प्रश्न गर्न वर्जित कक्षाकोठा
हाम्रा स्कूल तथा विश्वविद्यालयको कक्षाकोठाको वातावरण विद्यार्थीलाई प्रश्न गर्ने बनाउनुभन्दा पनि निष्क्रिय स्रोता बनाउनेतिर केन्द्रित देखिन्छ।
दुनियाँमा अहिलेसम्म उपलब्ध सबै ज्ञान मीमांसाको संश्लेषण गर्ने थलो हो, विश्वविद्यालय। मानव जातिले हासिल गरेका सबै ज्ञान-विज्ञानबारे बौद्धिक विश्लेषण र थप नयाँ ज्ञानको खोजी विश्वविद्यालयबाटै हुन्छ। अचेल त ज्ञानको केन्द्र नै विश्वविद्यालय हुने गरेको छ। त्यस्तो ज्ञानको केन्द्रमा लोकतन्त्रको अवस्था चाहिं कस्तो छ?
विशेषगरी, नेपालको सन्दर्भमा यसको विवेचना गर्न आवश्यक छ। यसै सेरोफेरोमा नेपालका विश्वविद्यालयमा लोकतन्त्रको स्थितिको चर्चा गरौं।
भर्खरै आमनिर्वाचन सम्पन्न भयो। पाँच वर्षमा एक पटक मत दिने कार्य नै लोकतन्त्र त होइन। लोकतन्त्र त फराकिलो र व्यापक छ। तर, पछिल्लो समय संसारभर नै लोकतन्त्र साँघुरिंदै गएको छ।
छिमेक भारतमै अहिले लोकतन्त्र भारतीय जनता पार्टी (भाजपा) समर्थकका लागि मात्रै भए जस्तो देखिन्छ। भाजपाको हिन्दू राष्ट्रवादी र कट्टरपन्थी विचारसँग असहमति राख्ने वा विश्वस्त नहुने जोकोहीका लागि लोकतन्त्र केबल ‘लिप सर्भिस’ हुँदै आएको छ।
नेपालमै पनि समाज र राज्यका सबै अवयवको तीव्र गतिमा अलोकतान्त्रीकरण र दलीयकरण भइरहेको छ। समाज र राष्ट्रमा लोकतन्त्र फस्टाउन र फैलिंदै जरा गाड्न त विश्वविद्यालयका कक्षाकोठामा लोकतान्त्रिक अभ्यास हुन जरुरी छ। विश्वविद्यालयका कक्षाकोठामा जति धेरै मात्रामा लोकतन्त्रको अभ्यास हुन पाउँछ, समाजमा त्यसको हाँगाबिँगा फैलिन पाउँछन्।
लोकतन्त्रको पहिलो शर्त हो, प्रश्न गर्न पाउनु र डरत्रास विना निर्धक्क प्रश्न गर्ने वातावरण सिर्जना हुनु। प्रश्नको उत्तरमा चित्त नबुझे त्यसमाथि स्वस्थ बहस-विमर्श गर्न पाउनु। हाम्रा विश्वविद्यालयका कक्षाकोठामा के वास्तवमा प्रश्नलाई स्वागत गरिन्छ? के विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गरिन्छ?
सर आइज्याक न्यूटनले ‘स्याउ बोटबाट किन भुइँमै खस्छ’ भन्ने प्रश्न आफैंलाई नसोधेको भए के गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लाग्थ्यो? राइट दाजुभाइले ‘चराहरू कसरी उड्छन्? के मानिस चरा जस्तै उड्न सक्दैनन्’ भन्ने प्रश्न नगरेको भए जहाज बन्थ्यो? यस्तै प्रश्नहरू नगरिएका भए अहिलेको नवीन आविष्कार, सूचना प्रविधिमा विश्वले यति चाँडै फड्को मार्न सक्थ्यो?
