यातायात मजदूरको हडतालले पठाओमा तीन गुणा बढी यात्रु
यातायात मजदूरको हडतालले सार्वजनिक यातायात बिथोलिंदा पठाओ, इनड्राइभर जस्ता राइडिङ एपमा सेवाग्राहीको चाप बढेको छ।
सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले बढाएको जरिवाना फिर्ता गर्नुपर्ने लगायत माग राखी नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात मजदूर संघले मंगलबार सार्वजनिक यातायात बन्दको घोषणा गरेका थिए।
बिहानैदेखि सार्वजनिक सवारी नचल्दा काठमाडौं उपत्यकावासीले गन्तव्य पुग्न वैकल्पिक माध्यम अपनाएका हुन्। मंगलबार यातायात सेवाको माग साविकभन्दा तीन गुणा बढी आएकाले धान्नै गाह्रो परेको पठाओ प्राइभेट लिमिटेडकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल बताउँछिन्। “दैनिक ६० हजार मानिसले पठाओ चढ्ने गर्छन्,” उनी भन्छिन्, “बन्दको प्रभावले होला, मंगलबार यात्रुको अनुरोध धेरै आयो, चालक नै पुर्याउन गाह्रो पर्यो।” हमालका अनुसार, पठाओमा एक लाख ५० हजार सवारी दर्ता छन् भने दैनिक आठदेखि १० हजार चालकले सेवा दिने गर्छन्।
हमालले चालक पुर्याउनै हम्मे परेको बताइरहँदा यात्रु भने चालकहरूले अफलाइन बसेर बढी रकम असुलेको गुनासो गरिरहेछन्। नयाँ ठिमीबाट पाटनढोका आएका एक यात्रुका अनुसार, एपले उक्त दूरीको भाडा २२७ रुपैयाँ देखाए पनि चालकले उनीसँग अफलाइन लैजाने भन्दै ३५० रुपैयाँ मागेका थिए। तर, राइडिङ कम्पनीहरूले अनलाइन मार्फत सेवा दिने भनिए पनि चालकहरूले बस बिसौनीहरूमा बसेर ग्राहकसँग व्यक्तिगत रूपमा भाडा मोलमोलाइ गरिरहेका देखिन्छन्।
मार्केटिङ म्यानेजर हमाल भने चालकले व्यक्तिगत रूपमा मोलमोलाइ गर्न नपाउने र एपमा जति देखिन्छ त्यति पैसा मात्र लिन पाउने बताउँछिन्। “ग्राहकले त्यस्ता चालकको पहिचान खुलाएर हामीलाई उजुरी हाले तत्काल निलम्बन गर्नेछौं,” उनी भन्छिन्।
यातायात मजदूरले सरकारसँगको वार्तापछि मंगलबार मध्याह्न नै हडताल फिर्ता लिइसकेका छन्। सिंहदरबारमा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग वार्तापछि आन्दोलन फिर्ता गर्ने सहमति भएको श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए।