लुम्बिनी कसको?
गौतम बुद्धको जन्मस्थल भएकाले लुम्बिनी बौद्ध धर्मसँग सम्बन्धित भयो। यो बौद्ध धार्मिक स्थल हुन पुग्यो। बौद्ध स्थलमा के गर्ने भन्ने निर्णय बौद्ध समाजमा निहित हुन्छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरभित्र निर्मित सभाहलमा माघ २४ देखि फागुन ३ गतेसम्म हिन्दू धर्मका धर्मगुरु मुरारी बापूलाई रामायण रामकथा वाचन गर्न लुम्बिनी विकास कोषले स्थान उपलब्ध गराएसँगै विवाद शुरू भएको छ।
बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व राख्ने महत्वपूर्ण चार स्थलमध्ये लुम्बिनी पहिलो हो। ऐतिहासिकता तथा मानवीय मूल्यलाई ध्यानमा राखी लुम्बिनीलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। यही स्थलमा रामकथा वाचनले बौद्ध समुदायलाई विचलित बनाएको छ। साथै‚ रामकथा वाचनको विरोध गर्दा ‘लुम्बिनी बौद्धको मात्रै हो र?’ भन्ने प्रश्नको पनि सामना गर्नुपरेको छ।
सामान्यतः एक धार्मिकस्थल कुनै निश्चित समुदायसँग सम्बन्धित हुन्छ। अर्थात् त्यो ठाउँलाई त्यही समुदायको मानिन्छ। जस्तै- काठमाडौंस्थित चाँगुनारायण, पशुपतिनाथ‚ सुनसरीको बराह क्षेत्र र धनुषाको जानकी मन्दिर हिन्दू धार्मिकस्थल हुन्। काठमाडौंका स्वयम्भू महाचैत्य, खास्ति महाचैत्य (बौद्ध), काभ्रेपलाञ्चोकको नमोबुद्ध बौद्ध सम्प्रदायका हुन्। कतिपय हिन्दू धार्मिक स्थलमा गैरहिन्दूका लागि प्रवेश निषेध गरिएको सूचना जारी गरिएको हुन्छ। हिन्दूको भावना विपरीत त्यहाँ केही गर्न पाइँदैन। यसरी निषेध गरिएकामा अन्य समुदायले आपत्ति जनाएको पनि पाइँदैन। तर‚ बौद्ध स्थलमा यस्तो निषेध हुँदैन। यो आआफ्नो तजबिजको कुरा हो।
गौतम बुद्धको जन्मस्थल भएकाले लुम्बिनी बौद्ध धर्मसँग सम्बन्धित भयो र स्वभावतः यो बौद्ध धार्मिक स्थल हुन पुग्यो। जुनसुकै धर्मावलम्बीले बौद्ध भावनामा चोट नपर्ने गरी यहाँ भ्रमण गर्न सक्छन्। यसलाई उदार भावनाको द्योतक मान्न सकिन्छ। तर‚ बौद्धस्थलमा के गर्ने भन्ने निर्णय बौद्ध समाजमै निहित हुन्छ। अर्थात् बौद्धस्थल बौद्धहरूको हो।
स्वभावतः प्रश्न उठ्छ, बौद्ध कसलाई भन्ने? बौद्ध भनेको कुनै निश्चित जाति, भाषा, धर्म, समाज, संस्कृति, राष्ट्र, राष्ट्रियता तथा एक निश्चित समुदाय नभएर गौतम बुद्धको शिक्षालाई आफ्नो जीवनदर्शन बनाउनेहरूको जमात हो। यो जमातमा जोकोही निर्बाध रूपमा प्रवेश गर्न सक्छन्।
सामान्यतः एक धार्मिक स्थल कुनै निश्चित समुदायसँग सम्बन्धित हुन्छ। अर्थात् त्यो ठाउँलाई त्यही समुदायको मानिन्छ।
बौद्ध र हिन्दू वेग्लावेग्लै धार्मिक सम्प्रदाय हुन्। यी दुईले बोक्ने जीवनदर्शन वेग्लावेग्लै छ। जीवन र जगत्लाई हेर्ने दृष्टिकोण तथा व्याख्या प्रणालीबीचको भिन्नताले यी कुराहरूको निर्धारण गर्छ। वैदिक भनौं वा हिन्दू, यसले आत्मा र परमात्माको कुरा गर्नुका साथै यसको नित्यतालाई मान्छ। तर‚ बौद्ध धर्म-दर्शनमा आत्मा तथा परमात्माको अवधारणा अभाव छ। बौद्ध धर्म-दर्शनको पृष्ठभूमि अनित्य, दुःख र अनात्म हो। यसलाई ‘त्रिलक्षण’ पनि भनिन्छ।