प्रश्नले नै नयाँ आविष्कार र नवप्रवर्तनको ढोका खोल्ने गर्छ। तर, हाम्रा विश्वविद्यालयमा सामान्यतः प्रश्नलाई त्यति हार्दिकतापूर्व लिइँदैन। शिक्षकको पहिलो काम नै प्रश्न सोध्ने विद्यार्थीको सोच र प्रवृत्तिलाई प्रारम्भमै निस्तेज बनाउने देखिन्छ। प्रश्न सोध्ने विद्यार्थीलाई ‘बढ्ता जान्ने भएको’ भनेर होच्याइन्छ। शिक्षकले विद्यार्थीको उत्सुकता नै मर्ने गरी कक्षाकोठामा सहपाठीको अगाडि होच्याउने, उडाउने गर्छन्।
अर्कातिर, विद्यालयको आँगनमा टेकेकै दिनदेखि विद्यार्थीको प्रश्न गर्ने क्षमता शिक्षक र विद्यालयको वातावरणले निरुत्साहित पार्छ। शिशुकक्षादेखि विश्वविद्यालयको तहसम्म पुग्दा विद्यार्थी प्रश्न गर्ने भएर भन्दा पनि भुत्ते भएर निस्कन्छ। अझ स्कूल जानुभन्दा अघि घरमा पनि प्रश्न गर्न दुरुत्साहन गरिन्छ।
विश्वविद्यालयको कक्षाकोठामा विद्यार्थीको व्यक्तित्व प्रस्फुटन हुनुभन्दा सङ्कुचन भइरहेको छ। विश्वविद्यालयबाट निस्कँदा नयाँ ज्ञान, प्रविधि र आविष्कार दिन सक्ने हुनुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन। बरु विश्वविद्यालयले आज्ञाकारी र नोकरशाही उत्पादन गरिरहेका छन्। अझ भनौं, हाम्रा विश्वविद्यालय मशिनरी पार्टपूर्जा उत्पादन गर्ने कारखाना जस्ता भएका छन्।
केही वर्षदेखि विश्वविद्यालयहरू सेमेस्टर प्रणालीमा गएका छन्। हाम्रो सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय पहिले किन सेमेस्टरबाट वार्षिकमा आयो र अहिले किन वार्षिकबाट एकाएक सेमेस्टरमा गयो? त्यसमा पर्याप्त बहस भएन, हुन सकेन।
सबै प्रणालीका आ-आफ्नै फाइदा र बेफाइदा हुन्छन् नै। सेमेस्टर प्रणालीमा लैजान दाताहरूको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ। यसलाई फेरि प्रश्न गर्ने वातावरणसँग जोड्न सकिन्छ। तुलनात्मक रूपमा प्रश्न गर्ने वातावरणको दृष्टिकोणले वार्षिकभन्दा सेमेस्टर प्रणाली प्रतिकूल देखिन्छ।
सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कनलाई विशेष महत्त्व दिइएको हुन्छ। कक्षाशिक्षकले निश्चित आन्तरिक मूल्याङ्कनमा विद्यार्थीलाई ग्रेडिङ गर्छन् वा अङ्क प्रदान गर्छन्। उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयमा आन्तरिक ४० प्रतिशत र बोर्ड ६०, पोखरा विश्वविद्यालयमा आन्तरिकतर्फ ६० प्रतिशत र बोर्डतर्फ ४० प्रतिशत अङ्कभार विभाजन गरिएको हुन्छ। आन्तरिक मूल्याङ्कनमा टर्म पेपर, पुस्तक समीक्षा, प्रस्तुतीकरण, मिड टर्म र इन्ड टर्म हुन्छन्। आन्तरिक परीक्षामा शिक्षकले कम ग्रेडिङ गर्छ कि भन्ने त्रासले विद्यार्थीले कक्षामा प्रश्न गर्ने हिम्मत गर्दैनन्।
कतिपय शिक्षकले त पहिलो दिनदेखि नै विद्यार्थीलाई ‘डोमिनेट’ गर्छन् र मनोवैज्ञानिक रूपमा त्रसित र आतङ्कित बनाउँछन्। विद्यार्थीले प्रश्न गर्दा रिसाउने गर्छन् र प्रत्युत्तरमा तीखो जवाफ दिन्छन्। त्यसैले, शिक्षक रिसाउलान् र आफूलाई कम अङ्क वा ग्रेड देलान् भन्ने डरले कक्षामा शिक्षकलाई प्रश्न गर्नुभन्दा रिझाउनमै कल्याण देख्छन्। जसले गर्दा शिक्षकले जे पढाए पनि, जसरी पढाए पनि, जस्तो पढाए पनि प्रश्न गर्दैनन्।
