विस्मृतिमा कतै हराई नजाऊन् शहीद सुकदेव गुरुङ
चेतनाको मसाल सल्काउने कतिपय विद्रोह र तिनका नेता विस्मृतप्रायः छन् जसबारे सम्झाइरहन, झक्झकाइरहन जरुरी भएको छ। तिनैमध्ये एक हुन्, सुकदेव गुरुङ।
गणतन्त्रको आँगनमा उभिएर सुदूर विगत हेर्दा कतिपय प्रसङ्ग स्पष्ट हुन्छन् त कति धूमिल। तर‚ राणाशासनको कठोर निरङ्कुशताबाट यहाँसम्म आइपुग्न सयौं योद्धाहरूले आहुति दिएका छन्। उनीहरूले रोपेको विद्रोहको बीज नै आज संघीय गणतन्त्र भएर हुर्केको हो।
विडम्बना चेतनाको मसाल सल्काउने कतिपय विद्रोह र तिनका नेता विस्मृतप्रायः छन् जसबारे सम्झाइरहन, झकझकाइरहन जरुरी भएको छ। तिनैमध्ये एक हुन्, सुकदेव गुरुङ। जंगबहादुर राणाले रक्तपातपूर्ण कोतपर्वबाट थालेको निरङ्कुश शासनका विरुद्ध खडा भएका आदिविद्रोहीमध्ये एक हुन् गुरुङ जसबारे यो लेख केन्द्रित छ।
विद्रोहको विरासत
अध्येता राजकुमार दिक्पालका अनुसार, शाहवंशीय राजाहरूले गोरखा लगायतका स्थानमा शासन शुरू गर्नुअघि गण्डकी भेगका विभिन्न क्षेत्रमा गुरुङहरूको स्वायत्त शासन थियो (गोरखाली इतिहासमा गुरुङ काजी, २६ असोज २०७९, हिमालखबरडटकम)।
शुरूमा गुरुङहरूले ठकुरी राजालाई अस्वीकार गरेका थिए। यही क्रममा लमजुङमा राजा थाप्न ल्याइएका कुलमण्डनका माहिला छोरा कालु शाहको उनीहरूले हत्या गरे। पुरातत्त्व विभागबाट प्रकाशन हुने प्राचीन नेपाललाई उद्धृत गर्दै दिक्पाल लेख्छन्- ‘दुराडाँडा (लमजुङ)का पञ्चहरूले कालु शाहलाई ल्याई राजा थापे। शेषाली (गुरुङ)हरूले शिकार खेल्ने बहानामा कालुलाई वनमा लगी अग्ला ठाउँबाट सबै देखिन्छ भन्दै डाँडामा पुर्याए। अनि धनुकाँड लिई चारैतिरबाट घेरेर मृगलाई हानेको बहाना गरी राजालाई मारी दिए’ (संख्या २०,२०२९, पृ.२-३)।
आफ्नो शासन मान्न अस्वीकार गरेका गुरुङहरूलाई युद्धमा हराउन नसकेपछि शाह राजाले छल गरेर पराजित गरेको अनुश्रुति पनि छ। उक्त अनुश्रुति अनुसार, गोरखाका घले गुरुङहरू अति नै शक्तिशाली थिए, तिनलाई शाहवंशीय राजाले युद्धमा हराउन सकेनन्। ‘सधैं लडेर हुँदैन, बरु मित लाएर वैरभावको अन्त्य गरौं’ भनेर प्रस्ताव सहित एक दिन ती गुरुङहरूलाई भोजमा कतै बोलाइयो। तिनीहरू पनि खुशीसाथ निम्तो मान्न आए। त्यो भतेरमा राम्रैसँग खानपान र मद्यपान दुवै चल्यो। गुरुङहरू नशाले चूर भए।
त्यसपछि शाहवंशीय राजाका सैनिकहरूले खोलाको बगरमा लुकाइराखेको हातहतियार झिकी ती घले गुरुङहरूको विनाश गरिदिए। वर्षौं बितिसक्यो तापनि सो घटनास्थल वरपरका घले गुरुङहरू त्यस खोलाको पानी पिउँदैनन्, जहाँ उनका पुर्खाहरूलाई काटेर राजाका सैनिकहरूले हातहतियार पखालेका थिए (सुन्दर गुरुङ, अग्रणी शहीद सुकदेव गुरुङ, २०६५, पृ.२४)।
जंगबहादुरको सर्वसत्तावादी शासन विरुद्ध ठूलो साहसका साथ ज्यानको बाजी थाप्दै विद्रोहमा होमिएका थिए, सुकदेव।
कुन शाहवंशीय राजाको पालामा कहिले यो घटना भएको हो, त्यो खुलेको छैन। यो इतिहास गुरुङ समुदायमा आज पनि मौखिक रूपमा जीवित छ। सत्य परीक्षणका लागि अनुसन्धान आवश्यक भए पनि यो अनुश्रुतिले गुरुङ समुदायको विद्रोही चरित्र प्रस्तुत गर्दछ।
पहिलो कानूनका विरोधी
त्यही विद्रोही चरित्रको पुनः उद्घाटन भयो जब जंगबहादुरले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरे। बेलायतबाट देश चलाउन कानून चाहिने ज्ञान सहित आएका जंगबहादुरले देशमा पहिलो कानूनको रूपमा मुलुकी ऐन, १९१० जारी गरे। यो यस्तो कानून थियो जसले विभिन्न धर्म मान्ने नेपाली समाजलाई हिन्दू वर्णव्यवस्था अनुसारको जातीय सोपानमा वर्गीकृत गरी सोही बमोजिमको सेवा, सुविधा र सजाय तोक्यो। ब्राह्मणहरू मृत्युदण्डबाट पृथक् राखिए, उनीहरू सर्वोत्तम जाति मानिन्थे।
ऐनले जातीय हिसाबले उच्च तागाधारी (ब्राह्मण)को, सांस्कृतिक हिसाबले आर्य संस्कृतिको र धार्मिक हिसाबले हिन्दूहरूको पक्षपोषण र सुरक्षा गर्ने उद्देश्य राखेको थियो। त्यसबाट अन्य जातजाति र धर्मावलम्बी दुःखी र आक्रोशित हुनु स्वाभाविकै थियो (सुन्दर गुरुङ, उही, पृ.२)। यो परिस्थितिमा गुरुङहरू आफ्ना शासकलाई चुनौती दिन बाध्य भएका देखिन्छन्। जंगबहादुर राणा विरुद्ध संघर्षका अगुवा थिए, सुकदेव गुरुङ।
अध्येता सुन्दर गुरुङका अनुसार, सुकदेव गुरुङ लमजुङबासी थिए। उनका समस्त गतिविधि लमजुङमै भएको र स्थानीयहरूको साथ, सहयोग र समर्थनमा परिचालित देखिन्छ। बाहिरका मानिसले नौलो स्थानलाई विद्रोहको केन्द्रबिन्दु बनाउने सम्भावना कमै हुन्छ। जंगबहादुरको सर्वसत्तावादी शासन विरुद्ध ठूलो साहसका साथ ज्यानको बाजी थाप्दै विद्रोहमा होमिएका थिए, सुकदेव। उनी बौद्धधर्मका अनुयायी एवं धर्मगुरु हुनुका साथै समाज सुधारक पनि थिए।
असन्तोषको सूत्रपात
मुलुकी ऐन जारी भएको तीन वर्ष पनि नबित्दै अनेकौं प्रपञ्च गरी जंगबहादुर कास्की र लमजुङको ‘श्री ३ महाराज’ घोषित भए। शक्तिमा आएदेखि अनेकौं उपद्रव थालेका कारण जंगबहादुरलाई जनमानसले खासै रुचाएका थिएनन्। यिनी महाराज बनेकोमा स्वयं लमजुङबासीहरू नै खुशी थिएनन्। स्वभावैले जंगबहादुर अत्यन्त कठोर, निरङ्कुश र अधिनायकवादी चरित्रका शासक थिए।
भनिन्छ, यही समयमा गुरुङ समुदायमा प्रचलित कविलातन्त्रमाथि बन्देज लगाइएपछि समाजका अगुवा सुकदेव गुरुङ चिढिन पुगेका थिए। यसअघि गुरुङहरू आफ्ना क्षेत्रमा आफैं शासन, प्रशासन चलाउँथे। विगतमा यही अधिकारका निम्ति शाहवंशी राजासँग खटपट परेकाले गुरुङहरूलाई अघोषित रूपमा यस्तो स्वायत्तता मिलेको थियो। धार्मिक रूपमा बौद्धमार्गी भएकाले सुकदेवले जंगबहादुरको हिन्दूवादी नीति विरुद्ध अहिंसात्मक शैलीले धार्मिक आन्दोलनको थालनी गरे। गुरुङ बाहुल्य क्षेत्रमा कुशल अभियन्ताका रूपमा देखा परेका सुकदेवले यसअघि नै बौद्ध धर्मावलम्बीहरूबीच धर्मगुरुको पहिचान बनाइसकेकाथिए।
