‘विचारभन्दा माथि देश खारेज भएपछि पार्टीमा फर्किएँ’
‘कल्याणकारी राज्य, विवेकशील समाज, पारदर्शिता, समानुभूति, इमानदारी, उत्कृष्टता जस्ता मूल्यमान्यतामा सबैको सहमति भएपछि हामी एक भएका हौं।’
विवेकशील साझा पार्टीको हालै सम्पन्न महाधिवेशनले समीक्षा बाँस्कोटालाई अध्यक्ष र रञ्जु दर्शनालाई महासचिव चयन गरेको छ। पूर्व अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता त्याग्ने प्रस्ताव ‘विचारभन्दा माथि देश’ ल्याएसँगै पार्टीमा अन्तर्कलह बढेको थियो। मिश्रको विचारको विपक्षमा रहेका रञ्जु दर्शना, मिलन पाण्डे लगायतको समूह पार्टीबाट निष्कासनमा समेत परेको थियो।
मिश्र पार्टी परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएपछि विभाजित पार्टी बाहिर रहेका संस्थापक नेताहरू समेत समेटेर पुनः संगठित भएको छ। महाधिवेशनमा मिश्रको विचारको समर्थक रहेकी बाँस्कोटा र विरोधी रहेकी दर्शनाको मूल नेतृत्वमा यो पार्टी कसरी बढ्ला? यसको भविष्य कस्तो रहला? यावत् विषयमा महासचिव रन्जु दर्शनासँग सागर बुढाथोकीले गरेको कुराकानीः
पार्टीमा विवाद भएपछि तपाईं, मिलन पाण्डे लगायतले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। अहिले के त्यस्तो परिवर्तन भयो जसले तपाईंलाई पुनः विवेकशील साझा पार्टीमा फर्कायो?
म पार्टी बाहिर बसेको एक वर्ष दुई महीना जति भयो। तत्कालीन पार्टी अध्यक्षले ‘विचारभन्दा माथि देश’ को प्रस्ताव ल्याएपछि विवाद बढेको थियो। त्यो वेला हामीले पार्टीमा ‘प्रोगेशिभ डेमोक्रेसी’ (प्रगतिशील लोकतन्त्र)को प्रस्ताव लग्यौं। हाम्रो प्रस्तावमा छलफल गर्न समेत आवश्यक ठानिएन। त्यति वेला पनि पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्छ भन्नेमा म थिएँ। तर, संघर्ष गर्ने पनि ठाउँ चाहिन्छ। संघर्ष गर्ने ‘स्पेश’ समेत राम्ररी नपाइसकेपछि मैले पार्टी परित्याग गरेकी थिएँ। पार्टी छाड्दा स्वतन्त्र राजनीति गर्छु भनेर घोषणा गरेकी थिएँ। तर, पार्टीबाट राजनीति गर्यो भने राजनीति हो, पार्टी बेगर राजनीति गर्यो भने राजनीति होइन भन्ने मानसिकता हामीमा रहेछ। अहिले म विवेकशील साझामा फर्केपछि रञ्जु राजनीतिमा फेरि फर्किई भन्ने सुनिन्छ। जबकि यसअघि चुनाव लड्नु पनि राजनीति नै थियो।
सामान्यतया मेरो राजनीतिको जरा नै विवेकशील हो। गत पुसमा विवेकशील साझा पार्टीका नेताहरूले बन्दीपुर भेला गर्नुभयो। त्यो भेलाले कारबाहीमा परेका, पार्टी परित्याग गरेका र निराश भएका सबैलाई कारबाही फिर्ता गरेर पार्टीमा आउन आह्वान गर्यो। साथै ‘विचारभन्दा माथि देश’ को प्रस्ताव खारेज र महाधिवेशन गर्ने घोषणा भयो। यो कुरा मलाई पनि मन पर्यो। मैले पार्टीका अन्य साथीहरूसँग सम्पर्क बढाएर कुराकानी गर्न थालें।
मैले पहिले पनि फुटेर होइन, जुटेर जानुपर्छ भनेकै थिएँ किनकि हामी फुट्दा जो विरुद्ध थियौं उनीहरूलाई फाइदा र देशलाई घाटा भयो। यो तथ्य हामी धेरैले महसूस गरिसकेका छौं। ‘विचारभन्दा माथि देश’ को खारेजी र सबै मिलेर जाने भनेपछि म यो पार्टीमा फर्किएको हुँ। पार्टीको प्रथम महाधिवेशनमा मैले पार्टीको नेतृत्व तहमा बसेर काम गर्न इच्छुक छु भनेर प्रस्ताव राखेपछि सबैले समर्थन जनाउनुभयो।
चुनावको परिणाम तपाईंको पक्षमा नरहेपछि यस्तो निर्णय लिनुभएको पो हो कि?
