‘बुद्धको जन्म, घर र मामाघर नेपालमै भएको पुष्टि गर्ने सामग्री संगृहीत छन्’
‘राष्ट्रिय संग्रहालयमा चन्द्रमाको चट्टान र चन्द्रमा लगिएको नेपालको झण्डादेखि नेपालका विभिन्न जातजातिका पहिरनको सङ्कलन पनि छ।’
राष्ट्रिय संग्रहालय रहेको काठमाडौंको छाउनीस्थित भवन भीमसेन थापाले निर्माण गरेका हुन्, जसलाई शीलखाना भनिथ्यो। हतियार राख्ने थलोको रूपमा रहेको शीलखानामा चन्द्रशमशेर जबराको पालामा हतियार सङ्कलनलाई तीव्रता दिइयो। जुद्धशमशेर जबराको पालामा शीलखानालाई व्यवस्थित गरेर संग्रहालयको स्वरूप दिइयो। जुन १९९५ फागुन १ गतेबाट सर्वसाधारणका लागि खुला गरिएको थियो।
त्यही दिनको अवसर पारेर हरेक वर्ष फागुन १ गते संग्रहालय दिवस मनाउने गरिएको छ। यसै सन्दर्भमा राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको संवादः
राष्ट्रिय संग्रहालयका विशेषता के हुन्?
संग्रहालय रहेको छाउनीको भवन शुरूमा भीमसेन थापाले हतियार राख्ने स्थल थियो। त्यसलाई शीलखाना भनिथ्यो। चन्द्रशमशेर जबराको पालामा हतियार सङ्कलनको कामले व्यापकता पाएको देखिन्छ। जुद्धशमशेर जबराको पालामा शीलखानालाई व्यवस्थित गरेर संग्रहालयको स्वरूपमा परिवर्तन गरी १९९५ फागुन १ गते सर्वसाधारणका लागि खुला गरिएको हो।
१९९९ सालमा जुद्ध जातीय कलाशाला पनि निर्माण भयो, जहाँ विभिन्न कालखण्डका कला संगृहीत छन्। बुद्ध आर्ट ग्यालरीमा बुद्धकालीन सामग्री राखिएका छन्। बुद्ध नेपालमा जन्मेका मात्र होइनन्, उनको घर र मामाघर नै यहीं हो भन्ने प्रस्ट्याउने सामग्री पनि छन्।
त्यस्तै, नेपालका विभिन्न ठाउँमा उत्खनन भएका मानवशास्त्रीय सामग्री पनि प्रदर्शनीमा छन्। प्रागैतिहासिक मानवले प्रयोग गरेका ढुङ्गाका हतियार पनि सङ्कलनमा छन्। उपल्लो मुस्ताङमा गुफा युगमा प्रचलित सामग्री पनि प्रदर्शनमा छन्। यसर्थ, मानव विकासक्रमको इतिहास राष्ट्रिय संग्रहालयमा हेर्न सकिन्छ।
चन्द्रमाको चट्टान र चन्द्रमा लगिएको नेपालको झन्डा पनि छ। त्यस्तै, विभिन्न प्रजातिका चराका नमूना छन्। इन्थोग्राफिक म्यूजियममा नेपालका केही जातजातिका पहिरनको सङ्कलन गरिएको छ।
अहिले संग्रहालयमा आउने आगन्तुकको उपस्थिति कस्तो छ?
विद्यालय लगायत शिक्षण निकायमा संस्थागत पहल गरेपछि आगन्तुकको संख्या बढेको छ। संस्थागत सदस्य बनाउन शुरू गरेपछि आगन्तुकको संख्या बढेको छ। ‘फ्रेन्ड्स अफ म्यूजियम’ को अवधारणामा झन्डै १० हजार सदस्य बनाएका छौं।
त्यस्ता सदस्यले संग्रहालय खुल्ने अनुकूल समयमा निःशुल्क प्रवेश पाउँछन्। साथै, हामीले संस्कृति पढ्ने स्नातक तहका विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था पनि गरेका छौं।
संग्रहालयलाई इतिहास पढाउने पाठशाला भनिन्छ। तर, हाम्रो सन्दर्भमा संग्रहालय भनेको विद्यालयका विद्यार्थी आउने, घुम्ने ठाउँका रूपमा सीमित देखिन्छ। हाम्रो समाजमा संग्रहालय संस्कृति किन फस्टाउन सकेन?
संग्रहालय बुझ्ने हाम्रो धारणा नै गलत छ। हामी पारम्पारिक सोचले निर्देशित भयौं, जहाँ शासक वर्गको गुणगान गाउने वस्तुहरूको सङ्कलनका रूपमा संग्रहालय स्थापित र विकसित भयो।
नेपाल जस्तो बहुभाषिक, बहुजातीय देशमा हुने संग्रहालय एउटा पक्षको मात्र पक्षपोषण गर्ने थलो नबनी समावेशी हुनुपर्ने आवश्यकता छ। सबै जात, समुदायले पहिचान खोजेको र त्यसको प्रवर्द्धन चाहेको अवस्थामा त्यसलाई मूर्त रूप दिने थलो नै संग्रहालय हो। संग्रहालय संस्कृतिलाई व्यापक बनाउन र शैक्षिक तथा राष्ट्रिय क्रियाकलापको एउटा अंश बनाउन सबै तह र तप्कालाई सक्रिय बनाउने अभियान नै चाल्नुपर्ने देखिन्छ।
राष्ट्रिय संग्रहालयका तर्फबाट चाहिं केकस्ता प्रयास भएका छन्?
