विचारको साम्राज्यमा सल्किएको आगो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा पत्रकार सम्मेलन नामको तोप पड्कियो। जवाफी ‘फायरिङ’ भयो। देशभरी कम्पन गयो। अझै पनि सवाल, जवाफ र बहसको सिलसिला जारी छ।
रवि लामिछानेको आवेग र उत्तेजना मिसिएको प्रस्तुतिबारे टीकाटिप्पणी जारी छ। उनले आवेगी शैलीमै सञ्चारमाध्यमतिर तेर्स्याएका प्रश्नहरूको चिरफार पनि जारी छ। आममानिसमा अपनत्व गुमाउँदै गएको मूलधारका सञ्चारमाध्यम र संयम गुमाएका रवि दुवैको परीक्षणकाल शुरू भएको छ।
विधि र कानूनको पैरवी गर्दै सञ्चारमाध्यमले रविका लागि खडा गरेका सवालहरूमा विमति राख्ने ठाउँ छैन। विधिविधानप्रति यति हेक्का राख्ने सञ्चारजगत्को सङ्गीन आरोप लागेका अन्य सत्तासीनहरूको सवालमा खबरदारी कस्तो थियो? यो प्रश्न सीधा आँखा जुधाएर उभिएको छ। ज्यान मुद्दामा आरोपित मानिस सभामुख हुँदा सञ्चारजगत्ले कानूनी राज्यको कस्तो पैरवी गरेको थियो? यो सत्य नागरिकको आँखामा लुकेको छैन।
रवि लामिछाने विधिवत् रूपमै अमेरिकी नागरिकता त्यागेका व्यक्ति हुन्। उनले नेपाली नागरिकता नवीकरण गर्ने सवालमा प्रक्रियागत त्रुटि गरेका हुन्। यहाँ नियत होइन, हेलचेक्र्याइँ बढी झल्किन्छ। यो तथ्य नागरिक समक्ष राख्ने जिम्मेवारी कुनै पनि सञ्चारमाध्यमले देखाएनन्। यो दृष्टान्तलाई आफ्नो हिसाबले बुझ्न र व्याख्या गर्न सार्वभौम राज्यका नागरिक स्वतन्त्र छन्।
समय समयमा म राणाकालीन नेपालको एउटा कानून सम्झन्छु, ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदेऊ।’ परपुरुषसँग सम्बन्ध राखेकी कुनै महिला त्यति वेला मन्त्री भएको भए र सञ्चारजगत्ले समाचार लेखिरहेको भए, हेडलाइन र समाचार कस्तो हुन्थ्यो होला? ‘व्यभिचारी बाइफाला आइमाईलाई बाघकै मुखमा हाल्देऊ सरकार’, या ‘सरकार राज्यमा खुंखार अपराधको आरोप लागेका मानिस सार्वजनिक पदमा छन्’।
यी ‘आइमाई’ कानूनतः गलत त छन्, तर बाघकै मुखमा हाल्नु उल्टो अपराध हुन जान्छ। विधिविधान र न्याय कहिले एकै धारमा हिंड्छन्, कहिले विवेकले धार मिलाएर गतिमा ल्याउनुपर्छ। समाचार फगत प्राविधिक हुँदैन, त्यसभित्र अर्थपूर्ण ध्वनि हुन्छ। नागरिकले आफ्नो अवधारणा त्यसको आधारमा पनि बनाउँछन्।
मिडियाले नागरिकमाझ गुमाउँदै गएको अपनत्व र रविले उग्र आवेगमा कमजोर बनाएको व्यक्तित्वको ओझ,फर्काउलान् या आत्मरतिको दहमै रहलान्? परीक्षण समयले गर्छ।
विचारको सत्तामा धक्का
व्यवस्था परिवर्तनको ‘म्युजिकल चियर’ गणतन्त्रमा गएर रोकियो। व्यवस्था परिवर्तनको क्रम रोकिएपछि अवस्था परिवर्तनको युगमा समय होमियो। खुला समाज छ, स्वतन्त्र मिडिया छन्। लोकतान्त्रिक व्यवस्था छ। आश यो थियो, बदलाव रातारात नहोला, तर सामाजिक-आर्थिक अवस्थामा बदलाव आउँछ। यो आशा विश्वासमा परिणत हुन सकेन। यो सत्यमा झूटको लेपन लगाइरहनु परेन। आशामा खिया लागेको नागरिकको दलहरूप्रतिको निराशाले यही देखाउँछ। गहिरो राजनीतिशास्त्र पढ्नै पर्दैन।
