सांसद अरुण चौधरीलाई बयानका लागि आज अदालत लगिने
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ।
कैलाली-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई गत माई १९ गते बाँकेबाट पक्राउ गरिएको थियो। उनको रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो।
उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडिओ प्रविधि मार्फत बयान दिनेछन्।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरी सहित तीन जना विरुद्ध जनही ६ महीना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।