‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयको विरोधमा द्वन्द्वपीडितले धर्ना दिने
दशक लामो सशस्त्र द्वन्द्व शुरू भएको फागुन १ गतेलाई सरकारले ‘जनयुद्ध दिवस’ भनेर बिदा दिन लागेको विरोधमा द्वन्द्वपीडित र नागरिक समाजले धर्ना दिने भएका छन्।
द्वन्द्वपीडित समुदाय तथा नागरिक समाजले फागुन १ गते बिहान ११ बजे सिंहदरबार अगाडि धर्ना दिन लागेका हुन्। विरोध कार्यक्रमबारे जानकारी दिंदै द्वन्द्वपीडित सुमन अधिकारीले भने, “रगतको होली खेल्ने नेपाल र नेपालीको पीडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको विरोधमा धर्ना कार्यक्रम आयोजना गरेका हौं।”
माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले माओवादीले २०५२ फागुन १ गते सशस्त्र द्वन्द्व सिर्जना गरेको दिनलाई ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको छ।