कुनै समय सूचनाका लागि सरकारी माध्यम मात्र भर पर्नुपर्ने नागरिकका लागि एकसे एक निजी सञ्चार माध्यम उदाए। नागरिकका सवालले अब रेडियो, टेलिभिजन घन्किनेछन्। अखबारका पहिलो पानामा नागरिकका सवाल उभिनेछन्। हुनुपर्ने त यही थियो। सोचे जस्तो सबै हुँदैन।
सञ्चार माध्यम र दलहरूको नसा जोडिंदै गयो। नागरिकको सवाल लिएर उभिनुपर्ने मिडियामा राजनीतिक नेतृत्वको वर्चस्व बढ्दै गयो। सञ्चार र राजनीतिको नागरिकसँग दूरी बढ्दै गयो। अपनत्व घट्दै गयो। नागरिकको आवाज सत्ताधारीहरू कहाँ पुर्याउने पुल बन्नुपर्थ्यो, मिडिया। सत्तासीनहरूको थरीथरीका फोटा र अन्तर्वार्ता नागरिक कहाँ पुर्याउने औजार बन्यो। लोकतन्त्रमा जसको आवाज सुनिनुपर्थ्यो, उनीहरूको आवाज नेपथ्यमा बिलायो। जसले सुन्नुपर्थ्यो, उनीहरू बोली मात्र रहे।
राजनीति र सञ्चारको मितेरी साइनो प्रगाढ बन्दै गयो। यस्तो वेला चाहिने हो, तटस्थ नागरिक समाज। यस्तो तप्का जो नागरिकको मुखपत्र बनोस्। नागरिकको मुखपत्र त होइन, उनीहरू ‘मिडिया डार्लिङ’ बन्दै गए। जे बोल्दा धेरै सञ्चार संस्था रमाउँछन्, त्यही बोलिदिए। आफ्ना फोटा अखबारमा हेरेर मख्ख परे। कहिले सञ्चारको काखमा कहिले दलहरूको पोल्टामा नागरिक समाज हरायो।
रवि प्रकरणपछि मिडिया प्रतिक्रियात्मक देखिएका नागरिकको यो क्षणिक प्रतिक्रिया मात्र हो। आफूलाई मूलधार दाबी गरिरहेका मिडियाप्रति उनीहरूको न आक्रोश छ न त अपेक्षा। मिडियालाई उनीहरूले आफ्नो जीवनमा असान्दर्भिक मान्दै गइरहेको देखिन्छ।केही गिनेचुनेकाहरूको बुद्धिविलास गर्ने थलो मात्र ठान्छन्। २०-५० जनाले हाँकेको विचारको सत्ताले उनीहरूको हृदय छुनै सकेन।
सूचनाका लागि सम्पूर्ण रूपमा अखबारहरूमा भर पर्ने अवस्था रहेन। द्रुतगतिमा आएको प्रविधिको परिवर्तनले मानिसको हातहातमा सूचनाको तागत थमाइदियो। हातमा आएको सूचना प्रशोधन र विश्लेषण गर्ने हैसियत मानिसको छ।
को मूलधार को किनार भन्ने बहस नै कमजोर बन्दै गएको देखिन्छ। सामाजिक सञ्जालको विस्तार नभएको वेला विचार र समाचारबारे विमति पोख्ने र प्रतिप्रश्न गर्ने थलो थिएन। अहिले छ। फरक त्यति मात्र हो। ‘सबै भीड एक जनाको पछि दौडेका छन् भनेर सञ्चारकर्मीले आक्रोश देखाइरहँदा यतिका सञ्चारमाध्यम कसका लागि बोलिरहेका छन्, लेखिरहेका छन् त उसो भए?’ प्रतिरक्षा मात्र होइन, आत्मनिरीक्षण आवश्यक छ। अहोरात्र मेहनत गर्ने श्रमजीवी पत्रकारको सम्मानका लागि पनि यो आवश्यक छ।
