कुन हो पृथ्वीनारायण शाहको असली आकृति? (भिडिओ)
एकै खालका लाग्ने सिंहदरबारअघिको र काठमाडौं, चन्द्रागिरिको शालिकमै पृथ्वीनारायणको चोर औंलामा पृथक्ता देखिन्छ। सिंहदरबारको शालिकमा चोर औंला छातीको तहसम्म मात्र उठेको छ भने चन्द्रागिरिको शालिकमा शिरभन्दा पनि माथिसम्म।
पृथ्वीनारायण शाहका प्रचलित स्केच/मूर्तिहरूले उनको स्वरूप प्रायः यस्तो देखाउँछन्– मोटो जुँगा, हठी अनुहार अनि एक हातले तरबार समाएर अर्को हातको चोर औंला उठाइरहेको मानवाकृति। यही नै उनको असल प्रतिकृति हो त? ऐतिहासिक महेशराज पन्त यो मान्न तयार छैनन्। भन्छन्, “मूर्तिहरूमा पृथ्वीनारायणलाई फरक फरक तरीकाले देखाइँदै आएको छ, तर उनी कस्ता देखिन्थे भन्ने कुराको आधिकारिकता नुवाकोट दरबारमा रहेको मूर्तिलाई मान्नुपर्छ।”
इतिहासविद्हरू विसं १८०१ मा पृथ्वीनारायणले नुवाकोट जितेपछि यो मूर्ति त्यहाँ राखिएको अनुमान गर्छन्। इतिहासका विद्यार्थी डाने डेनिस र आभास भण्डारीको ‘नेपालको संस्थापकको सम्झना र पुनर्निर्माणः पृथ्वीनारायण शाहको दृश्य इतिहास’ लेख अनुसार उक्त कालो ढुङ्गेमूर्ति उनकै जीवनकालमा विक्रमाब्दको १८२० दशकमा बनेको हो जसमा उनी सम्भवतः प्रार्थना गरिरहेको मुद्रामा चित्रित छन्।
२०६४ सालसम्म हनुमानढोकामा रहेको यो मूर्ति गणतन्त्रपछि पुनः नुवाकोट दरबारमै फर्काइएको हो। “मूर्ति हटाइनुअघि हनुमानढोका नेवार संस्कृतिसँग जोडिएकाले पर्वतेको मूर्ति नराख्ने भन्दै विवाद भएको सुनिएको थियो,” पन्त भन्छन्।
भैरवी मन्दिरसामु राखिएको यो मूर्तिको भङ्गिमा प्रचलित अन्य मूर्तिको भन्दा पृथक् छ जहाँ पृथ्वीनारायण दुवै घुँडा खुम्च्याएर नमस्कार मुद्रामा छन्। श्रीपेचमा कल्की छैन। अन्य शृङ्गार र आभूषण पनि छैनन्। अन्य मूर्ति र चित्रहरूमा भने पृथ्वीनारायणलाई दृढ अनि शूरवीरको विम्ब दिइएको भेटिन्छ।
मौलिक स्वरूप समेट्नेतर्फ सामान्य चेतसम्म नराखी जथाभाबी चित्र बनाउने होड कसरी शुरू भयो त? नेपाल ललितकला क्याम्पसका पूर्व प्राध्यापक तथा मूर्तिकार लय मैनाली यसलाई कलाको असीमित परिधि तथा कलाकारको इच्छा अनुकूल व्यक्तिको छवि बनाउने परिपाटीको उपज मान्छन्। “पछिल्लो समय कुनै मूर्ति वा शालिक बनाउँदा अध्ययन/खोज गरिँदैन। झलक्क फोटो हेरेर त्यही अनुसार कुँद्न थालिन्छ,” उनी भन्छन्।
एकै खालका लाग्ने सिंहदरबारअघिको र काठमाडौं, चन्द्रागिरिको शालिकमै पृथ्वीनारायणको चोर औंलामा पृथक्ता देखिन्छ। सिंहदरबारको शालिकमा चोर औंला छातीको तहसम्म मात्र उठेको छ भने चन्द्रागिरिको शालिकमा शिरभन्दा पनि माथिसम्म।