तिब्बतमा बौद्धधर्मका गुरुहरू ‘बौद्ध बादशाह’ र भारतीय शासकहरू ‘मुगल बादशाह’ कहलिन्थे। उनीहरू ठूलठूला भूभागका अधिपति थिए। त्यसैको झल्को दिने गरी सुकदेवले आफूलाई बादशाह बताए।
विद्रोहको झिल्को
प्रथमतः श्रीपति गुरुङले शासकको एकलौटी नीतिप्रति असन्तुष्टि देखाए। भनिन्छ, यिनी आफ्नै अनन्य मित्र सुकदेवका विचारबाट निर्देशित थिए। त्यस वेला श्रीपति नेपाली सेनामा कालीबहादुर पल्टनका जमदार थिए। जंगबहादुरविरुद्ध आफ्नै अधिकृतहरूलाई भड्काएको आरोपमा तिनै पल्टनद्वारा टुँडिखेलको परेड मैदानमा उनी निर्ममतापूर्वक काटिएका थिए।
श्रीपति, अत्यन्त खरो मिजासका सैनिक थिए। जंगबहादुरको बढ्दो शक्ति र अराजकतालाई सहन नसकी त्यस विरुद्ध यिनले पल्टनमा केही शङ्कास्पद व्यवहार देखाउँदै आएका थिए। सबै गुरुङको यसमा मिलेमतो छ कि भन्ने शङ्का गरियो र दोषी ठहरिए सिङ्गो पल्टनलाई नै तोपले उडाइदिनेसम्मको गम्भीर अवस्था आएपछि श्रीपतिलाई टुक्रा-टुक्रा पारी पल्टनका गुरुङहरूले शासकप्रति भक्तिभाव देखाए। यसले अन्य गुरुङहरूको प्राण जोगियो। जंगबहादुरको समयमा नेपाल आई ब्रिटिश रेजिडेन्ट जर्ज रामसेका सहायक भई केही समय सँगै काम गरेका चिकित्सक एच.ए. ओल्डफिल्डले उक्त घटनाको वर्णन यसरी गरेका छन्-
‘सन् १८५७ जुन १ (सूर्य पञ्चाङ्ग अनुसार वि.सं. १९१४ जेठ २० गते आइतबार)का दिन नेपाल दरबारमा ठूलो खलबली मच्चियो। कुरो के थियो भने गुरुङ पल्टनको एकजना जमदारले आफ्ना साथीहरूलाई मिलाई जंगबहादुरलाई मार्ने योजना बनाएको रहेछ तर त्यसको पर्दाफास भयो। त्यस षड्यन्त्रमा धेरै सिपाहीहरू मिलेका छन् कि भन्ने शङ्का गरियो। परेडका लागि टुँडिखेलमा सबै पल्टन जम्मा गराइए, तोप पनि ल्याइए। गुरुङ पल्टनको अपराध सावित भयो भने त्यस पल्टनका जम्मै सिपाहीलाई एकैपल्ट खतम पार्ने विचार पहिले गरिएको थियो। परन्तु त्यसो गर्नु परेन। पल्टनका अगाडि बन्दी ल्याइयो। उसको अपराधको प्रमाण देखाइयो, दोष सावित भयो। प्रत्येक पल्टनको समर्थन लिइयो। गुरुङ पल्टनका जवानहरूले बन्दीको पक्षमा सहानुभूति देखाउलान् कि भन्ने शङ्का थियो। गुरुङ पल्टनका जवानहरूले एकछिनसम्म परस्पर केही कुरा गरे। अनि तिनीहरू एक्कासि त्यस व्यक्ति उपर जाइलागे र टुक्रा-टुक्रा हुने गरी काटिदिए। तिनीहरूले जंगबहादुरप्रति पूर्णभक्तिभाव देखाए। त्यसले उपद्रव गर्न पाएको भए गुरुङहरूमाथि नै कलङ्क लाग्ने थियो भनी तिनीहरूले त्यस अपराधीको निन्दा गरे। त्यसपछि कुनै वाधा अवरोध विना नै परेड सकियो (स्केचेज् फ्रम नेपाल, भाग-१,सन् १८८०,पृ.१९-२०)।