गत दशकमा मूलधार भनिने सञ्चार माध्यममा छापिने विचार पृष्ठ (ओपेड)हरू सङ्कलन गरौं। विचार निर्माणकर्ताको परिचय र राजनीतिक झुकाव हेरौं। अहोरात्र अन्तर्वार्ता दिइहिंड्ने मानिसको अनुहार नियालौं। एकै समयमा एकै पत्रिकामा एउटा निश्चित दलप्रति झुकाव राख्ने मानिसलाई स्तम्भकार बनाउन मिल्छ? अख्तियारीको अभद्र प्रयोग गर्ने सम्पादकले लोकतन्त्रमा विचारको छनोटमाथि बन्चरो हान्छ।
स्थायी स्तम्भ लेखनमा पार्टीका सदस्य भर्ना हुन मिल्छ कि मिल्दैन? यो पत्रकार आचारसंहिताभित्र पर्छ कि पर्दैन? यस्तो गर्ने को हुन्? स्वतन्त्र प्रेस र लोकतन्त्रको अनवरत प्रवचन दिनेहरूले खोजून्। आफ्नो अख्तियारीको दुरूपयोग गर्ने सम्पादकले हाँक्ने अधिकारको आन्दोलन कसले पत्याउँछ? ज्यान मुद्दा लागेका मानिसबाटै कतिपय सञ्चारकर्मीले पदक समेत लिएका छन्। खबरदारी गर्नुपर्ने अख्तियार जस्ता संस्थाबाट पुरस्कृत हुने पत्रकारको फोटोले मिडिया रङ्गीन हुन्छ। यस्तो वेला नागरिकको मन चिसो हुन्छ।
जसको सवाल उसैको आवाज भन्छौं हामी। तर, केही मानिस छन्, जो देशैभरिका सबैका लागि बोलिरहेका छन्। सबै वर्ग, समुदाय र लिङ्गका लागि उनीहरू नबोली सञ्चारजगत्ले पाइला सार्दैन। हामी सत्ताका सदाबहार प्रतिपक्ष भन्दै सञ्चारमा छाइरहने मानिसको आफ्नै वैकल्पिक सत्ता खडा भइसक्यो। किनारामा पारिएका मानिसको लागि बोल्ने बहानामा उनीहरू सञ्चारसत्तामा टाँसिइरहन्छन्। सञ्चार र कथित सदाबहार प्रतिपक्षको मिलीजुली सरकार छ।
भारतीय इतिहासकार रोमिला थापर भन्छिन्, ‘भारतका बौद्धिकलाई राम्रोसँग थाहा छ, कहाँ बोल्ने कहाँ चूप बस्ने।’ ‘सेलेक्टिभ साइलेन्स’ को यो रणनीति, नेपाली बौद्धिकलाई पनि थाहा नहुने कुरै भएन। उनीहरूका लागि फलिफाप भएको छ। भारतले लगाएको अमानवीय नाकाबन्दीलाई गलत भन्ने नसक्ने, द्वन्द्वकालमा राज्य र माओवादी दुवैतर्फबाट भएका ज्यादतीमा चूप बस्ने, सदा बहार ‘मिडिया डार्लिङ’ हरू हुन्।
मधेश आन्दोलन र टीकापुर घटनामा नागरिकमाथि भएको अपराधमा बोल्ने एक्कादुक्का मात्र देखिए। जो बोले उनीहरूलाई पनि सामन्तीको बिल्ला भिराइयो। मधेशको आवाज बोल्न एक-दुई जना बौद्धिक खटाइयो। बाँकीको आवाज प्रवेश निषेध। मधेशका आममानिसको आवाज प्रवेश गराउनु युद्ध जस्तै भयो। महिला र दलितको आवाज देखेपछि स्थायी स्तम्भकार तिलमिलाए।
आफैं चर्को प्रतिवादमा उत्रिएर भने ‘मधेशका महिला र दलित यसरी बोल्नै सक्दैनन्।’ मानौं उनीहरू पीडित मात्र हुन्, वैचारिक शक्ति भएका त ‘मिडिया डार्लिङ’ मात्र हुन्। यो हदको वैचारिक सामन्तलाई मूलधार दाबी गर्नेहरूले साथ दिइरहे।