निर्वाचनमा गइसकेपछि हारजित स्विकार्नुपर्छ। २०७४ सालको निर्वाचनमा मलाई साढे २३ हजार भोट आएको थियो। त्यति वेला साढे दुई सय भोट आएको भए पनि म राजनीतिमै हुन्थें। स्वाभाविक रूपमा चुनावमा उठेपछि जित्नुपर्छ भन्ने लाग्छ नै। तर कम भोट आउँदैमा राजनीति छाड्ने भन्ने हुँदैन। चुनावमा आफूले आकलन गरेको भन्दा कम भोट आयो, त्यो आफ्नो ठाउँमा छ। त्योसँगै मूल्याङ्कन नभएको त मेरो घोषणापत्र हो। मेरो घोषणापत्र ककसले पढे, कुन कुन मिडियाले केकति विश्लेषण गरे भन्ने कुरा जगजाहेर छ। मत परिणामले एक्लाएक्लै लड्दा गाह्रो हुँदो रहेछ भन्ने महसूस गराएको हो तर मत परिणाम हेरेर मात्रै म पार्टीमा फर्केकी होइन।
रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ भन्ने प्रस्ताव ल्याउँदा दुई फरक ध्रुवमा उभिनुभएका समीक्षा बास्कोटा र तपाईं नेतृत्वमा आउनुभएको छ। अब कुन विचार र सिद्धान्त बोकेर सँगै अघि बढ्नुहुन्छ?
‘विचारभन्दा माथि देश’ को खारेजी’ भएसँगै म पार्टीमा फर्किएको हुँ। अर्को कुरा पार्टी एकीकरण गर्दाको मूल दस्तावेजको जगमा हामी अहिले एक भएर आएका छौं। कल्याणकारी राज्य, विवेकशील समाज, पारदर्शिता, समानुभूति, इमानदारी, उत्कृष्टता जस्ता मूल्यमान्यतामा सबैको सहमति भएपछि हामी एक भएका हौं।
हो, हामी पहिले दुई ध्रुवमा थियौं। तर, अहिले हामी दुवै ध्रुवको ‘रियलाइजेशन’ चाहिं एक ठाउँमा एउटै विचार बोकेर आउनुपर्छ भन्ने भएको छ। तर, त्यो विचार ‘विचारभन्दा माथि देश’ होइन भन्नेमा हामी प्रस्ट छौं। त्यो रियलाइजेशन भएपछि नै विवेकशील साझाले ‘विचारभन्दा माथि देश’ प्रस्ताव’ त्यागेर सबै जना एकै ठाउँमा आउन आह्वान गरेको हो।
ठूला पार्टीहरूले छुटाएका मुद्दा सडकमा उठाएर विवेकशील पार्टीको जन्म भएको थियो। तपाईंहरू संगठन, विघटन र पुनः संगठनसम्म आइपुग्दा त्यस्ता सडक आन्दोलन गर्ने अरू समूह तयार भएका छन्। पार्टी पनि नयाँ आएका छन्। यस्तो समयमा विवेकशीललाई पुनरुदय गर्ने तपाईंहरूको रणनीति के छ?
हामीले उठाएका मुद्दाहरू अरूले उठाए, हाम्रो मुद्दा खोसियो भन्ने होइन। झन् अब संयुक्त रूपमा आवाज उठाउने समूह बढ्यो भनेर हामी खुशी भएका छौं। हामी देशको मुहार फेर्नकै लागि राजनीति गर्न आएकाले आम नागरिकका समस्या सम्बोधन गर्ने आवाज उठ्दा खुशी हुन्छौं। यद्यपि हामीले उठाउन बाँकी मुद्दा धेरै छन्। संसद्मा प्रतिपक्ष छैन, हामी सडकको प्रतिपक्ष बन्दै छौं। हामीसँग धेरै मुद्दा छन्, तिनको सम्बोधन गर्न नयाँ वैकल्पिक शक्ति भनेर उदाएकाहरूसँग मुद्दाविशेषमा सहकार्य पनि गर्नेछौं। विवेकशील साझालाई पुनरुदय गर्न धेरै चुनौती छ भन्ने बुझेका छौं। हामीले पहिलाकै अवस्थाको विवेकशील साझा फर्काउन खोजेका होइनौं। विवेकशील साझा नयाँ भर्सनमा आयो भनेर बुझाउँदा अझ प्रभावकारी सन्देश जाला। अब भविष्यमा राम्रो गर्छौं भनेर विश्वास दिलाउनु हाम्रो चुनौती हो।
आन्तरिक पाटोमा हेर्दा हाम्रो संगठनमा पदाधिकारी समिति र संघीय समितिको चयन भएको छ। प्रदेश, जिल्ला वडादेखि टोलसम्मको कमिटी थियो। त्यो अहिले सेलाएको र भताभुङ्ग छ। त्यो काम निरन्तर रूपमा गर्ने जिम्मेवारी हामीमा छ। पहिले हामी विभिन्न मुद्दामा अभियान चलाउँथ्यौं। अहिले एक कदम बढेर त्यस्ता अभियान लैजानुपर्छ भन्ने बुझाइ छ। पहिला विरोध मात्रै गरेर अभियान चलाउँथ्यौं भने अब समाधान यस्तो हुन सक्छ भनेर पनि सँगसँगै जानुपर्ने हुन्छ। आम नागरिकले सेवा र अधिकार लिने ठाउँको समस्या समाधान गर्न हामीले अदालतमा रिट समेत दायर गर्नुपर्ने हुन्छ। हामी स्टन्टका लागि नभएर साँच्चिकै जनताका समस्या समाधान गर्न यस्ता काम गर्छौं।
केही वर्षअघिसम्म विवेकशील साझा पार्टीप्रति रहेको आम जनविश्वास सजिलै पाउन सकिएला त?