यही घटनापछि लमजुङमा सुकदेव गुरुङ जंगबहादुरका कट्टर विरोधी भएर निस्किए तर विरोधका लागि शान्तिपूर्ण बाटो अपनाउँदै उनले गाउँघरमा जनचेतना फैलाउन थाले।
प्रेरणादायी विद्रोहयता गोरखाको बुङ्कोटमा जंगबहादुरको तानाशाही शासन विरुद्ध लखन थापा मगरले रामनवमीकै दिन (१९३२ चै २३ गते) पारी देशको स्वतन्त्रता र स्वाधीनताका लागि जनस्तरबाटै सशस्त्र विद्रोहको उद्घोष गरेका थिए। अङ्ग्रेजका परमभक्त भएकाले तिनकै आडमा जंगबहादुर चल्दथे। त्यसैले जंगबहादुरको शासनलाई लखन विदेशी र विधर्मीको शासन मान्दथे अनि ‘जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भन्दथे।
महेशचन्द्र रेग्मीद्वारा सम्पादित रेग्मी रिसर्च सेरिज (वर्ष १२, अङ्क ५, १९८०)मा प्रकाशित १९३२ चैत्र सुदी १ को सरकारी दस्तावेजले सो विद्रोहलाई थप प्रस्ट्याएको छ। सरकारी अर्जी अनुसार विद्रोहमा लखन थापालाई सघाउन ठूलो संख्यामा ‘नौ गुरुङ क्षेत्र’ का हतियारधारी भोटे (गुरुङ)हरू सामेल भएका थिए, बुङ्कोटको ‘मनाङ्गे डाँडा’ ले पनि यसलाई प्रमाणित गर्छ।
जंगबहादुरकै साहिंला छोरा पद्मजंग राणाको बयान अनुसार- ‘लखन थापा, आफ्नो विनीत आचरण र अनुनयी भाषाले गर्दा छोटो समयमा नै पन्ध्र सय संख्याको लडाकू सेना जम्मा गर्न सफल भयो। उसले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जंगबहादुरको हत्या गरेर सरकार आफ्नो अधीनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासमा भएको स्वर्णिम युग (उदार व्यवस्था, अहिलेको प्रजातन्त्र)आरम्भ गर्ने घोषणा गर्यो (जंगबहादुरको जीवनयात्रा, २०७४, पृ.२८३-२८४)।
गाउँघरमा घुमेर मुलुकको सत्ता गलत व्यक्तिको हातमा गएकोले हरेक स्वाभिमानी नेपालीले त्यस विरुद्ध लड्नुपर्छ भनेर सुकदेवले सर्वसाधारणलाई आह्वान गर्ने गर्दथे।
यो कुराबाट आत्तिएका जंगबहादुरले देवीदत्त पल्टनै खटाई जनस्तरबाट उठेको त्यो अद्भुत विद्रोहलाई निर्ममतापूर्वक दबाए। भनिन्छ, सजाय तोक्नुअघि जंगबहादुरले सोधेका थिए- मृत्युदण्ड रोज्छस् कि आजीवन कारावास? प्रत्युत्तरमा लखनले भनेका थिए- ‘तिम्रो नुन खाएर आजीवन बाँच्न मन छैन, बरु बुङ्कोटै लगेर मेरा जनतासामु झुण्ड्याऊ!’ यसरी मृत्युलाई रोजेका लखन थापासँगै विद्रोहमा सहभागी जयसिंह चुमी, बालेश्वर अछामी, विराज थापा, जुठ्या थापा, अजपसिंह थापा र जितमान गुरुङ लगायतका हजारौं लडाकू पक्राउ परेका थिए, तीमध्ये सक्रिय भूमिका निर्वाह गर्ने यी सात जनालाई तिनकै किल्ला परिसरमा १९३३ पुस ७ पञ्चमीका दिन झुन्ड्याएर मारियो।
बौद्ध बादशाह