हिन्दू र बौद्ध धर्मले दुःखको कुरा गर्छ तर व्याख्या प्रणालीमा आकाश-पातालको फरक पाइन्छ। कार्यकारणको सिद्धान्तअनुसार‚ दुःख हुन्छ र यसको जिम्मेवारी अरू कुनै सत्ताको हुँदैन भन्ने बौद्ध मत छ। बौद्ध मतअनुसार‚ निर्वाणमा कुनै परमसत्ताको भूमिका हुँदैन। कर्म सिद्धान्तअनुसार‚ त्यसको भोग स्वयंले भोग्नुपर्ने र त्यसमा कसैले तलमाथि पार्न सक्दैन। यसमा कसैले पनि तथास्तु भनेर वरदान दिने तथा श्राप दिएर बिगार्ने हुँदैन। दर्शनशास्त्रमा गौतम बुद्धको मौलिक देनका रूपमा रहेको ‘प्रतीत्यसमुत्पाद’ले वैदिक मूल्यमान्यताको आधारभूत पक्षकै खण्डन गर्छ।
दार्शनिक ऊहापोहमा एक दर्शनले अर्को दर्शनको खण्डन गर्नु तथा गलत देख्नु स्वाभाविक हो। गौतम बुद्धले तत्कालीन समाजमा प्रचलित सम्पूर्ण धर्म-दर्शनलाई मिथ्या भन्दै र तिनीहरूलाई गलत सावित गर्दै आफ्नो मतवाद (बौद्ध धर्म-दर्शन) स्थापना गरेका हुन्। ‘वेद’ लाई नमान्ने भएकै आधारमा गौतम बुद्धलाई नास्तिक भनिएको हो। वेद नमान्ने भएकाले नै चार्वाक् र जैनलाई पनि नास्तिक अन्तर्गत राखेर अध्ययन गरिन्छ। पूर्वमा आस्तिक दर्शन अन्तर्गत षट्दर्शन (सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त) हुन्।
बौद्ध र हिन्दू बेग्लाबेग्लै धार्मिक सम्प्रदाय हुन्। यी दुईले बोक्ने जीवनदर्शन बेग्लाबेग्लै छ।
दुई विपरीत धर्म-दर्शनबीच सद्भावको विकास भए पनि समन्वय हुँदैन, बरु प्रतिस्पर्धाका क्रममा पराजय वा विलय हुन सक्छ। एक समय दुई विपरीत ध्रुवमा रहेको वैदिक र बौद्ध समुदायका व्यक्तिहरू एउटा परित्याग गरेर अर्कोमा जान्थे। धर्म-दर्शनको क्षेत्रमा रहेको यो प्रतिस्पर्धा निकै लामो समयसम्म कायम रह्यो। कालान्तरमा बौद्ध धर्म-दर्शनलाई दबाउन नसकेपछि रामायणको रचनाभन्दा निकै पछि बुद्धलाई आफूमा समेट्न अवतारवादको अवधारणा विकास गरी बुद्धलाई नवौं अवतार मान्न थाले।
रामायणमा बुद्धलाई विष्णुको अवतारका रूपमा नभएर नास्तिक भन्दै नकारात्मक रूपमा चित्रण गरिएको पाइन्छ। स्वयं बुद्धको जीवनकालमा नै पनि कट्टर वैदिकहरू बुद्धलाई नीचको संज्ञा दिंदै गाली गर्थे। समयक्रममा वैदिक चिन्तकहरूमा आएको यो वैचारिक परिवर्तनलाई बौद्धहरूले कहिल्यै सहमति जनाएनन्, बरु विरोध गर्दै आएको पाइन्छ।
विष्णुका एक अवतार राम रहेको र अर्को अवतार बुद्ध भन्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रामकथा वाचन कार्यक्रम राख्नु दार्शनिक दृष्टिमा विरोधाभास छ। हिन्दू चिन्तन प्रणालीअनुसार पनि नभएको कुरामा ध्यान दिन नसकेको पनि देखिन्छ। बुद्ध भनेर गौतम बुद्धलाई मात्र भनिन्न, बोधिलाभ गर्ने जोकोही बुद्ध हुन्छन् भन्ने सामान्य कुरालाई अवतारवादी अवधारणाले ठ्याम्मै उपेक्षा गरेको देखिन्छ।
यसरी नै ईपू ४८३ मा महापरिनिर्वाण लाभ गरेका गौतम बुद्धलाई अवतार मान्नुले स्वयं विष्णुकै अन्त्य (मृत्यु) भइसकेको जनाउँछ। जबकि हिन्दू चिन्तनले विष्णुलाई कहिल्यै मृत्यु नहुने, अजर र अमर भगवान् मान्छ। उनी पृथ्वीमा अवतरण गरिरहेका हुन्छन्। बुद्धको महापरिनिर्वाण भनेको जन्म र मृत्युको कारणलाई नै क्षय अब कहिल्यै जन्मनुनपर्ने गरी अन्त्य हुनु हो। अर्थात् बुद्धलाई अवतार मान्दै आफ्नोमा समेट्नुले वैदिक मूल्यमान्यताको धरातललाई नै गोलमाल पार्छ भन्ने हेक्का रहेको पाइएन।