सकिन्छ। हाम्रो जुझारुपनले त्यो गर्न सक्छ। हामी विवेकशील साझा पार्टीलाई ‘रिभाइभ’ गर्न देश दौडाहा गर्छौं। ठाउँ ठाउँमा गएर मानिसहरू भेट्छौं। उहाँहरूका गुनासो सुन्छौं। संगठन निर्माण गर्न हामी पहिलेको गल्ती नदोहोर्याई काम गर्छौं। पहिले पनि हामी आफैं विभिन्न ठाउँ गएर समिति गठन गरेर भेला गर्दै अघि बढेका थियौं। ७७ वटा नै जिल्लामा समिति बनाउन नसके पनि जिल्ला प्रतिनिधि चयन गरेका थियौं। ती प्रतिनिधिले आफ्नो ठाउँमा बसेर हामीले गरेको अभियानलाई सहयोग गर्नुहुन्थ्यो। त्यसले पार्ने प्रभाव नै छुट्टै थियो। अब हामी फेरि शुरूदेखि नै संगठन बनाउने काममा लाग्छौं। समय लाग्ला, तर आम जनताले हामीलाई विश्वास गर्छन्। पहिला नयाँ पार्टी आयो, केही गर्छ भनेर हामीप्रति एक किसिमको क्रेज थियो होला। अब चाहिं यिनीहरूमा केही न केही गर्ने भोक र निरन्तरता छ भन्ने बुझेर जनताले विश्वास गर्छन्। अब सतही क्रेज होइन, साँच्चिकै यो जमातमा केही गर्न सक्ने शक्ति छ भन्ने विश्वास दिलाउँछौं।
तपाईंहरू पहिला पनि पार्टी एकीकरणपछि फुट्नुभएको थियो, अब तपाईंहरू फुट्नुहुन्न भनेर विश्वास दिलाउन सजिलो छ त?
बोलेर मात्रै जनतालाई विश्वास दिलाउन गाह्रो छ भनेर बुझेका छौं। किनकि पहिला पनि हामी फुट्दैनौं भनेर बोलेका थियौं। अब हामी बोलेर ‘कन्भिन्स’ गर्छौं भन्ने अवस्थामा छैनौं। निरन्तर विभिन्न अभियान तथा कार्यक्रम गरेर कन्भिस गराउन प्रयास गर्नेर्छौं। पहिला पहिला पार्टीभित्रका धेरै समस्या मिडियामा छताछुल्ल पारेर पनि समस्या भएको थियो। वेलावेलामा हामीले अपरिपक्व निर्णय पनि गर्यौं। अब हामी पार्टीका समस्याको समाधान पार्टीभित्रै खोज्नेछौं।
विगतमा केकस्ता गल्ती भए जसले तपाईंहरूलाई यो अवस्थामा ल्यायो?
भावनात्मक रूपमा बढी निर्णय लिइयो जस्तो लाग्छ। भावुक हुनुनपर्ने विषयमा बढी भावुक भइयो। जबकि हामीले राजनीति त्यसका लागि गरेका थिएनौं। बढी भावनात्मक हुँदा धेरै अपरिपक्व निर्णय भए। अहिले तिनै कमजोरीहरू महसूस गरेर जुटेका छौं।
आम मानिसलाई विश्वास दिलाउन सक्छौं भन्दै गर्दा तपाईंहरूसँगै राजनीतिमा हिंडेर बिरक्तिएका धेरैजना अहिले राजनीतिबाटै बाहिर छन्। तिनलाई विश्वास दिलाउन के गर्नुहुन्छ, उनीहरूलाई फेरि राजनीतिमा फर्काउन सक्नुहुन्छ?