बाइसे, चौबीसे राज्यकालमा मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा लगायतका उत्तरी भेगका राज्यहरू ‘नौ गुरुङ क्षेत्र’ भनेर चिनिन्थ्यो जहाँ घले थरका गुरुङहरू आफैं राजकाज गर्थे। उत्तरतर्फका चीन, तिब्बतमा बौद्धधर्मका गुरुहरू ‘बौद्ध बादशाह’ र दक्षिणका भारतीय शासकहरू ‘मुगल बादशाह’ कहलिन्थे। उनीहरू ठूलठूला भूभागका अधिपति थिए। त्यसैको झल्को दिने गरी सुकदेवले आफूलाई बादशाह बताए, बौद्धधर्मका त गुरु नै थिए। त्यसैले १९३३ सालमा उनले सोही भेग र भावनाको प्रतिनिधित्व गर्दै आफूलाई ‘नौ सरकार बौद्ध बादशाह’ घोषित गर्दै आन्दोलन चर्काए।
केही अध्येताहरू जंगबहादुरले मुलुकी ऐन मार्फत् हिन्दूवादी शासन व्यवस्थाको जग बसाएको हुनाले त्यसमा विमति राख्ने गुरुङ समुदायले बौद्धमार्गीहरूका निम्ति छुट्टै राज्यको आकांक्षा सहित विरोधी गतिविधि थालेको बताउँछन्। त्यस वेला गोरखाको विद्रोह मत्थर भइसकेको थियो भने शिकार खेल्न पत्थरघट्टा (रौतहट) पुगेका जंगबहादुरले १९३३ फागुन १६ मा अस्वाभाविक रूपमा मृत्युवरण गरिसकेका थिए।
लमजुङ र गोरखाका यी घटना समकालीन भए पनि विद्रोहको स्वरूप भिन्दाभिन्दै देखिन्छ। लखन थापा र सुकदेव गुरुङ एकाअर्काको गतिविधिबाट सम्भवतः बेखबर थिएनन् तापनि यिनीहरू बीच सम्बन्ध रहेको कतै पुष्टि भएको छैन। सुकदेवको विद्रोह योजनाबद्ध ढङ्गले गुरुङ बाहुल्य क्षेत्रमा केन्द्रित थियो जसको प्रभाव मुस्ताङदेखि उत्तरी गोरखाको १८ सय खोलासम्म फैलिएको मानिन्छ। कुनै परिणाम नदिंदै यिनी गिरफ्तार भई बन्दीगृहमा निर्मम यातनाका साथ राखिए। त्यही यातनाले यिनको ज्यान लियो। गुरुङ समुदायले चैत्र १० मा सुकदेव गुरुङको सम्झनामा शहीद स्मृति दिवस मनाउँदै आएको छ।
सुकदेवको संघर्ष
श्रीपति गुरुङको हत्याको लामो समयपछि उनका सहयोगी र घनिष्ट सुकदेव गुरुङले १९३३ सालको मध्यतिर लमजुङमा विद्रोहको झन्डा उचालेका थिए। डा. हर्षबहादुर बुढामगरका अनुसार, गाउँघरमा घुमेर मुलुकको सत्ता गलत व्यक्तिको हातमा गएकाले हरेक स्वाभिमानी नेपालीले त्यस विरुद्ध लड्नुपर्छ भनेर यिनले सर्वसाधारणलाई आह्वान गर्ने गर्दथे (राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर, २०५४, पृ.३१)। आन्दोलनले गति नलिंदै यिनी पक्राउ परे अनि अदालत इटाचपली मार्फत राजकाज सम्बन्धी मुद्दामा जेलपरे। गोरखाको जेलमै यिनको दुःखद मृत्यु भयो। त्यसको पुष्टि यो दस्तावेजले गर्दछः
‘अदालत इटाचपली मार्फत नौ सर्कार बौद्ध बादशाह भञा भंन्या मुद्दामा पक्री आई कैद पर्ने गोर्षा बसन्या सुकदेव गुरुं जरोको वेथाले मर्दा फाल्नाके जना २ के ज्याला दिनु भंन्या ३३ साल चैत्रवदी ५ रोज १ को श्री ३ का पुर्जि बमोजिं हस्ते माहाने वलवीरसिंह जना १ के २ आनाका दर्ले जम्मा (चार आना)। (त्रिरत्न मानन्धर, नेपालको इतिहासमा जंगबहादुर,२०७७,पृ.१५५)।’