गौतम बुद्धको सम्बन्ध विष्णुको अवतार वा अन्य कुनै पनि सन्दर्भमा वैदिक वा हिन्दूसँग नभएकाले लुम्बिनीमाथिको दावी स्वतः अनधिकृत हो। त्यसैले लुम्बिनीमा रामकथा वाचन एक धर्म-सम्प्रदायको अर्को धर्म-सम्प्रदायमाथि अतिक्रमण तथा हेपाहा प्रवृत्ति हो।
यो ‘हिन्दूत्व’लाई नै मूलमन्त्र बनाएर भारतमा राजनीति गर्दै आएको ‘राष्ट्रिय स्वयम् सेवक संघ’ नामको धार्मिक संस्थाको गतिविधि हो। रामकथा वाचन गर्न आउने मोरारी बापू यही संस्थाका एक सदस्य हुन्। अर्थात् त्यही अभियानका एक अभियन्ता हुन्। यो समूहले भन्ने गरेको ‘हिन्दूत्व’ र ‘हिन्दू’ एउटै नभएर राजनीतिक र धार्मिक भनेर बुझ्नुपर्छ।
लुम्बिनीमा रामकथा वाचन एक धर्म-सम्प्रदायको अर्को धर्म-सम्प्रदायमाथि अतिक्रमण तथा हेपाहा प्रवृत्ति हो।
लुम्बिनी क्षेत्रमा यसअघि पनि हिन्दू गतिविधि बढाउने प्रयास भएका छन्। गत वैशाख ३ गते मायादेवी मन्दिर सामुन्ने खुला रूपमा हिन्दूविधि अनुसार हवन गरेका थिए। किन यस्तो क्रियाकलाप गर्न दिइएको भनी लुम्बिनी विकास कोषसँग जिज्ञासा राख्दा जवाफ पाइएन। बौद्ध संघसंस्थाहरूले यस घटनामा चासो दिएनन्। उक्त हवनमा सरिक व्यक्ति तथा केही पक्षधरले ‘लुम्बिनी बौद्धहरूको मात्रै हो र’ भन्ने प्रश्न उठाएका थिए। वैशाखको हवन र अहिलेको रामकथा वाचनमा के सम्बन्ध छ भन्ने स्पष्ट छैन। तर‚ घटना र प्रवृत्तिमा भने सामञ्जस्य भने देखिन्छ।
लुम्बिनीमा रामकथा वाचन हुँदा बौद्धहरूले विरोध गर्छन् भन्ने ज्ञान लुम्बिनी विकास कोषलाई नहुने कुरै भएन। तर‚ स्थानीय राजनीतिक दबाबमा वाचन गर्न इजाजत दिइएको बताइएको छ। कोषका पदाधिकारीहरू बौद्ध भावनाबारे अनभिज्ञ तथा अपरिपक्व रहेको उक्त घटनाले देखाएको छ।
लुम्बिनीमा रामकथा वाचनको विरोध र समर्थनमा अनेक पक्ष छन्। बौद्ध स्थलमा हठात् अतिक्रमण गर्नु अतिवादी हिन्दूहरूका लागि भलै गौरवको कुरा होला तर सहिष्णुताको भाव राख्ने हिन्दूका लागि भने निको लागेको छैन।
रामकथा वाचनको पूर्वसन्ध्यामा म लुम्बिनीमै थिएँ। मेरो यात्रा त्यहाँबाट बौद्धस्थलहरू देवदह र रामग्राम‚ भारतको कुशीनगरतर्फ भयो। यात्राको दौरानमा गतिविधि नियाल्ने र केही व्यक्तिहरूसँग प्रतिक्रिया लिएँ। त्यस क्रममा बौद्धहरूले आफूहरू अल्पसंख्यकमा भएकाले सरकारले पहिल्यैदेखि थिचोमिचो गर्दै आएको बताएका थिए। यस्तै‚ सर्वसाधारण हिन्दूहरूले यो घटनाले आफूहरूलाई लज्जित बनाएको प्रतिक्रिया दिएका थिए।
लुम्बिनीमा रामकथा वाचन गराउने पक्षमा त्यस क्षेत्रका होटल व्यवसायीहरू रहेको देखियो। कोभिड–१९ को महामारीले शिथिल भएको पर्यटन व्यवसायीका लागि एउटा आडभरोसा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थियो। विमानस्थलकै आडभरोसामा यस क्षेत्रमा ठूलो लगानीमा होटलहरू स्थापना भएका थिए। तर‚ भारतले एअर पर्मिट नदिंदा विमानस्थल सञ्चालन नाम मात्रको भइरहेको छ। यस्तो अवस्थामा रामकथा वाचनको क्रममा केही आम्दानी होला कि भन्ने होटल व्यवसायीको झिनो आशा रहेछ।
कथावाचक मुरारी बापूले बुद्ध र बुद्धको शिक्षाका सम्बन्धमा खर्चेका शब्दहरूले बुद्ध र बौद्ध धर्म-दर्शनसँग कुनै तादात्म्य राख्दैन। लुम्बिनी जस्तो अन्तर्राष्ट्रिय चासो रहेको बौद्ध स्थलमा सरकारकै समर्थनमा अतिक्रमण हुनु अस्वाभाविक हो।