के नेपाल मूर्खहरूकै देश हो?
एक वेबसाइटमा प्रकाशित प्रतिवेदनमा नेपालीको आईक्यू लेभल सबैभन्दा कम उल्लेख भएकाले नेपालीहरू कम बौद्धिक भएको भनी केही दिन यता टीकाटिप्पणी हुँदै आएको छ। के नेपालीहरू कम बौद्धिक नै छन्?
अमेरिकी प्रथम राष्ट्रपति जर्ज वाशिङ्टनबाट प्रभावित बेन कप्लानले ‘सचेत मतदाता’ को भिजन सहित वाइजभोटर डटकम स्थापना गरेका हुन्। वाइजभोटरमा प्रकाशित ‘कन्ट्रिज बाई एभरेज आईक्यू’ प्रतिवेदनको सूचीमा नेपाल अन्तिममा रहेको छ। १९३ देशमध्ये नेपाल सबैभन्दा पुछारमा छ।
उक्त प्रतिवेदनलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। केहीले यसलाई चिन्ताको विषय मानेका छन्। प्रायले भने नेता र व्यवस्थामाथि गाली गर्ने र शिक्षा प्रणालीमा प्रहार गर्ने अवसरका रूपमा प्रयोग गरेका छन्। यहाँ स्मरण गर्नुपर्ने कुरा के हो भने उक्त प्रतिवेदन तयार गर्दा वाइजभोटरले नेपालमा एकदमै सानो ‘स्याम्पल’ मा मात्र अध्ययन गरेको उल्लेख छ। त्यसैले प्रतिवेदनलाई शतप्रतिशत सत्य मान्नु बौद्धिक अक्षमता ठहरिन्छ।
इन्टेलिजेन्स टेस्ट र आईक्यूको विकास
फ्रान्सेली मनोवैज्ञानिक अलफेद बिनेले सन् १९०५ तिर विद्यार्थीहरूलाई थप कक्षा आवश्यक छ कि छैन भन्ने थाहा पाउन विद्यालयहरूमा नसोधिने केही ‘कमनसेन्स’ प्रश्न राखेर परीक्षाको विकास गरे। त्यही परीक्षा ‘आईक्यू टेस्ट’ का रूपमा रूपान्तरित भयो। बिनेले बनाएका प्रश्नहरू यस्ता थिएः
– मौसम सफा छ, अनि आकाश? .... छ। उक्त खाली ठाउँमा परीक्षार्थीले ‘नीलो’ भन्ने उत्तर लेखोस् भन्ने कल्पना थियो।
– महिलाले सुकाएको कपडा चाँडै सुक्यो। हिउँ जस्तै सेतो कपडाले ..... तिर्मिरायो। यस प्रश्नको खाली ठाउँमा परीक्षार्थीले ‘आँखा’ भन्ने उत्तर लेखोस् भन्ने कल्पना थियो।
बिनेको उक्त विधिलाई अमेरिकी मनोवैज्ञानिक हेनरी गोड्डार्डले अमेरिका भित्र्याएर बौद्धिकतालाई वैयक्तिक इन्टेलिजेन्स र नलेजमा विभाजन गरी त्यस अनुसारको प्रश्न राखे। त्यसलाई ‘आईक्यू टेस्ट’ का रूपमा स्थापित गरे। उनले वैयक्तिक बुद्धिमत्तालाई जन्मसिद्ध क्षमता र ज्ञानलाई आर्जन गर्न सकिने बुद्धिमत्ताका रूपमा चित्रण गरे। प्रतीकात्मक रूपमा आन्तरिक क्षमता चित्रण गर्न ठूलो टाउको र सानो टाउको भएका मान्छे र ज्ञानलाई देखाउन उत्रै टाउकाहरूभित्र ज्ञानका अंशहरूको भिन्नता भएको तस्वीर समेत विकास गरे।
गोड्डार्डले तयार पारेका केही प्रश्न यस्ता थिएः
(क) ३० जना मान्छे र सात जना मान्छे कति हुन्छन्? (यो प्राकृतिक बुद्धिमत्ता हो कि ज्ञान?)
(ख) बिरालाहरू यसकारण उपयोगी हुन्छन् कि उनीहरूले मुसा समाउँछन् वा तिनीहरू नरम हुन्छन् वा तिनीहरू कुकुरदेखि डराउँछन्?
(यो प्रश्नको जवाफ दिन बिरालोको विषयमा पूर्व जानकारी हुन आवश्यक छ कि यो त्यतिकै दिन सकिने हो?)
के हो आईक्यू?