विसं १९३३ चैत्र वदी ५ (इतिहासकार दिनेशराज पन्तका अनुसार विसं १९३३ फागुन २३) भन्दा अघि सुकदेवको मृत्यु भएको यकीन हुन्छ। उनको शव आफन्तलाई नबुझाई त्यसै मिल्काइएको पनि देखिन्छ। बन्दी अवस्थामा केवल ज्वरोको व्यथाले सुकदेवको मृत्यु नभई सम्भवतः उनलाई कडा यातना दिइयो, त्यही यातनाले यिनको मृत्यु भएको इतिहासविद् त्रिरत्न मानन्धरको निष्कर्ष छ (उही, पृ. १५५-१५७)। मृत्यु हुँदा सुकदेव ५०-५२ वर्षका थिए भनी केहीको अनुमान छ। आफ्नै धर्म, संस्कृति र अस्तित्व रक्षाका लागि प्राण उत्सर्ग गर्ने शहीद सुकदेव गुरुङका सन्तति अझै गुमनाम छन्। यसको खोजी गर्नु सबैको कर्तव्य हो।
सुपतिको चुनौती
बन्दी जीवनमै मृत्युवरण गरे पनि सुकदेवको विद्रोही विचार भने जीवित नै रह्यो जसको उदाहरण हो, सुपति गुरुङको विद्रोह। सुकदेवको मृत्यु हुनुभन्दा केही अघि कालीबहादुर पल्टनबाट निवृत्त सुपति देखा परेका थिए। उनी १९१४ सालमा लखनउ युद्धमा सहभागी हुँदा पुरानो गोरख पल्टनका लखन थापासँग यिनको भेटघाट र घनिष्ठता बढेको थियो। अङ्ग्रेजको शासन चलिरहेको बखत भारतीय सैनिकहरूले आत्मसम्मानका लागि त्यहाँ गरेको संघर्ष र बलिदानको प्रभाव यिनलाई पनि लखन थापालाई जस्तै परेको थियो।
जंगबहादुर जस्ता निरंकुश सामन्ती शासकको जल्दोबल्दो युगमा उनकै सर्वसत्तावादी शासन विरुद्ध गुरुङहरूले चर्काएको विरोध आफैंमा साहसिक कार्य थियो। सुकदेव र सुपतिले जनस्तरबाटै सशक्त विद्रोह छेडेका थिए।
अङ्ग्रेजको आड पाएर जंगबहादुर अत्यन्त क्रूर र हुकुमी बनेका थिए। सर्वसाधारण सधैं आतङ्कित रहन्थे। अन्याय, अत्याचार र विभेदको कुनै सीमा थिएन। देशमा न्याय र सुशासन पनि थिएन। देशमा राजा हुँदाहुँदै जंगबहादुर जस्ता जनविरोधी शासक आफ्नै गृहजिल्लामा ‘महाराजा’ बनेकाले त्यसप्रति रोष प्रकट गर्ने सुकदेवले झैं सुपतिले पनि आफूलाई ‘बौद्ध बादशाह’ उद्घोष गर्दै शासकलाई चुनौती दिएका थिए। ज्ञानमणि नेपालले यो विद्रोह जंगबहादुर मरेपछि रणोद्दीपसिंहको समयमा संवत् १९३४ को शुरूमा उठेको ठहर्याएका छन् (प्रज्ञा, वर्ष १२, अङ्क २, पूर्णाङ्क ४४, २०४०, पृ.४४)। यिनले पनि विगतका धार्मिक विद्रोहलाई व्यापक बनाई जनसमर्थन बटुलेकोमा कुनै शङ्का छैन।
आफ्ना अग्रज श्रीपति गुरुङको हत्या, सुकदेव गुरुङको जीवनभरको सङ्घर्ष बुझेका सुपतिमा आफ्नै शासकप्रति प्रतिशोधको भावना जाग्नु स्वभाविकै थियो। लखन थापाको सशस्त्र विद्रोहबाट निकै प्रभावित भई यिनी तत्कालीन शासकको अन्याय, अत्याचार र अराजकता विरुद्ध सशक्त ढङ्गले उत्रन प्रेरित भएका थिए। सुपति गुरुङले पनि आफूलाई ‘बौद्ध बादशाह’ भएको दाबी गरी सोझा धार्मिक जनतामाझ घोषणा गरेपछि उनका पछि लाग्ने रैतीको कमी भएन। यिनका साथमा कतिपय सीधासादा धार्मिक भावनाका रैतीहरू पनि राजीखुशी अनुयायी बनेर सैनिकको रूप लिन लागे (ज्ञानमणि नेपाल, उही)।
