एक करोड लागतमा बनाइएको पोखरी बन्यो भैंसीको आहाल बस्ने ठाउँ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बगरेभञ्ज्याङमा एक करोड रुपैयाँ खर्च गरेर बनाइएको पोखरी भैंसीको आहाल बस्ने ठाउँ बनेको छ।
पोखरी संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा निर्माण गरिएको हो। वर्षाको पानी जमाएर डुङ्गा शयर गर्न मिल्ने गरी एक हजार वर्गमिटर क्षेत्रफलमा ताल निर्माण गरिएको थियो। रुरु नाम राखिएको पोखरीमा पानी, वर्षाको भलपानी जमाइएका कारण बाह्रैमास धमिलो हुन्छ। हिउँदमा पानी अभाव हुँदा पोखरीको आकार घट्ने गरेको स्थानीयहरू बताउँछन्।
साविकको सदरमुकाम दिक्तेलबाट नौ किलोमिटरको दूरीमा रहेको बगरेभञ्ज्याङको देवीथान गल्छीमा एक करोड आठ लाख ७० हजार रुपैयाँमा १० मिटर अग्लो ड्याम बनाएर पोखरी निर्माण गरिएको हो। कृत्रिम पोखरी निर्माणका क्रममा आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारको ३४ लाख ९२ हजार, नगरपालिकाको ५४ लाख पाँच हजार ९६४ र उपभोक्ता समितिको ८९ लाख खर्च भएको छ। यस्तै, आर्थिक वर्ष २०७७/७८ मा प्रदेश १ सरकारको आठ लाख ६५ हजार ३६० र उपभोक्ता समितिको एक लाख २२ हजार ३२१ रुपैयाँ खर्च भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन गरेको बजेटबाट २०७५ फागुन २२ गतेदेखि कृत्रिम पोखरी निर्माण शुरू गरेको थियो। पोखरीमा वर्षाको भलपानीले बगाएर झारेको गेगर पस्ने गरेको छ। गेगरलाई थुप्रो बनाएर राखिएको छ। पानी चुहिन नदिन पोखरीको ड्याममा हाल्नका लागि भित्ता खन्ने क्रममा झरेको ढुङ्गामाटोले पनि तालको केही भाग पुरेको छ।
पोखरीमा पानीभन्दा ढुङ्गा‚ माटो र गेगरको थाक ठूलो देखिन्छ। रूखका जरा तालभित्रै मिल्काइएको छ। तर‚ ढुङ्गा‚ माटो, गेगर र ठूटा पन्छाउन स्थानीय सरकारको ध्यान गएको छैन। पोखरी हेर्दा निर्माण ताका अनियमितता भएको अनुमान गर्न सकिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीय हात्तीराम राई बताउँछन्। “तालको फिनिसिङ राम्रो भएन। काम अधुरो छाडे जस्तो देखिन्छ। अनियमितता भयो भन्ने पनि सुनियो,” राईले भने, “पहिचान बोकेको गैरा हो त्यो ठाउँ। पर्यावरणका हिसाबले पनि उपयुक्त काम भएको छ। तर, फिनिसिङ नहुँदा ताल कुरूप देखिन्छ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीय स्थल बगरेभञ्ज्याङलाई पिकनिक स्पटका रूपमा विकास गर्न कृत्रिम पोखरी, दक्षिणतर्फ पेन टावर र पूर्वतर्फको डाँडामा पिकनिकका लागि टहरा, चुला, बस्ने ठाउँ लगायतका संरचना निर्माण गरिएको छ। पिकनिक स्पट आसपासमा बगैंचा बनाउने भनेर रोपिएका अधिकांश बोटविरुवा हेरचाह अभावमा मरिसकेका छन्।
चारैतिर हरियाली जङ्गलले ढाकिएको रमणीयस्थल बगरेभञ्ज्याङमा विभिन्न संरचना बनेपछि आन्तरिक पर्यटक घुम्न जाने गरेका छन्। समुद्री सतहबाट दुई हजार ६८ मिटर उचाइमा रहेको बगरेभञ्ज्याङको पर्यटन प्रवर्द्धननका लागि नगरपालिकाले पिकनिक स्पट निर्माणको अवधारणा अघि सारेको थियो।