वाह नेपाल, वाह नेपाली!
यूरोपदेखि एशियासम्मको साइकल यात्रामा मैले अनुभूति गरेको सुखद तथ्यलाई नेपालले पनि पुष्टि गरिदियो। शक्तिको भोक जगाउने व्यवस्थाले मात्रै हामीलाई सकारात्मक परिवर्तनबाट पर पुर्याएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज नजिकैको सानो बजार ठाकुरद्वारा पुगेपछि मैले अनुपम देशमा आइपुगेको महसूस गरें। यस्तो अनुभूति फूटबलको माध्यमबाट भएको थियो। यूरोपदेखि एशियासम्मको नौ महीने साइकल यात्रामा मैले दर्जनौं देशमा फूटबल खेलिसकेको थिएँ। यात्राले मलाई सिकाएको थियो– सङ्गीत, खाना र खेल विश्वव्यापी भाषा हुन्। फरक भूगोल र भाषाका मानिसहरूसँग यिनै माध्यमबाट संवाद गरें।
त्यसैले त नेपाल आइपुगेको तेस्रो दिनको साँझपख केही बालबालिका र युवाले आफूसँग फूटबल खेल्न बोलाउँदा म रमाएँ। जङ्गलछेउको मैदान, डुब्दै गरेको घाम र छरिएको सुनौलो प्रकाश। दृश्य बडो गजब थियो।
हामी खेल्न थाल्यौं। सबै जना सहभागी भइरहेका थिए, उमेर र सीपको मतलब थिएन। कति गोल भयो भन्नेसँग पनि खासै वास्ता थिएन। र, सबैभन्दा विशेष चाहिं बललाई आफ्नो टीममै राखिरहन बढी जोड दिइएको थियो। यसअघि मैले फूटबल खेलेका लगभग सबैजसो देशमा खेलाडीले टीमका अरू सदस्यतिर खासै ध्यान दिँदैनथ्यो। खुट्टामा बल पर्नासाथ ऊ छक्याउँदै, खेलाउँदै गोलपोस्टतिर एक्लै बढ्थ्यो। उसको खुट्टाबाट बल बीचमै खोसिन्थ्यो र रफ्तार रोकिन्थ्यो।
नेपालमा भने फरक थियो। सबै जना ठीक ठीक ठाउँमा बसेर दबाब सिर्जना गरेको देखें। अर्थात्, केही व्यक्ति मात्र नभई सिङ्गो टीम खेलिरहेको थियो। यो सामूहिक भाव निकै सुन्दर थियो। यीमध्ये केही खेलाडीसँगै मैले साँझ बिताएँ। हामीले गितार बजाउँदै नेपाली गीतहरू गायौं।युवाहरूबीचको स्नेहले यहाँको सामाजिक पारस्परिकता कति प्रगाढ रहेछ भन्ने देखाउँथ्यो।
यस्तो अप्रत्याशित स्वागतसँगै मेरो तीन महीने नेपाल बसाइको शुरूआत भयो। यसबीचमा मैले नेपालका थुप्रै ठाउँमा साइकल यात्रा गरेँ। यहाँ आउनुअघि मलाई दिइएको तीन महीनाको भिसा पूरै उपयोग गरिएला भन्ने सोचेको थिइनँ। तर, शुरूआती दिनमै यहाँको शान्त वातावरणले प्रभाव पार्यो। ‘मलाई यो ठाउँ साँच्चै मन पर्यो, यो ठाउँमा केही छ’, बर्दियाबाट पोखरातिर साइकल गुडाउँदै गर्दा आफैंसँग भनेको थिएँ।
एउटै देशमा रहुन्जेल एकैखाले अनुभूति भइरहेथ्यो, जुन यसअघि मलाई कहिल्यै भएको थिएन। धूलोधुवाँ र होहल्लायुक्त काठमाडौं उपत्यकाको गल्लीमा होस् वा अरुण नदीपारि जङ्गलनेर किसानहरूको घरमा बस्दा, जहाँसुकै पुग्दो त्यो आनन्दानुभूति गरिरहें। यात्राको क्रममा मैले अनुभव गरेको थिएँ, केही ठाउँमा बसेपछि फेरि अर्को नयाँ ठाउँ र संस्कृति पत्ता लगाउने भोक जागिहाल्छ। तर, नेपालको सन्दर्भमा भने यो लागू भएन।
हुन त मलाई एक तिब्बती भिक्षुले यस्ता अनुभूतिबारे धेरै नसोच्न सल्लाह दिएका थिए, तर आफैंलाई थाम्न सकिनँ। केही बेर सोचविचार गरेपछि मेरो निष्कर्ष थियो, आफ्नो सिङ्गो यात्रामा फेला पारेका निकै गजब स्थानमध्ये नेपाल एक हो।