हाम्रो वैचारिक घेरा खगेन्द्र ‘संग्रौला स्कूलअफ थट’ र ‘किशोर नेपाल स्कूल अफ थट’ बाट निस्कन सकेको देखिन्न। मिडिया र बौद्धिक हुँ भन्नेहरूको वैचारिक उपनिवेश भत्किँदै गर्दा सानोतिनो भूकम्प त जान्छ नै।
अक्सर चुनावपछि नागरिक आफ्ना जनप्रतिनिधिको प्रतिपक्षमा उभिन थाल्छन्। प्रश्न गर्न थाल्छन्। राजनीतिमा आएका नयाँ मानिसका लागि किन यसो गरिरहेका छैनन्। सञ्चारजगत्मा हिरो बनाएर पेश गरिने मानिसभन्दा भिलेन बनाइन खोजिएका जनप्रतिनिधिप्रति सहानुभूति किन राख्छन्? नागरिकले रुचाएका जनप्रतिनिधिले गरेका सफल काम आफैं पोस्ट गर्छन्। यस्ता काम समाचार नबनेको देखेपछि मुर्मुरिन थाल्छन्।
नयाँ सत्तासीनहरूप्रति आमजन समूहको अटल सहानुभूति किन होला? किनभने स्थापित दलहरू र मिडियाको अदृश्य साझेदारीको नसा छुट्टिएको उनीहरूलाई महसूस भएको छैन। सञ्चार माध्यमहरू कसलाई निरन्तर प्रश्न गर्छन्, कसको सवालमा चूप रहन्छन्, यो नियालिरहेका छन्। बौद्धिक र विचार निर्माणकर्ता जमात कहाँ बोल्यो, कहाँ कुटिल मौनता साँच्यो यो निरीक्षण गरिरहेका छन्। हामी जे बोल्छौं, त्यही अन्तिम सत्य हो भन्ने ‘मिडिया हेजीमोनी’ लाई अहिलेको नागरिक, सजग भएर परीक्षण गरिरहेको छ। कतिपय सवालमा अविश्वास पनि। यही कारण राजनीतिका नयाँ खेलाडीहरूले शङ्काको लाभ पाइरहेछन्।
स्थापित दल र सञ्चारको सम्बन्धको डोरी खुकुलो भएको महसूस भएकै क्षणदेखि नागरिक नयाँ न पुराना, सबैको प्रतिपक्षी धारमा उभिन्छन्।
हो, हाम्रो आमसञ्चारजगत् भारतको ‘गोदी मिडिया’ जस्तो स्वाँठ भइसकेको छैन। गोदी मिडिया सरकारको बचाउमा आक्रामक भएर उभिन्छ। मुखमुखै लाग्छ। हाम्रो मिडिया शान्त र व्यवस्थित देखिन्छ। गोदी मिडिया सूचनाको जुवामा ‘शो फ्लास’ खेल्छ। हाम्रो मिडिया ‘इन विट्वीन’ खेल्छ। सूचना र विचारले के चाल चालिरहेछ, नागरिकले पत्तो पाउन्नन्।
आजसम्म नेपाली सञ्चारजगत्ले मिजास भने गुमाएको छैन। दलहरू र सरकारलाई प्रश्न गर्ने हैसियत र गरिमा पनि राख्छन्। तर, कसलाई प्रश्नको मिसाइल खोल्छन्? कसलाई पटका पड्काउँछन्? सारा फरक यसैले पारिदिएको छ।
ट्वीटर पञ्चायत!
एक समय थियो, गाउँ गाउँमा पञ्चायत बस्थ्यो। गाउँभरिका डिठ्ठा-भलादमीहरू लबेदा सुरुवालमा भेला हुन्थे र हुकुम दिन्थे। ‘फलानी बाइफाले आइमाईलाई हाजिर गराऊ। फलानो फटाहालाई चुट र चारपाटे मुडिदेऊ, डाँडा कटाइदेऊ आदि आदि।’ यस्ता विशिष्ट पञ्च भलादमीको सामुन्ने गाउँका ऐरै गैरे नत्थु खैरे जनता भुसुना बराबर। अचेल ट्वीटरमा यस्तै हुङ्कार सुनिन्छ। ‘फलानो ठग, फलानी उग्र, यी अनपढ गवाँरहरू र यिनको नेता।’ पञ्चायत भेलाले समय समयमा ठाउँ फेरिरहन्छ, अहङ्कार र नियत फेर्दैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख नेताको आवेगी प्रस्तुतिपछि उनका मतदाता र समर्थकलाई मूर्खहरूको भीड, अनपढ, गँवार आदि जस्ता शब्दहरूको प्रयोग ट्वीटर प्रयोगकर्ताले सजिलै चलाइरहेको देखिन्छ। ‘भीडहरूको नेता, फटाहा, चोर, अदालतबाट प्रमाणित ठग’ जस्ता शब्द, कुनै हुँडार ह्यान्डलले लेखिरहेका छैनन्। मूलधार भनिएकै सञ्चार माध्यमका पत्रकार, लेखक र सम्पादक समेत रहेका व्यक्तिहरूले चलाएको देखिन्छ। ट्वीटर पञ्चायतको यो मनोविज्ञान बदलिइरहेको समयको आलोकमा हेरिनुपर्ने आवश्यक छ।
सार्वजनिक रूपमा चिनिएका व्यक्तिहरू जो पब्लिक (आमनागरिक)को हितमा बोल्छन्, उनीहरूलाई ‘पब्लिक इन्टेलेक्चुअल’ भनिन्छ। आफ्नो पुस्तक द पब्लिक इन्टेलेक्चुअल इन इन्डियामा इतिहासकार रोमिला थापर लेख्छिन्, ‘जो मानिस पब्लिक इन्टेलेक्चुल हो, उसले आफूलाई पब्लिककै एक हिस्सा ठान्नुपर्छ। आफूलाई जनताभन्दा अलग राखेर बाँकी मानिसका खातिर बोलिदिने विशेष मान्छे ठान्नु हुँदैन।’
यो व्याख्याको आधारमा नेपालको इन्टेलिजेन्सिया हेर्दा ठीक उल्टो देखिन्छ। सार्वजनिक बौद्धिक भनेर चिनिन मन पराउने व्यक्तिहरू आफूलाई ठूलो जमातभन्दा भिन्न ठान्छन्। त्यही समूहको एक अङ्ग ठान्दैनन्।
सामाजिक रूपमा प्रतिष्ठा कमाएका मानिसले कुनै अमुक दलको नेता र उनका समर्थकलाई जसरी दुत्कारी रहेछन्, त्यो क्रुर सुनिन्छ। हामी खास मान्छे, तिनीहरू आममान्छे भन्ने मनोविज्ञान देखिन्छ। जब जब सञ्चारजगत्, राजनीति र बौद्धिक जगत्ले बाटो बिराउँछ, त्यसलाई दिशा दिन आमनागरिक नै अघि सर्छ। यसरी उर्लिन खोजेको जमातलाई हर समयको सत्ताले देशद्रोही र गँवार नै देख्छ। हर व्यक्ति विचार र ज्ञानको एक धारा हो। वैचारिक सत्ताका बादशाहहरूले यो बुझ्न जरुरी छ।
सामाजिक सञ्जालको प्रयोगकर्तामध्ये ट्वीटर जनसंख्या एकदेखि तीन प्रतिशतको हाराहारीमा छ भन्ने अध्ययनहरूले देखाएका छन्। ट्वीटर प्रयोगकर्ताहरू लेखक, पत्रकार र समसामयिक विषयमा विमर्श मन पराउने व्यक्तिहरू देखिन्छन्। कतिपयले ‘मैले त आजकल फेसबूक चलाउनै छोडिसकें। त्यो बेकारको जमात’ भनेर लेखेको पनि देखिन्छ। उनीहरूको बुझाइमा फेसबूकमा रहेको ठूलो समूह बौद्धिक विमर्श गर्न लायक छैनन्।
रविको विवादपछि त खुला रूपमै लेखेको देखिन्छ ‘चितवन २ मा भेडाहरूले फेरि त्यै ठगलाई जिताउँछन्। फलानो पार्टीको विद्वान्लाई सँगै उठाउनु हुन्न।’ बुझ्नुपर्ने कुरा के छ भने ट्वीटरको पञ्चायतले आमचुनावकाे नतीजा निर्धारण गर्न सक्दैन।
राणाशासन ढल्ने वेला पनि तत्कालीन शासकका ‘रैती’ परिवर्तनका लागि उत्साहित थिए। पञ्चायत ढल्दा होस् वा गणतन्त्र आउँदा आममानिसमा देखिएको उत्साह उस्तै थियो। ती जनता परिवर्तनका संवाहक भए। आज व्यवस्था र अवस्थाको ताजगी खोजिरहेका मानिसहरू कसरी ‘मूर्खहरूको भीड’?
