बजाउँदै आएको बाजा ब्राह्मण समुदायका महिलाले कसरी बजाउने भन्ने भयो,” शान्ता भन्छिन्।
उनले हिम्मत हारिनन्। छरछिमेकीलाई मनाएरै छोडिन्, केही समय भने पक्कै लाग्यो। अनि शुरू भयो महिलाहरूको ब्यान्ड- सिंहबाहिनी महिला नौमती बाजा।
शान्ताकै नेतृत्वमा समूह त बन्यो, तर बाजा किन्नलाई पैसा थिएन। अलि अलि उठाएर पुग्ने अवस्था पनि भएन। त्यसपछि उनीहरू सहयोगका लागि वडा कार्यालय पुगे।
महिलाले नौमती बाजा बजाउने भनेको सुनेर शुरूमा त वडाध्यक्ष नगेन्द्र संग्रौलाले पत्याएनन्। उनीहरूको दृढता देखपछि भने वडाध्यक्ष संग्रौला सहयोग गर्न तयार भए। “वडाको लगानी खेर नफाल्नुहोला भन्दै एक लाख रुपैयाँ विनियोजन गर्यौं,” वडाध्यक्ष संग्रौला भन्छन्।
यो २०७७ सालको कुरा हो। तत्कालीन वडाध्यक्ष संग्रौला अहिले बिर्तामोड नगरपालिकाको उपमेयर छन्। “हामीले त्यति वेला बाजा किन्नका लागि भनेर वडाबाट एक लाख रुपैयाँ दियौं, महिलाहरूको आर्थिक उपार्जन र बाजा संरक्षणमा राम्रो कामको प्रस्ताव आएको भन्दै नगरपालिकाले ३० हजार रुपैयाँ थप्यो,” उनी भन्छन्, “अहिले त आफैं कमाउने भइसकेका छन्।”
नौमती बोकेर विदेश
नौमती बाहिनीलाई सजिलै सफलता प्राप्त भएको भने होइन्। घरपरिवारदेखि गाउँका महिलालाई सहभागी गराउन निकै प्रयत्न गर्नुपर्यो, शान्ताले। त्यसपछि आर्थिक जोहो गर्न पनि सकस नै भयो। वडा कार्यालयले आर्थिक सहयोग गरेपछि भने नगरपालिकाले पनि थप्यो। त्यसले हौसला मिलेको शान्ता बताउँछिन्।
बाजा खरीद गरेर मात्रै भएन, सिक्नु पनि पर्यो। स्थानीय दलबहादुर भित्रिकोटीलाई सिकाउन आग्रह गरे। ६३ वर्षीय भित्रिकोटीले आफूले बजाउने गरेका सबै बाजा महिला समूहका सदस्यलाई सिकाएको दाहाल सुनाउँछिन्।
अहिले यो समूहमा ११ जना महिला छन्। उनीसँगै नौमती सिकाउने भित्रिकोटी पनि जोडिएका छन्। शुरूआतमा त उनीहरूले गाउँमा हुने सांस्कृतिक कार्यक्रम बाजा बजाउन थाले। बिस्तारै काममा निखार मात्रै आएन, आम्दानी पनि हुन थाल्यो।
नौमती बाजाको संरक्षणसँगै महिला समूहका लागि आम्दानीको स्रोत पनि बनेको सचिव टीका तिम्सिना बताउँछिन्। “हामी एक ठाउँमा नौमती बजाएको कम्तीमा ३० हजार रुपैयाँ लिन्छौं,” तिम्सिना भन्छिन्, “यातायात र खानाको व्यवस्था आयोजकले नै गर्नुहुन्छ।”
यो दुई वर्षमा नौमती बाजा समूहले प्रदेश १ का अधिकांश जिल्लाको यात्रा गरिसकेको छ। सिक्किममा हुने सांस्कृतिक मेला, महोत्सव र विवाहमा पनि उनीहरूलाई निम्ता आउने गरेको छ। ”दुई वर्षमा चार पटक सिक्किम र कालेपुङ पुगेर नौमती बजाइसकेका छौं,” उनी भन्छिन्।
विवाह, ब्रतबन्धमा पनि नौमती बजाउन उनीहरूको खोजी हुन्छ। यो समूहको सिको गर्दै झापाका धेरैजसो स्थानीय तहले नौमती बाजा बजाउने समूह नै तयार गरिसकेको उपमेयर संग्रौला बताउँछन्।
यो एक किसिमको सांस्कृतिक विद्रोह भएको अध्यक्ष दाहाल बताउँछिन्। “विगतमा दलितले मात्रै बजाउने हो भन्ने सोचिन्थ्यो, अब त्यस्तो रहेन,” उनी भन्छिन्, “नामैतीसँगै अन्य बाजा बाहुनले पनि बजाउन थालेका छन्।”
नौमती बजाउने हिम्मत त्यसै आएको होइन। बुबा रामनाथ दाहालले सामाजिक विकृति विरुद्ध लड्न सिकाएको दाहाल बताउँछिन्। रामनाथ झापा आन्दोलनमा शहीद भएका थिए।
“बुबाले अन्तिम भेटमा पनि ‘समाजले के भन्छ भन्ने सोचेर आफूलाई मन लागेको काम गर्न नछोड्नू’ भन्नुभएको थियो,” शहीद रामनाथको भनाइ सम्झिँदै नौमती समूहकी अध्यक्ष दाहाल भन्छिन्, “आफूलाई मन लागेको काम गर्ने हो, हामीले पनि त्यही गर्यौं।”