काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प
तीन वटा मजदूर संगठनको आह्वानमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरिएको छ।
फागुन १ गते बालाजु बसपार्कमा भएको झडपपछि नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात मजदूर संघले यातायात बन्द गरेका हुन्। शान्तिपूर्ण प्रदर्शन गरिरहेका मजदूरमाथि आक्रमण भएको र प्रहरीले पनि मजदूरलाई पक्राउ गरेको भन्दै तीनै संगठनले विरोध जनाएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी र नेपाल यातायात मजदूर संघका अध्यक्ष दीपक केसीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी मजदूरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्। मजदूरमाथि भएको आक्रमण र पक्राउको विरोधमा फागुन २ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्।
मजदूरको आन्दोलनका कारण मंगलबार बिहानैदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा आएको छैन। जसले गर्दा आवातजावतमा समस्या भएको छ।
सरकारले आन्दोलनरत मजदूरलाई वार्ताका लागि बोलाएको छ। मजदूर संगठनहरूलाई आज बिहान ८ बजे वार्ताका लागि बोलाइएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले बताए।