१४ हजार किलोमिटरको साइकल यात्रामा मैले सिकें– मानव जातिको सर्वव्यापी उपस्थिति हुँदाहुँदै पनि प्रकृतिको सौन्दर्य अक्षुण्ण रहन सक्छ। र, सौन्दर्य कायम राख्न हामीले संघर्ष पनि गर्नुपर्छ। यात्राका क्रममा मैले बाल्कनको देवदारको जङ्गल, ग्रीसका सफा ताल र सुमद्री किनार, जर्जियाको ककेशियन पर्वत शृङ्खला र इरानी मरुभूमिको ओएसिस पनि देखें । मानिसले थोरै मात्र असर पारेका ती ठाउँ वर्षौंदेखि धेरै जीवको वासस्थान रहिआएका छन्। र, लामो समयदेखि ती संरक्षित पनि छन्।नेपालमा मैले फेरि एक पटक प्रकृतिको त्यो सौन्दर्यसँग साक्षात्कार गर्ने मौका पाएँ। मानव जातिको दखलबाट बचेका चोखा नदीहरू, हरिया जङ्गल, फराकिला चौर, घना जङ्गल भएका चुरे पहाड र हिउँको टोपी लगाएका हिमाल, सबै सबै मोहक थिए। खासगरी हिमालले मेरो मन नै चोरे।
सिङ्गो यात्राका क्रममा मैले अनुभूति गरेको तथ्यलाई नेपालले पुनः पुष्टि गरिदियो। त्यो तथ्य हो– हरेक १० जनामध्ये नौ जना मिलनसार, दयालु र सहयोगी छन्। शक्तिको भोक जगाउने व्यवस्थाले मात्रै हामीलाई सकारात्मक परिवर्तनबाट पर पुर्याएको छ। अशान्ति, विभाजन र भ्रष्टाचारको कारक पनि त्यही व्यवस्था हो।
जीवजन्तु, जङ्गल र हिमाल भनेका नाफा र आर्थिक वृद्धिका लागि दोहन गर्ने चीज मात्र हुन् भन्ठान्ने पूँजीवाद विरुद्ध विभिन्न देशमा आन्दोलन उठ्दै गरेको पनि मैले महसूस गरें। चाहे नेपाल होस् वा इरान, टर्की वा बोस्निया, मानिसहरू परिवर्तन चाहन्छन्। त्यो चाहना उनीहरू खुलेआम व्यक्त गरिरहेछन्। हालै नेपालमा सम्पन्न आम निर्वाचनबाट उल्लेख्य संख्यामा नयाँ अनुहार आएका छन्, जो पुराना दलका उम्मेदवार थिएनन्। यो निर्वाचन परिणामले नेपाल विश्वव्यापी आन्दोलनको एउटा हिस्सा भएको स्पष्ट पार्छ।
यूरोप र मध्य एशियामा मैले भेटेका मानिस परिवर्तन चाहन्छन् र त्यसका लागि प्रयत्नशील पनि छन्। त्यस्ता काम प्रायः सामुदायिक तहमा भएको छ । जलवायु परिवर्तन, वन विनाश, प्रदूषण, भूक्षय, प्रकृति र वातावरणसँग सन्तुलन राख्ने खेती, अपाङ्गतायुक्त व्यक्तिको पूर्ण सहभागिता जस्ता विषयमा उनीहरू समाधान खोजिरहेछन्। यसका लागि मानिसहरू काँधमा काँध मिलाएर हिंडिरहेका छन्।
मैले साइकल यात्रा गरेका थुप्रै देशले दिगो भविष्यका लागि एक होइन, दुई कदम पाइला चाल्न सक्ने सम्भावना देखें। सडक, विद्यालय, अस्पताल, सरकारी भवन र विद्युत् प्रसारण लाइन बन्न बाँकी रहेका नेपाल, भारत र पाकिस्तान जस्ता देशहरूमा खनिज इन्धनमा आधारित पूर्व स्थापित संरचना छैनन्। त्यसैले उनीहरू आत्मनिर्भर, दिगो र योजनाबद्ध शहरहरू बनाउन सक्छन्। उदाहरणका लागि, विद्युतीय यातायात प्रणाली बनाउन सकिन्छ। सौर्य ऊर्जा, वायु ऊर्जा र अन्य नवीकरणीय ऊर्जाका स्रोतमा जोड दिन सकिन्छ।
यात्राले मलाई अर्को पाटो पनि देखायो। त्यो हो– गरीबी, गतिलो जागीर नपाउँदा निराश पुस्ता र अत्यधिक प्रदूषण। यसका बावजूद यात्राले मलाई धर्तीमा मानवताको भविष्यप्रति अझ आशावादी बनायो। नेपाल र नेपालीको हकमा त यस्तो आशा झनै बढी छ। ठाकुरद्वाराका किशोरहरूले खेले जस्तै सामूहिक भावले जुट्ने चाहना र क्षमता हुने हो भने शीघ्र परिवर्तन सम्भव छ।