दक्षिणएशियामा प्राचीनकालदेखि गुरुकुल परम्परा रहँदै आएको छ। गुरुकुल परम्परामा गुरु नै सर्वेसर्वा हुने भएकाले गुरुलाई प्रश्न गर्ने कसैले आँट गर्दैनन्। गुरुद्वारा दण्डित हुनुभन्दा असल चेला बन्ने ध्याउन्नमा विद्यार्थी केन्द्रित हुन्छन्। मानवशास्त्री डोरबहादुर विष्टले ‘विकास र भाग्यवाद’ पुस्तकमा नेपाली समाजको चाकरी गर्ने सामन्ती संस्कारलाई गहिरोसँग विश्लेषण गरेका छन्। त्यस्तै, विश्वविद्यालयको कक्षामा पनि विद्यार्थीले शिक्षकलाई चाकरी, जी-हजुरी गर्नैपर्ने जबर्जस्त वातावरण तयार पारेको छ।
जसले प्रश्न सोध्छन्, तिनले आफ्नो अपमान गरेको ठान्छन्, शिक्षक। विद्यार्थी र शिक्षकको सम्बन्ध शासक र शासितको जस्तो बनेको छ। हाम्रा शिक्षक विद्यार्थीलाई गभर्नरको जस्तो व्यवहार गर्छन्। जसले गर्दा पनि विद्यार्थीले कक्षाकोठामा लोकतन्त्रको अभ्यास गर्न पाउँदैनन्। विद्यार्थी निरीह हुन्छन्, कक्षाकोठामा निष्क्रिय बस्छन्। कोक्षाकोठामा विद्यार्थी जति निष्क्रिय बस्छन्, सिकाइको गुणस्तर बढ्न सक्दैन।
अहिले पनि विश्वविद्यालयमा लेक्चर विधिमै पढाइन्छ। यो विधिको कारणले पनि विद्यार्थी निष्क्रिय स्रोता बन्न बाध्य हुन्छन्। घण्टौंसम्म शिक्षकको लेक्चर सुनेर बस्नुपर्दा कक्षाकोठा पट्यारलाग्दो हुन्छ। आजको सूचना र प्रविधिको जमानामा पनि शिक्षकको घण्टौं लेक्चर सुन्नपर्ने बाध्यताले विद्यार्थीको उर्जा घटिरहेको छ। सिर्जनात्मक र आलोचनात्मक चेतको विकासमा यस्तो भाषण विधिले खासै योगदान गर्दैन।
हाम्रो विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति दक्ष र सिर्जनशील नहुनको कारण कक्षाकोठामा लोकतन्त्रको अभ्यास गर्न नपाउनु पनि हो। कक्षाकोठामा लोकतन्त्रको प्रत्याभूत नहुनु शिक्षकमा प्राज्ञिक इमानदारीको अभावले गर्दा हो।
विद्यार्थीका हरेक प्रश्नको ज्ञान शिक्षकमा नहुन सक्छ। त्यस्तो अवस्थामा यो मेरो विज्ञताको क्षेत्र होइन, यस सम्बन्धीको विज्ञसँग सम्पर्क गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्छ। त्यसको उल्टो विद्यार्थीलाई हकारदकार गर्ने परिपाटी छ। जसले गर्दा विद्यार्थी प्रश्न गर्न हिचकिचाउँछन्।
यसरी उत्पादित विद्यार्थी नै समाजका विभिन्न क्षेत्रमा आबद्ध हुन्छन्। समाज र देशको नेतृत्व पनि तिनैले गर्छन्। जसले गर्दा बिस्तारै त्यसको असर पनि देखा पर्दै जान्छ। तसर्थ, समाज र राष्ट्रमा लोकतन्त्रको बिरुवा हुर्कनका लागि पनि विश्वविद्यालयका कक्षाकोठामा अभ्यास हुने लोकतन्त्रले महत्त्वपूर्ण भूमिका हुन्छ।
देशमा उन्नत लोकतन्त्रका लागि विश्वविद्यालयका कक्षाकोठामा पनि लोकतन्त्र सुनिश्चित हुन अति आवश्यक छ। त्यसको लागि शिक्षकहरू लोकतान्त्रिक भइदिए पनि पुग्छ।
(लेखक नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञका रूपमा आबद्ध छन्।)