यो शृंखलाबद्ध विद्रोहको प्रभाव बढ्दै गएपछि जंगबहादुरको मृत्युपछि श्री ३ बनेका रणोद्दीपसिंहले सुपति गुरुङलाई पक्राउ गर्न तिनकै घर नजिकका गाउँ गोरखा सातथरदेखि कास्की, लमजुङ हुँदै अठार सय खोलासम्म सरकारी सेना खटाएको व्यहोरा जगत्शमशेर राणाले कप्तान रणध्वज अधिकारीलाई लेखेको यो पत्रबाट थाहा हुन्छः
‘१९३४ आषाढ वदी १२ रोज ७ श्रीकम्यांडर इन चीफबाट कप्तान रन्ध्वज अधिकारीके-
दूतिये ज्येष्ठ वदी ९ रोज ३ मुकाम् कास्की पोषरा बाट लेष्याको विन्तीपत्र सुदी ए ३ रोज ५ का दीन आइपुग्यो. विस्तार जाहेर भयो. उप्रांत वौध वात्शाह भञा भंन्या सुपति गुरुंलाई उस्का घर नगीच् गाउ गोर्षा ७ थरदेषी पसी लमजुं कास्की १८०० षोलासम्म षोजतलास् ग-यौं, काही पत्ता लागेन भनी लेष्याका कुरालाई तिमीहरूले लेष्याकोवींतीपत्र श्री ३ महाराज दाज्यैज्यूका हजुरमा नजर गराउँदा कस्तै पनि तेस्का घर नगीच्का मानीस्हरूलाई थाहा हुनुपर्छ. राम्रा रितले बुझि पत्ता लाऊनु भन्न्या हुकुम् भयाको छ. हुकुम्वमोजीम् पत्ता लाउन्या काम गर.’(ज्ञानमणि नेपाल, उही, पृ.४६)
लखन थापा र उनका अनुयायीलाई निर्ममतापूर्वक दिइएको प्राणदण्डले सजग बनेका सुपति गुरुङले सम्भवतः राज्यको कोपभाजनमा पर्नुभन्दा भूमिगत हुनु श्रेयस्कर ठाने। त्यसैले सरकारी सेनाले यिनलाई कतै भेट्टाउन सकेन। सुपतिको सैन्य गतिविधि सामान्य खालको हुन्थ्यो भने राज्यले यसरी खोजतलास गर्ने पनि थिएन। आफ्ना अनुयायीहरू समातिएपछि सम्भवतः सुपति हतोत्साही भए, त्यसपछि कतै देखा परेनन्।
कतिपय अध्येता आफ्नो ज्यान जोगाउन सुपति कतै भागेको र आत्महत्या गरेको बताउँछन्। राणाशासन विरुद्ध सैन्य सङ्गठन गर्ने र नेतृत्वको सामर्थ्य राख्ने योद्धा कायर होलान् भनेर अनुमान गर्नु मूर्खता हुन्छ। बरु उचित समयको पर्खाइमा कतै छद्म भेषमा थप शक्ति आर्जनमा तल्लीन थिए भन्न सकिन्छ। कमान्डर-इन- चीफ जगत्शमशेर राणाले मातहतका सेनालाई १९३४ आषाढ वदी १२ रोज ७ मा सुपति गुरुङलाई जसरी भए पनि पत्ता लगाउनू भनी दिएको कठोर आदेशले त्रासदीपूर्ण वातावरण सिर्जना गरेको र त्यो आन्दोलन फेरि उठ्न नसकेको बुझ्न कठिन छैन। सम्भवतःयही अवधिमा कुनै कारणले यिनको निधन भएको हुन सक्छ। यो तथ्य इतिहासकै गर्भमा छ। पुनःविद्रोही गतिविधि उठ्न नसकी सुपति गुरुङको अभियान त्यत्तिकै सेलाएर गयो।
विद्रोहको मूल्याङ्कन