इन्टेलिजेन्स क्वेशन्ट वा आईक्यू भन्नाले परीक्षार्थीको मानसिक उमेरलाई उसको परीक्षा दिंदाको उमेरले भाग गरेर १०० ले गुणन गरेर आउने अङ्क हो। सामान्यतः अधिकतम २०० मानिने हुँदा १०० लाई औसत मानिन्छ। मानसिक उमेर भन्नाले टेस्टबाट प्राप्त अङ्कलाई जनाउँछ।
युनिभर्सिटी अफ इलिनोइसका प्राध्यापक डा. विलियम कोपका अनुसार‚ आईक्यूले हरेक मानिस एक निश्चित स्तरसम्म पुग्ने र त्यसभन्दा पर जान नसक्ने मान्यता राख्छ। जन्मँदै निश्चित आन्तरिक बुद्धिमत्ता लिएर जन्मने विश्वास गर्दछ। यसले उच्च अङ्क ल्याउनेलाई बुद्धिमान् र कम अङ्क ल्याउनेलाई बेवकूफ वा मूर्ख मान्छ।
गोड्डार्डका अनुसार‚ कम बुद्धि भएकालाई बढी बुद्धि भएकाहरूले नियन्त्रण र शोषण गर्छन्। कम आईक्यू भएका मान्छेहरूको संख्या अत्यधिक हुने र तिनीहरू अत्यन्त खतरनाक हुने भएकाले लोकतन्त्रलाई उनीहरूबाट सधैं जोखिम रहने गोड्डार्डले बताएका थिए।
त्यसैले केही विश्लेषकहरूले आईक्यू टेस्ट पूँजीवादको स्थापना र विकासका लागि निर्मित एक बौद्धिक षड्यन्त्रका रूपमा चित्रण गरेका छन्। किनकि यो ज्ञान, बुद्धिमत्ता, शिक्षा र विशेषज्ञताको सम्बन्धमा सम्भ्रान्तहरूको एक खालको धारणा मात्र हो जसले कमजोर र गरीबमाथिको दमनलाई सभ्य रूपमा स्थापित गर्यो। आईक्यू अङ्क अनुसार गोड्डार्डको वर्गीकरण यस प्रकार छः
(क) ०–२५ : बेवकूफ (Idiot)
(ख) २६–५० : मूर्ख (Imbecile)
(ग) ५१–७० : मन्दबुद्धि (Moron)
(घ) ७१ भन्दा माथि : बुद्धिमान (Intelligent)
यो वर्गीकरण र वाइजभोटको प्रतिवेदन अनुसार‚ सिङ्गो नेपाल मूर्खहरूको देश हो। किनकि नेपालको स्कोर ४२.९९ मात्र छ।
आईक्यू टेस्टले साँच्चै बुद्धिमत्ता पत्ता लाउँछ?
आईक्यू टेस्टबारे अमेरिकी लेखक डा. आइज्याक असिमोवको अनुभव बडो प्रासङ्गिक हुन्छ। उनी दुनियाँका शायद एक मात्र त्यस्ता व्यक्ति थिए जसले औसत १०० अङ्कको आईक्यू टेस्टमा सधैं १६० अङ्क ल्याउँथे। तर‚ उनी आफैं भन्थे, यसको कुनै अर्थ थिएन। किनकि‚ टेस्ट लिएको अर्को दिन उनी आफ्नो आर्मी क्याम्पमा भान्सेको काम गरिरहेका हुन्थे। जब उनको कार बिग्रिन्थ्यो, मेकानिकलाई भगवान् जस्तै हेरिरहेका र सुनिरहेका हुन्थे जसको आईक्यू स्कोर डा. असिमोवको अनुमानमा ८० पनि आउँदैनथ्यो।
त्यसो भए प्रश्न उब्जिन्छ, के डा. असिमोव बुद्धिमान् थिएनन्? आईक्यू टेस्ट गलत हो? यस विषयमा उनी भन्छन्, “मेरो इन्टेलिजेन्स भनेको निरपेक्ष होइन, म बसेको समाजको उपज हो र त्यो समाजको सानो हिस्साले यसलाई अरू सबैमा लाद्न सफल भएको हो।” उनी अझै प्रस्ट पार्छन्, “मैले पढेकै जस्तो ज्ञान पढेका मान्छेहरूले प्रश्न बनाएको भएर मात्र मेरो अङ्क बढी आएको हो नत्र त्यसको सट्टा कार मेकानिकले वा सिकर्मीले प्रश्न बनाएको भए के हुन्थ्यो? म निश्चय नै बेवकूफ वा मूर्ख सावित हुन्थें।”
बिने र गोड्डार्डले बनाएका केही प्रश्न माथि उल्लेख गरिएको छ। पूरै प्रश्नहरू इन्टरनेटको माध्यमबाट पाउन सकिन्छ। उनीहरूका प्रश्न र हालका आईक्यू टेस्टहरूमा प्रयोगमा आउने प्रश्नहरूलाई राखेर आफैंलाई सोधौं, “के यस खालका केही प्रश्नहरूले व्यक्तिको सम्पूर्ण बुद्धिमत्ता परीक्षण गरेर भाग्य निर्धारण गर्न सक्छ? अझ सानो स्याम्पल टेस्ट गरेर सिङ्गो देशको जनसंख्याको बुद्धिमत्ता मापन गर्न सक्छ?”