ऐतिहासिक दिनेशराज पन्त पृथ्वीनारायणका काल्पनिक आकृतिहरू प्रयोग गर्ने क्रम १९९२ सालपछि देखिन थालेको बताउँछन्। जस्तो– नेपाली साहित्य सम्मेलनले प्रकाशन गरेको सूर्यविक्रम ज्ञवालीको पृथ्वीनारायण शाह पुस्तकमा उनले हातमा फूल लिएको स्केच छापिएको छ। पृथ्वीनारायणका नाति रणबहादुरको शासनकालमा गढवाली दरबारका कवि एवं कलाकार मौलारामले काठमाडौं आई मुगल शैलीको लघुचित्र बनाएको देखिन्छ। त्यसमा पृथ्वीनारायण पलेंटी कसी एउटा हातमा फूल समातिरहेका छन्, नजिकै तरबार छ। श्रीपेचमा हुमाउँ कल्की (प्वाँखबाट बनेको) छ।
इतिहासविद्हरू यही पुस्तकमा अङ्कित चित्रबाटै पृथ्वीनारायणको देवत्वीकरण तीव्र भएको मान्छन्। पुस्तकमा अर्को तस्वीर पनि छ जहाँ तरबार लिएका, हुमाउँ कल्की लगाएका, राजसी मुद्रामा रहेका पृथ्वीनारायण सामुन्ने उभिइरहेका भारदारलाई केही भनिरहेका झैं देखिन्छिन्। पुस्तकमा उल्लेख भए अनुसार उक्त चित्र तत्कालीन कमान्डिङ जनरल केशरशमशेरले उपलब्ध गराएका हुन्। केशरले ज्ञवालीलाई हस्तलिखित पुस्तक नेपालको वंशावली समेत उपलब्ध गराएको विवरण रहे पनि उक्त तस्वीर त्यही वंशावलीको भए/नभएको चाहिं स्पष्ट छैन।
ऐतिहासिक दिनेशराजका अनुसार, सिंहदरबारअघिको पृथ्वीनारायणको शालिक राजा महेन्द्रको पालामा २०२५ सालमा बनेको हो। ठडिएको औंलाले पृथ्वीनारायणलाई एकीकरणको नायकका रूपमा सङ्केत गर्ने र त्यसमा राज्यले गर्व गर्ने सन्देश दिने शासकको अभीष्ट समेटिएको यस्तो चित्र बालकृष्ण समको परिकल्पनामा अमर चित्रकारले कोरेका हुन्। यसमा पनि कल्की, तरबार अनि गरगहना छुटाइएका छैनन्। “जबकि पृथ्वीनारायणको पालामा कल्की लगाउने चलनै थिएन। सुनचाँदी लगाउने औकात पनि उनको थिएन,” दिनेशराज भन्छन्, “यो परिवर्तित स्वरूप उनलाई भगवान् बनाउन थाल्नुको परिणाम हो।”
पृथ्वीनारायणका चित्र बनाउने होड राणाकालपछि नै तीव्र भएको हो। श्री ३ राणाहरू त श्री ५ को महत्त्व घटाउन पनि पृथ्वीनारायणको प्रचार होस् भन्ने चाहँदैनथे। ऐतिहासिक महेशराजका अनुसार, ज्ञवालीको पुस्तकलाई पनि उनीहरूले निषेध जस्तै गरेका थिए। यद्यपि, यो पुस्तकले पृथ्वीनारायणको जीवनी र चित्र प्रस्तुत गरेपछि नै ‘राष्ट्रनिर्माता’ का रूपमा उनीबारे थप खोजी हुन थालेको हो।
पृथ्वीनारायणको दानवीकरण पनि नभएको होइन। आधुनिक कालपछि अंग्रेजहरूले उनको कटु आलोचना गरिरहेका थिए। गोर्खाली फौजले १८२२ सालमा कीर्तिपुर जित्दा यहीं रहेका ब्रिटिश पादरी जुजेप्पेले पृथ्वीनारायणले सबै कीर्तिपुरेको नाक काटिदिएको भनी प्रचार गरे। सिन्धुलीको लडाइँमा हारेपछि त उनीहरू अझ खनिन थालेका थिए। बाइसे–चौबीसे राज्यको एकीकरण उनीहरूलाई चित्त बुझेको थिएन। “यस्तोमा पृथ्वीनारायणलाई एकथरीले दानव त अर्कोथरीले देवताका रूपमा प्रचार गर्ने प्रतिस्पर्धा बढ्यो,” महेशराज भन्छन्, “देवता बनाउनेहरूले मूर्तिमा पनि त्यही झल्को दिन थाले।”