म आफैं पनि राजनीतिबाट निराश भएर पार्टीगत राजनीतिबाट निष्क्रिय भएकी मान्छे हुँ। आफूले दिलोज्यान दिएर लागेको पार्टी बिग्रिंदा भत्किंदा चित्त दुख्नु स्वाभाविक पनि हो। अब हामी सबै साथीहरूलाई राजनीतिमा फर्कन आह्वान गर्छौं। उहाँहरूलाई बोलाएर पार्टीलाई केकसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सल्लाह लिन्छौं। उहाँहरूको कुरा खुला हृदयले सुनेर पार्टीमा फर्किने वातावरण बनाउँछौं।
तपाईंहरूको जस्तै मुद्दा उठाएर नयाँ वैकल्पिक शक्ति स्थापित भइसकेको अवस्थामा संगठन बनाउन संघर्ष गरिरहेको विवेकशील साझाको सान्दर्भिकता कसरी पुष्टि गर्नुहुन्छ?
विवेकशील साझा पार्टी पहिलेदेखि नै छ। राजनीतिभित्र कति वर्षको राजनीतिक अभ्यास छ भन्नेले पनि अर्थ राख्दो रहेछ। हामीले लगभग १० वर्षको अभ्यासपछि फुटेर होइन, जुटेर जान सक्नुपर्दो रहेछ है भनेर सिक्यौं। हामीले परेर सिक्यौं, अरू राजनीतिक दलहरूले हामीलाई पढेर सिके हुन्थ्यो जस्तो लाग्छ। हामीलाई हेरेर उहाँहरूबीच विचलन नआइदिए हुन्थ्यो जस्तो लाग्छ। मूलधारको पार्टी भनेर अझै पनि चार-पाँच वटा पार्टी छन्, त्यस्तै वैकल्पिक शक्ति अरू पनि भए भनेर आत्तिनुपर्ने अवस्था छैन। देशमा उठाउनुपर्ने मुद्दा धेरै भएकाले हाम्रा आवश्यकता अझ धेरै छन्। सान्दर्भिकता सकिएको छैन। हामी अरू वैकल्पिक शक्तिसँग मिलेर मुद्दाविशेषमा सहकार्य गरेर अगाडि बढ्छौं।
अलिकति व्यक्तिगत कुरा गरौं, करीब एक दशकदेखि राजनीतिमा हुनुहुन्छ, यतिन्जेलको अनुभव कस्तो छ?
धेरै मानिसबाट माया पाएँ। सँगै मनको चैन र शान्ति गुमाएँ। धेरै चाँडै राजनीति शुरू गरिएछ भन्ने महसूस हुन्छ। आफ्नै परिवारका कोही राजनीतिमा भएको भए केही सल्लाह-सुझाव दिन्थे होलान्। तर, नजिकका कोही पनि राजनीतिमा नभएकाले मलाई सरसल्लाह दिने मान्छेको अभाव महसूस गरें।
यति हुदाँहुदै यो १० वर्षमा पार्टीगत राजनीति सिक्न पाएँ। टुटफुट, अन्तर्विरोध देख्न पाएँ। आजको दिनमा आइपुग्दा राजनीति र समाजमा बुझ्न, जान्न र सिक्न बाँकी कुरा धेरै रहेछ भन्ने लाग्छ। मलाई धेरैले चिन्नुभयो तर मानिसले आशा गरे अनुरूप योगदान दिन सकें त भन्ने प्रश्न पनि आइरहन्छ। त्यसले झन् बढी योगदान दिन हुटहुटी थपेको छ।
केही समयअघिसम्म तपाईंले राजनीति छाडेको भन्ने चर्चा थियो, अहिले एकाएक पार्टीको नेतृत्व तहमा कसरी आउनुभयो?
कहिलेकाहीं भावनात्मक रूपले गाह्रो हुँदा केही समय ‘ब्रेक’ लिने सोचेकी थिएँ। तर मैले योगदान गर्न खोजेको छु भने यहींबाट गर्नुपर्छ, बरु नजानेको कुरा छ भने सिक्नुपर्छ भन्ने थियो। किनकि राजनीतिमा निरन्तरता चाहिन्छ भन्ने बुझेर नै म लागेकी थिएँ। गत १० वर्षको अनुभवबाट निखारिएर झन् बढी परिपक्व भएर आएकी छु।