बुद्धिमत्ता एकथरी कि धेरै थरी?
डा. असिमोव जस्तै अमेरिकी मनोवैज्ञानिक प्रा.डा. होवार्ड गार्नरले पनि इन्टेलिजेन्स एउटै डालोमा राखेर नाप्न सकिने एकाङ्गी विषय नभएको आफ्नो अनुसन्धानबाट सिद्ध गर्दै सन् १९८३ मा फ्रेम्स अफ माइन्ड पुस्तक लेखेका छन्। उनले त्यही पुस्तक मार्फत बहुबुद्धिमत्ता वा मल्टिपल इन्टेलिजेन्सेजको सिद्धान्त अघि सारेका छन्।
यस सिद्धान्तले सिङ्गो शिक्षा क्षेत्र र बुद्धिमत्ता सम्बन्धी बुझाइमा हलचल ल्यायो। त्यसपछि बहुबुद्धिमत्ता सर्वस्वीकार्य तथ्य बन्दै गयो। उनले हालसम्म शाब्दिक–भाषिक, तार्किक–गणितीय, दृश्यात्मक–स्थानात्मक, शारीरिक–गतिमय, साङ्गीतिक, अन्तर्व्यक्ति, अन्तर्मुखी, प्राकृतिक, अस्तित्ववादी, डिजिटल, शैक्षणिक आदि गरेर ११ थरी बुद्धिमत्ता अस्तित्वमा रहेको बताएका छन्। साथै‚ मान्छेको सफलता तीमध्येका केही बुद्धिमत्ताजन्य क्षमता र सीपमा आधारित हुने बताएका छन्। नयाँ प्रगतिशील शिक्षाले यसलाई महत्त्वका साथ आत्मसात् गर्दै आएको छ।
नेपाल साँच्चै मूर्खहरूको देश हो?
होइन। वाइजभोटरको प्रतिवेदनमा नै थोरै व्यक्ति सहभागी भएको अध्ययन भनिएको छ। ती व्यक्तिहरू कुन तह र तप्काका मान्छेको हुन् भन्नेले पनि धेरै अर्थ राख्छ। उक्त प्रतिवेदनले उत्कृष्ट आईक्यू भएका ६ देशमा मूल रूपमा मंगोल वंशको बाहुल्य रहेको मुलुक छन्। जस्तै- १. जापान (१०६.४८)‚ २. ताइवान (१०६.४७)‚ ३. सिङ्गापुर (१०५.८९)‚ ४. हङकङ (१०५.३७)‚ ५. चीन (१०४.१) र ६. दक्षिण कोरिया (१०२.३५)।
मूलधारका देशहरूले मंगोल मूलका मान्छेको होचो कद, थेप्चे नाक र चिम्से आँखाका कारण जन्मजातै ‘डाउन्स सिन्ड्रोम अर्थात् मन्दबुद्धि र लठेप्रोपन भएको’ मान्छेका रूपमा चित्रण गर्दै आएका छन्। तर‚ वाइजभोटरको प्रतिवेदनले नतीजा फरक देखाएको छ। त्यसैले आईक्यू टेस्टको प्रश्न ती मूलका व्यक्तिले बनाएका हुनुपर्यो कि ती मूलका मानिसको बुद्धिमत्तामा परिवर्तन आएको हुनुपर्यो। वा आईक्यू सम्बन्धी अवधारणामा आमूल परिवर्तन भएको हुनुपर्यो।
अर्को महत्त्वपूर्ण पक्ष आईक्यू टेस्टले मूलतः कुन बुद्धिमत्ता परीक्षण गर्छ भन्ने हो। डा. होवार्ड गार्नरको निचोडमा सबैखाले आईक्यू टेस्टले मूल रूपमा भाषिक–शाब्दिक र तार्किक–गणितीय बुद्धिमत्ता मात्र परीक्षण गर्छ। अर्थात्‚ बाँकी नौ थरी बुद्धिमत्ता यसले चिन्दैन।
