बाढीपहिरोबाट प्रदेश १ मा तीन दिनमा ११ जनाले ज्यान गुमाए
लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रदेश १ मा तीन दिनमा ११ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा २ महिला र ४ बालबालिका छन् भने खोलाले बगाएर ४ जना बेपत्ता छन् । भोजपुरमा थप ३ जना बेपत्ता भएको खबर आएपनि उनीहरूको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खोटाङको खोटेह्याङ गाउँपालिका २ मा बाढीले घर भत्किँदा शुक्रबार एक महिला र उनका दुई छोराको मृत्यु भएको छ ।
घरको पर्खालले किचिएका रेखा राई (२८), उनका छोरा ४ वर्षीय रोमन र ७ महिने रोहनको शनिबार बिहान शव निकालिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै उदयपुर घर भई इटहरीमा बस्दै आएका सागर थापालाई स्थानीय खोलाले बिहीबार बगाएकोमा शनिबार बिहान शव फेला परेको छ । पाँचथरको मिक्लाजुङ ४ मा ९ वर्षीय दिवन राई खोलाले बगाएर शुक्रबारदेखि बेपत्ता छन् ।
झापा भद्रपुर ९ का सफल हस्दा (४५) लाई बिहीबार खोलाले बगाएकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुनसरी बराह नगरपालिका १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी २ का नाम थर नखुलेका एक व्यक्ति बिहीबारदेखि खोलाले बगाएर बेपत्ता भएको प्रहरीले बताएको छ।