तीन करोड लगानीको कम्पोस्ट मल प्लान्ट उपयोगविहीन
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करीब तीन करोड रुपैयाँ लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोस्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ।
कम्पोस्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो।
नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश सरकार, प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते केन्द्रको शुभारम्भ गरेका थिए। केन्द्रबाट हालसम्म प्रति १५ किलोको ४३५ बोरा मल मात्र उत्पादन गरिएको छ। जबकि, कम्पोस्ट प्लान्टबाट प्रतिघण्टा एक हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो।
अर्थ मन्त्रालयको विशेष अनुदान एवं प्रदेश सरकारको दुई करोड ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको मूल्य प्रतिबोरा ५०० रुपैयाँ निर्धारण गरिएको छ। हालसम्म उत्पादित मलमध्ये करीब ४० बोरा मात्र बिक्री भएको जनाइएको छ।
स्थापनाकालमा उत्पादित १५० बोरा प्राङ्गारिक मल नगरपालिकाको दिक्तेलस्थित शपिङ कम्प्लेक्समै थन्काइएको छ। १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियान अनुसार उत्पादन गरिएका अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको जनाइएको छ।
कम्पोस्ट प्लान्टबाट उत्पादित मल गोठे मलभन्दा कैयौं गुणा मलिलो भए पनि महत्त्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी-२ सोल्माका अगुवा किसान गङ्गाबहादुर विश्वकर्माले बताए। “कम्पोस्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ। मैले प्रयोग गरेर हेरेको छु। गोठको गोबरभन्दा कैयौं गुणा राम्रो छ,” उनले भने, “तर, यसको महत्त्वबारे किसानलाई बुझाउन सकिएको छैन। नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गाह्रो हुने अवस्था आउँथ्यो।”
उद्घाटनअघि र केही समयपछिसम्म सामान्य मात्रामा प्राङ्गारिक मल उत्पादन हुँदै आएको प्लान्टमा करीब दुई वर्षदेखि उत्पादन ठप्प छ। नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोस्ट तथा बायोग्यास प्लान्टबाट नियमित प्राङ्गारिक मल उत्पादन नभएको स्थानीय बासिन्दाको आरोप छ।
कम्पोस्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मललाई किसानले आफ्नो गोठको मल सरह ठानेकाले नियमित उत्पादन गर्न नसकिएको नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले बताए। “उद्घाटन लगत्तै एक लट मल उत्पादन भयो। परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ, तर बजार मूल्य बढी भयो भनेर किसानले रुचाएका छैनन्। नियमित खपत नभएपछि धेरै मल उत्पादन नगरिएको हो,” उनले भने, “अब निजी संस्था वा साझेदारी संस्था मार्फत सञ्चालन गर्ने गरी कार्यविधि तयार पारेका छौं। मूल्यका विषयमा पनि पुनर्विचार हुन्छ।”
संघीय सरकारको विशेष अनुदानस्वरूप प्राप्त तीन करोड ३२ लाख रुपैयाँमध्ये कम्पोस्ट प्लान्ट र बायोग्यास प्लान्ट निर्माणमा एक करोड ८५ लाख खर्च भएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले जानकारी दिए। अन्य रकम दुई वटा ट्र्याक्टर खरीद, दिक्तेलबजारमा ‘डस्टबिन’ राख्न तथा वडा नं ५ लफ्याङस्थित डम्पिङ साइट पुग्ने सडक मर्मतमा खर्च गरिएको जनाइएको छ।
यस्तै, कम्पोस्ट प्लान्ट र बायोग्यास प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट ३५ लाख खर्च रुपैयाँ भएको जनाइएको छ। राज्यकोषको यति धेरै रकम खर्च भएको कम्पोस्ट मल तथा बायोग्यास उद्योग उपयोगविहीन भएपछि किसान समस्यामा परेका छन्।
कम्पोस्ट प्लान्ट र बायोग्यास प्लान्टसँगै अघिल्लो कार्यकालमा नगरभित्र निर्माण गरिएका दर्जन बढी भौतिक संरचना उपयोगविहीन भेटिएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईले बताए। “कतिपय अनावश्यक संरचना पनि बनेका रहेछन्,” उनले भने, “नगरको लगानीमा बनेकाले सबै भौतिक संरचनालाई प्रयोगमा ल्याउने विकल्प खोजी गर्ने काम भइरहेको छ।”
नगरपालिकाले विभिन्न निकायसँगको साझेदारीमा निर्माण गरेको करोडौं लगानीको एकीकृत बस्ती, पेन टावर, आँखापोखरी, विभिन्न पार्क (उद्यान) लगायतका भौतिक संरचना उपयोगविहीन छन्। कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन्। -रासस