अमेरिकाका रोबर्ट यर्कले ‘आर्मी इन्टेलिजेन्स टेस्ट’ का लागि अक्षर, शब्द र अङ्करहित आईक्यू टेस्टको विकास गरेका थिए जसमा चित्रहरूको मात्र प्रयोग गरिएको थियो। यस्तो टेस्टले थप एक खालको बुद्धिमत्ता– दृश्यात्मक–स्थानात्मकलाई सम्बोधन गर्ने देखियो। यी बाहेक अन्य आठ थरी बुद्धिमत्तालाई पूर्णतया बेवास्ता गर्ने आईक्यू टेस्टको नतीजाबाट देशै मूर्ख भएको निष्कर्ष निकाल्नु चाहिं वास्तविक मूर्खता हो।
जतिसुकै वैज्ञानिक परीक्षण भनेर दाबी गरिए पनि कुनै पनि आईक्यू टेस्टमा प्रश्न निर्माणकर्ताको भाषा, समाज, शिक्षा, सभ्यता, संस्कार, सम्प्रदाय आदिको प्रभाव रहने कुरा अध्ययनहरूले देखाएको छ। यसका लागि देहायका बुँदाहरूमा छलफल गर्न सकिन्छ-
प्रश्नको भाषाः आईक्यू टेस्टको प्रश्न अंग्रेजीमा बनेको रहेछ वा त्यसको शाब्दिक उल्था रहेछ भने त्यसको नतीजाको मतलबै भएन। अध्ययनहरूले अंग्रेजीभाषी बाहेकका मान्छेहरूको नतीजा स्वाभाविक रूपले कमसल हुने देखाएको छ। धेरैजसो सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वहरू र नेता–मन्त्रीहरूको अंग्रेजीको स्तर हामीलाई थाहै छ। नबुझेको प्रश्नको जवाफ सही हुनु भनेको नेपालीहरूले मान्ने भाग्यको खेलभन्दा अरू केही होइन।
प्राश्निकको समाज, शिक्षा र सभ्यताः उल्लिखित टेस्टको प्राश्निक नेपाली समाजकै वा भारतीय रहेको भए नतीजाको वैधता स्थापित हुन सक्थ्यो। तर‚ बिल्कुल फरक समाजको शिक्षा, संस्कार र सभ्यतामा हुर्किएको व्यक्तिले बनाएका प्रश्न भनेको डा. असिमोवलाई कार मेकानिकले बनाउने प्रश्न जस्तै हो। पृथक् दन्त्यकथा, नीतिकथा, पात्र, गीत आदि पढेर–सुनेर हुर्किएको र पृथ्वीनारायण शाहको इतिहास, रामायण-महाभारतको कथा आदि पढेर शिक्षित व्यक्तिको बुद्धिमत्ता अर्कै पृष्ठभूमिको विदेशीले बनाएको प्रश्नबाट हुन सक्दैन।
प्रसङ्ग बदलौं‚ अहिले सर्वत्र च्याटजीपीटीको चर्चा छ। केही दिनअघि एक जना मित्रले च्याटजीपीटीमा ‘नालापानीको युद्ध’ बारे प्रश्न गर्दा नेपोलियनको युद्ध सम्बन्धी उत्तर दिएको स्क्रीनशट शेयर गरेका थिए। शायद‚ वाइजभोटरको यो आईक्यू टेस्ट पनि त्यस्तै भएको हुन सक्छ। त्यसो हुनु च्याटजीपीटीको बुद्धि नभएको होइन, प्रसङ्ग र प्रश्न फरक भएको हो। साँच्चै बुद्धिमत्ता परीक्षण गर्ने भए दोहोरो गरौं। उनीहरूको देशमा पनि हाम्रो लोक सेवा आयोगले बनाएको आईक्यू प्रश्नबाट परीक्षण गरौं। यस्तो अवस्थामा विकसित भनिएका देशहरू सूचीको पुछारमा पुग्न सक्नेछन्।
त्यसैले नेपाल बेवकूफ र मूर्खहरूको देश होइन। बेवकूफी र मूर्खता जनतामा होइन, नीति र प्रणालीमा छ। नीति निर्मातामा छ।
(लेखक भक्तपुरस्थित गोल्डेन गेट इङ्लिश सेकेन्डरी स्कूलका प्रिन्सिपल तथा नेपालमा मल्टिपल इन्टेलिजेन्सेजमा आधारित पीबीएलका प्रवर्तक हुन्।)