अझै आश लाग्छ
अरूका श्रीमान्-श्रीमती सँगै हिँडेको देख्दा मेरा पनि कुनै दिन आउनुहुन्छ कि भन्ने आश अझै लाग्छ। राति ‘ढोका खोल, म आएँ’ भन्नुहुन्छ कि जस्तो लाग्छ।
मेरो जन्म जाजरकोटमा भएको हो। त्यहीं धनबहादुर विकसँग विवाह पनि भयो। हाम्रा तीन छोरा र एक छोरी भए। पछि हामी बाँकेको कोहलपुर आएर बस्न थाल्यौं। श्रीमान्ले फर्निचर पसल खोल्नुभयो। माओवादी सशस्त्र द्वन्द्वको वेला थियो।
२०५९ वैशाख १३ गतेको कुरा हो, हामी सबै सुतिसकेका थियौं। राति १२ बजेतिर प्रहरीको टोली आयो। श्रीमान्लाई सुतेकै कपडामा समातेर लग्यो। हामी रुँदै कराउँदै पछि लागेर छाडिदिन बिन्ती बिसायौं, तर केही लागेन। बन्दूक ताकेर ‘अगाडि जो आउँछ उसलाई मारिदिन्छौं’ भन्दै तर्साए।
भोलिपल्ट उहाँको खोजीमा इलाका प्रहरी कार्यालय कोहलपुर गयौं। इलाकाले चिसापानी ब्यारेक लगेको छ, उतै जानू भन्यो। ब्यारेकले बर्दियाको ठाकुरद्वारामा पठायो। यता र उता भौंतारिए पनि श्रीमान्को अवस्था पत्ता लागेन। केही उपाय नलागेपछि घरमा आएर रुँदै दिनहरू बित्न थाले।
घरको मुख्य मान्छे बेपत्ता भएपछि हाम्रो सहारा र भरोसा नै ढल्यो। परिवार उहाँकै भर र कमाइबाट चलेको थियो। फर्निचर पसल खोल्दा ऋण लिएका थियौं। ऋण कसरी तिर्ने, छोराछोरीलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ताले सताउन थाल्यो। मर्न मन लाग्थ्यो। कहिले बेहोश हुन्थें। पागल जस्तो भएछु।
६ महीनासम्म यसै गरी बित्यो। आमा हुँदाहुँदै छोराछोरी बेसहारा जस्ता बनेका थिए। जीविका कसरी चलाउने भन्ने स्थिति पनि आयो। त्यसपछि आफूलाई सम्हालें। मजदूरी गर्न थालें। तर, कमाइबाट घर चलाउन समेत धौधौ हुन्थ्यो।
छोराछोरीलाई राम्रो शिक्षा दिन सकिनँ। कसैले कक्षा १२ पढेर छोडे, कोही एसएलसी दिएर बसे, कोही कक्षा सात पढ्दापढ्दै स्कूल छाड्नुपर्यो। उनीहरूको बाबा भएको भए यस्तो अवस्था आउँदैनथ्यो भन्ने लाग्छ।
एकोहोरो पीर र चिन्ताले शरीर कमजोर भयो। दीर्घरोग बाथले सतायो। उपचार गराउँदा साढे दुई लाख रुपैयाँ खर्च भयो। अहिले पनि उपचार गराउन वेलावेला काठमाडौंको अस्पताल धाउनुपर्छ। बाह्रै महीना औषधि खानुपर्छ।
सबै छोराछोरीको विवाह भइसकेको छ। द्वन्द्वपीडितका रूपमा राहतस्वरूप पाएको रु.१० लाख उनीहरूको विवाह गर्नमै ठिक्क भयो। श्रीमान्ले बनाएको चार कोठाको कच्ची घरमा मिलेर बसेका छौं। तर, उनीहरू आफ्नै रोजीरोटीमा व्यस्त हुने भएकाले एक्लो महसूस हुन्छ। चाडपर्वको वेला श्रीमान्को याद झनै धेरै आउँछ।
अरूका श्रीमान्-श्रीमती सँगै हिँडेको देख्दा मेरा पनि कुनै दिन आउनुहुन्छ कि भन्ने आश अझै लाग्छ। राति ‘ढोका खोल, म आएँ’ भन्नुहुन्छ कि जस्तो लाग्छ। कहिलेकाहीं चुरापोते लगाएर हिंडूँ जस्तो लाग्छ। तर, समाजले कुरा काट्छ भनेर हच्किन्छु।
जब मेरो श्रीमान्लाई बेपत्ता पारे, त्यो वेला यसरी बाँचेर आजको अवस्थासम्म आउन सकिएला, नियमित जीवनमा फर्किन सकिएला भन्ने सोचेकी पनि थिइनँ। पहिले घरबाट कतै निस्किदैनथेँ। अहिले बाहिर निस्किन थालेकी छु। द्वन्द्वपीडित संघसंस्थाले गर्दा आफू जस्तै धेरै दिदीबहिनी भेटेकी छु। आफू जस्ता पीडित त धेरै रहेछन् भनेर मन बुझाउन सजिलो भएको छ। तर, अधिकारको लडाइँ जारी नै छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पनि उजुरी दिएको थिएँ। तर, अहिलेसम्म श्रीमान्को अवस्था पत्ता लागेको छैन। केकति कारणले मेरा श्रीमान्लाई बेपत्ता पारियो, सत्य पत्ता लगाई दोषीलाई कारबाही होस्। द्वन्द्वपीडितको जिम्मा राज्यले लिनुपर्छ। बेपत्ताका परिवारलाई स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको व्यवस्था गरियोस्। बेपत्ता व्यक्तिका श्रीमतीहरूलाई पेन्सन जस्तो सुविधाको प्रबन्ध हुनुपर्यो। यति भएमा केही मात्रामा न्याय पाएको महसूस हुन्थ्यो।
(तिला खड्कासँगको कुराकानीमा आधारित। खड्का स्टोरी किचेनको न्याय संवाददाता हुन्। हिमालको २०७९ फागुन अंकबाट।)