जंगबहादुर जस्ता निरंकुश सामन्ती शासकको जल्दोबल्दो युगमा उनकै सर्वसत्तावादी शासन विरुद्ध गुरुङहरूले चर्काएको विरोध आफैंमा साहसिक कार्य थियो। सुकदेव र सुपतिले जनस्तरबाटै सशक्त विद्रोह छेडेका थिए। त्यस वेला शासकलाई चुनौती दिनु सामान्य कुरो मानिन्नथ्यो। राणाशासन विरुद्ध उठेको यो विद्रोहले तत्कालीन शासकको मुटु हल्लाइदियो, त्यसैले नेपालको राजनीतिक इतिहासमा यो घटनालाई सामान्य ठान्नु र अवमूल्यन गर्नु न्यायसङ्गत हुँदैन। यो घटनाले निरङ्कुशता विरुद्ध लड्ने विद्रोही भावनालाई जगायो। त्यही चेतनाले कैयौं विद्रोह र परिवर्तनलाई सम्भव गरायो। अहिलेको लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सुशासन लगायतका मुद्दा संस्थागत गर्न गुरुङ विद्रोहको पनि प्रभाव देखिन्छ।
आजभन्दा १४५ वर्षअघि आफ्नो धर्म, संस्कृति र अस्तित्व रक्षाका लागि ज्यानको बाजी थाप्दा राज्यबाट प्रताडित भई मृत्युवरण गरेका सुकदेव गुरुङ शहीदकै परिभाषाभित्र पर्छन्।
इतिहासविद् डा. राजेश गौतमका अनुसार, यी आन्दोलनहरू आदिवासी जनजातिका आफ्ना खोसिएका कविलातन्त्रको प्रतिक्रियास्वरूप स्वतस्फूर्त रूपमा उठेका कारण सङ्गठित राज्यबलका अगाडि टिक्नै सकेनन्। यस्ता विद्रोह र आन्दोलन सफल नभएर कुल्चिएका उदाहरणहरू विश्व इतिहासमा झैं नेपालको इतिहासमा पनि थुप्रै पाउन सकिन्छ (शहीद, २०५२, पृ.२३१)।
स्मरणीय बलिदान
आजभन्दा १४५ वर्षअघि आफ्नो धर्म, संस्कृति र अस्तित्व रक्षाका लागि ज्यानको बाजी थाप्दा राज्यबाट प्रताडित भई मृत्युवरण गरेका सुकदेव गुरुङ शहीदकै परिभाषाभित्र पर्छन्। यिनको संघर्ष कुनै निजी स्वार्थका लागि नभई विशुद्ध समाज र जनताको हितमा थियो। त्यसैले उनी शहीदका हकदार छन्। जंगबहादुरको शासनकालमा उनी विरुद्ध भएका तमाम घटनाभन्दा यो बिल्कुलै पृथक् छ।
राणाहरूको निरंकुश शासनसत्ता विरुद्ध गुरुङ समुदायका श्रीपति, सुकदेव र सुपतिबाट भएका संघर्षहरूले लखन थापा सहित सात जना शहीद जन्माउने बुङ्कोट विद्रोहले जस्तै नेपाली इतिहासमा खासै महत्त्व नपाउनु देशकै दुर्भाग्य हो। जंगबहादुरको जल्दोबल्दो शासन विरुद्ध खुलमखुला विद्रोह गर्ने आदिवासी गुरुङहरूको यो स्वाधीनताको लडाइँ कम महत्त्वको छैन। यस्तो बलिदानी इतिहास नयाँ पिढीलाई बुझाउनुपर्दछ। तिनले पुर्खाहरूप्रति पक्कै गौरव गर्नेछन्। शहीदहरूका सपना साकार पार्न र अन्याय अत्याचार विरुद्ध लड्न प्रेरणा पाउनेछन्।
तत्कालीन घटनाको निष्पक्ष मूल्याङ्कन गर्दा नेपाली समाजका लागि आदर्श र अनुकरणीय पात्र थिए, सुकदेव। जंगबहादुर जस्ता क्रूर शासक विरुद्ध सुकदेवले गरेको संघर्ष र बलिदानको कदर गर्दै यस्ता प्रतिभालाई राज्यले शहीदको पंक्तिमा दर्ज गर्न चुक्नु हुँदैन। क्रान्तिकारी लखन थापालाई ‘प्रथम शहीद’ भनिए पनि सोही समयमा उसैगरी बुङ्कोट गोरखामा मारिएका अन्य ६ सहयोद्धा (जयसिंह चुमी मगर, बालेश्वर अछामी मगर, विराज थापा मगर, जुठ्या थापा मगर, अजपसिंह थापा मगर र जितमान गुरुङ) पनि अग्रपंक्तिका शहीद हुन्, तिनलाई पनि राज्यले ससम्मान शहीदको मान्यता दिन जरुरी छ।