हामी ‘क्रीम’ तप्का हौं भन्नेहरूले रविको आवेगको आड लिएर आममानिसलाई गरेको अपमानलाई कसरी बुझ्ने? हामीले सबैभन्दा धेरै पढिने, हेरिने र सुनिने भनेर संख्याकै आधारमा सञ्चार माध्यमहरू आफ्नो गरिमा नाप्छन्। आफूलाई छोडेर अन्तै भर पर्न थालेको चाल पाएपछि तिनै मानिसलाई केवल भीड मात्र देख्छन्। जसरी हिजो श्री ३ का हुक्के-बैठके बौद्धिकहरूले आफ्नो कोटरी बाहेक सबैलाई पटमूर्ख, गँवार ठान्थ्यो। ट्वीटरका सो घोषित विद्वान्हरूको हालत त्यही छ।
कल्पना गर्छु, पढ्न नपाएर खाडी मुलुकमा जानुपरेको भए, यौनहिंसा सहँदै काम गर्नु परिरहेको नागरिक भएको भए, कमजोर राज्य संयन्त्रको कारण आफ्नो उद्धारका लागि कुनै टीभी प्रस्तोता गुहारेर देश फर्कनुपरेको भए, उसैलाई भोट हालेर यो सबै छलफल हेरिरहनुपरेको भए, यस्तै अवस्थामा रहेका तमाम मानिसहरूको मनमा जुन दृष्टिकोण अहिले बनिरहेछ त्यो कहाँ छापिन्छ? जसको ट्वीटर ह्यान्डल छैन के ऊ बौद्धिक हैन? के उनीहरू भीड मात्र हुन्? विचार होइनन्?
भारतका जनप्रिय पत्रकार रवीश कुमार भन्छन्, ‘आमनागरिकको विचारमा शक्ति हुन्छ। चित्त नबुझेको कुरा सामाजिक सञ्जालमा १० पटक लेख्नुस्।’ उनी फेसबूक र ट्वीटरको वैचारिक वर्ग विभाजनलाई भाउ दिंदैनन्।
रविको गल्ती यहींनिर छ। आफ्नाबारे सञ्चार माध्यममा आएका समाचारहरू, अभद्र कोट सहित शेयर गर्ने ट्वीटे ट्रोलहरूलाई उनले अनावश्यक भाउ दिए। आफ्ना विरुद्धका ट्वीटहरू शेयर गर्दै नगरेका सञ्चारकर्मीको नामै तोकेर लाञ्छनामा उत्रिए। ट्वीटको ‘तिललाई पहाड’ बनाए। उनले सामाजिक सञ्जाल खास गरी ट्वीटरको ‘साइकी’ नबुझेको देखियो।
केही मानिसलाई गाली गर्दा पाएको आनन्दले आफूलाई विश्वास गरेका असंख्य नागरिकको तेजोवध गरे। समाचार र त्यसका आधारमा गरिएका ट्वीट ट्रोलबीचको भिन्नता बुझेनन्। गज्याङमज्याङ गरेर मिसाए। ट्वीट ट्रोललाई ब्रह्माण्ड भनेर बुझ्दा रविले संयम गुमाए। ट्वीटर पञ्चायतको चियाको कपमा उडेको बाफलाई तूफान देख्नु रविको भूल हो। बुद्धिमता होइन।
गृहमन्त्री रहँदा रविबारेको समाचारमा सन्तुलित र व्यवस्थित रहेका केही समाचार संस्था, पद गएसँगै उनलाई फरार अपराधी जस्तै गरी पेश गरे। रविको त्रुटि हो, नियतवश अपराध होइन भन्न सकेनन्। सानो चित्त र पूर्वाग्रह देखाए। आममानिसलाई बिझाउने तहको रवैया सञ्चारजगत्ले पनि देखायो। यही कारण मूलधारका समाचार वास्तै नगरी बस्नेहरू पनि सञ्चारजगत्प्रति झनै आक्रामक बने।
आमसञ्चारमा रहेका केही मानिसको वैचारिक हालिमुहालीमा धक्का लाग्नैपर्छ। तर, लाञ्छना र आक्रोशको बलमा होइन, तथ्य, तर्क र विचार त्यसको आधार बन्नुपर्छ।
समय सधैं सत्ता परिवर्तनका लागि हुँदैन। ज्ञान र विचारधाराको परिवर्तनका लागि पनि हुन्छ। जतिसुकै हत्केला लामो पारेर पर उदाउँदै गरेको उज्यालो रोक्न खोजे पनि यो रोकिन्न। ट्वीट पञ्चायतले बौद्धिकताको ‘कोटिहोम’ लगाएर आममानिसको चेतनाको हवन गरे पनि यो रोकिन्न। समय केही थान मानिसको बौद्धिक अहङ्कारले बदलिंदैन। समयको हर मोडमा परिवर्तनका लागि आममानिस नै अघि सर्छ। परिवर्तन गरी छोड्छ।