दिनेशराजका अनुसार, पृथ्वीनारायणको महिमामण्डनकै क्रममा राजा राजेन्द्रविक्रमले अरूलाई श्री ५ वा श्री ७ सम्म लगाएर सम्बोधन गरेकोमा पृथ्वीनारायणलाई ५२ वटासम्म श्री लगाएको पुस्तकहरूमा उल्लेख छ।
पञ्चायती शासनमा त राजा महेन्द्रको निर्देशनमा शाह राजाहरूलाई एकसेएक तेजिला बनाउनू भनी आदेश नै जारी भएको थियो। “सबै शाह राजा गुणवान् थिएनन्। कोही सन्की र बौलाहा स्वभावका पनि थिए,” दिनेशराज भन्छन्, “यो घोषणापछि उनीहरूका आकृति पनि चहकिला बनाइन थाले।” पृथ्वीनारायणको देवत्वीकरणमा उनको प्रशस्ति नै बदलियो। पहिलेका प्रशस्तिमा उनको नामअघि शमशेर जंगबहादुर हुन्थ्यो। दिल्लीका बादशाहले पृथ्वीनारायणलाई राजा हैन, जमीनदार भनी ‘शमशेर बहादुर जंग’ खिताब दिएको भनेर बाबुराम आचार्यले लेखेपछि महेन्द्रले त्यो उपाधि नै हटाइदिए। “यसरी नामसँग जोडिएको पुरानो प्रशस्ति नै हटाइदिने शासकले आफ्नो इच्छा र योजना अनुसारका आकृति बनाउनु इतिहासदेखिकै अभ्यास हो,” महेशराज भन्छन्।
मूर्ति राजनीति
२०२५ सालसम्म आइपुग्दा शाहवंशीय शासकहरू पृथ्वीनारायणको छवि त्यस्तो बनाउन सफल भइसकेका थिए जुन आज अधिकतर नेपालीका मस्तिष्कमा रूढ भएर बसेको छ। यस्तो किन गरियो त? “शासनलाई वैधता दिन,” काठमाडौंका देवीका मूर्ति अर्थ्याएर गडेस अफ काठमान्डु पुस्तक लेखेका प्राध्यापक अरुण गुप्तो भन्छन्, “हरेक शासकले जनतामाझ आफ्नो शासनको वैधता स्थापना गर्न र निरन्तरता दिन विगतका पात्रहरूलाई आफू अनुकुल व्याख्या गर्छ। त्यसरी व्याख्या गर्दा उनीहरूको कथा र छविको पुनर्निर्माण गरिन्छ।” गुप्तोका अनुसार, हरेक कलाले प्रतीक, प्रतिमा र सूचकमध्ये एक वा एकभन्दा बढी रूपमा भूमिका खेल्छ। पृथ्वीनारायणको छविले यी तीनै भूमिका स्थापित गरेको छ– लडाकु, बलिष्ठ र दृढसङ्कल्प हिन्दू शाहवंशीय राजाका रूपमा।
ऐतिहासिक पात्रको अनधिकृत चित्रणले इतिहास अध्ययनमै अन्धकार थप्ने भएकाले कम्तीमा शालिक बनाउँदा आधिकारिकता दिन सरकारको छुट्टै निकाय हुनुपर्ने कलाकार तथा सम्पदा पुनःस्थापना अभियानका प्रवक्ता रोशन मिश्र बताउँछन्। “यसले कुनै पनि ऐतिहासिक पात्रको मूर्ति बनाउनुअघि प्रामाणिकता खोज्न र अध्ययन गर्न प्रोत्साहन गर्छ,” उनी भन्छन्।
(हिमालको २०७९ फागुन अङ्कबाट।)