परिमार्जन हुने क्रममा रहेको ‘संस्कृति नीति’ मा संग्रहालयलाई विभाग स्तरको बनाइने उल्लेख छ। त्यसो हुन सक्यो भने हामीले स्वतन्त्र रूपमा केही काम अघि बढाउन सक्छौं। हाल भने मन्त्रालय मातहतको पुरातत्त्व विभागमुनि रहेर काम गर्नुपर्दा हाम्रा केही सीमितता छन्।
यद्यपि, हाम्रो सीमामा हुन सक्ने काम भइरहेको छ। राष्ट्रिय संग्रहालयलाई राष्ट्रको इतिहास, कला र संस्कृतिको प्रतिनिधित्व हुने थलोका रूपमा विकास गरेका छौं भने क्षेत्रीय संग्रहालयले क्षेत्रीय इतिहास, कला र संस्कृतिको प्रवर्द्धनमा काम गरिरहेका छन्।
राष्ट्रिय संग्रहालय देशभरका संग्रहालयलाई नियमन गर्ने निकाय हुनुपर्ने होइन र?
संग्रहालयको दिगोपनका लागि दुई वटा मार्ग उपयुक्त हुने देखिन्छ। एउटा राष्ट्रिय संग्रहालय अन्तर्गत सबै संग्रहालयलाई राख्ने। अर्को, राष्ट्रिय संग्रहालयलाई छुट्टै निकायका रूपमा राखेर अरू संग्रहालयलाई संग्रहालय विभाग अन्तर्गत राख्न पनि सकिन्छ।
क्षेत्रीय संग्रहालयमा क्षेत्रीय र प्रादेशिक महत्त्वका प्रदर्शन गर्न सकिन्छ भने केन्द्रीय संग्रहालयमा राष्ट्रिय स्तरको प्रदर्शन गर्न सकिन्छ। केन्द्रीय स्तरको प्रदर्शनी र त्यहाँ हुने पुरावस्तुको स्वामित्व संघले लिन सक्छ भने क्षेत्रीय स्तरको स्वामित्व प्रदेशले लिन सक्छ। यस विषयमा बहस गरी एउटा टुङ्गोमा पुगेर संग्रहालयलाई प्रवर्द्धन गर्नुपर्ने देखिन्छ।
राष्ट्रिय संग्रहालयले केकस्ता चुनौती भोगिरहेको छ?
अहिले हामीसँग जनशक्ति सीमित छ। संग्रहालयको स्तरोन्नति हुन सकेको छैन। संग्रहालयका विभिन्न कार्य सञ्चालन गर्न सकिएका छैनन्। यो क्षेत्रमा नयाँ पुस्ताको रुचि देखिएको छैन। शायद यसमा भविष्य नदेखेकाले पनि नयाँ पुस्ता आकर्षित नभएको होला।
तसर्थ, यो क्षेत्रलाई विस्तार गर्न पनि लगानी गर्नुपर्ने देखिन्छ। अहिले पनि जनशक्ति अभावमा धेरै दरबन्दी खाली छन्। यी सबै समस्यालाई चिरेर संग्रहालय संस्कृतिलाई गतिशील बनाउन नयाँ भिजनका साथ अघि बढ्नुपर्ने देखिन्छ।
त्यसका लागि चाहिने मुख्य स्रोत भनेको आर्थिक हो। त्यसतर्फ सम्बद्ध निकायले ध्यान दिन जरुरी छ। अहिले लगानीकै अभावमा संग्रहालयबाट समाजले पाउनुपर्ने जति प्रतिफल पाउन सकेन जस्तो लाग्छ।
संग्रहालयलाई समाजसँग जोड्न के गर्नुपर्छ? आगामी योजना के छ?
नयाँ ढङ्गबाट अघि बढ्नुपर्छ भनेर भीआर, भर्चुअल टुर, मोबाइलमै हेर्न सकिने प्रावधान छ। सबै त देखाउन सकिंदैन, तर संग्रहालयका केही विशेषतालाई भीआरका माध्यमबाट पनि देखाउन सक्ने भएका छौं।
त्यस्तै, विभिन्न विज्ञलाई बोलाएर संग्रहालयमा भएका कला सम्पदाबारे बोल्न लगाउने कार्यक्रम पनि शुरू गर्ने योजनामा छौं। विद्यार्थी लक्षित विभिन्न क्रियाकलाप पनि गराउँदै आएका छौं। ज्येष्ठ नागरिकलाई बोलाएर पुराना विषयवस्तुबारे पनि कुराकानी गर्न लगाउने तयारी गरेका छौं।