भृकुटी नामको भ्रम
नेपाली राजकुमारी तथा तिब्बती रानीको भृकुटी नाम यथार्थ नभएर पुराना स्थाननामहरू संस्कृतमा रूपान्तरण गर्ने सदियौं पुरानो परम्पराको निरन्तरता प्रतीत हुन्छ।
ऐतिहासिक व्यक्तित्व भृकुटी नेपालकी राष्ट्रिय विभूति हुन्। ससाना टुक्रामा बाँडिएको तिब्बतलाई एउटै शक्तिशाली राज्य बनाउने इसाको सातौं शताब्दीका राजा स्रोङचोेङ गम्पोकी रानी र नेपालकी राजकुमारीका रूपमा चिनिएकी भृकुटीको देवनागरी वर्णविन्यासको संस्कृतनिष्ठ नाम कसले जुरायो? यस लेखको मूल विषय यही जिज्ञासा हो।
इतिहासमा रुचि राख्नेहरूका लागि २०७९ पुस २१ को गोरखापत्र दैनिकको पहिलो र दोस्रो पृष्ठमा प्रकृति अधिकारीको ‘रिपोर्टिङ’ मा एउटा खुशीको समाचार छापियो। भृकुटीबारे पनि चर्चा भएको, मूलतः स्रोङचोङ गम्पोको जीवनचरित तिब्बती पुस्तक मणिकाबुमको भृकुटीसित सम्बन्धित अंश मात्रको नेपाली अनुवाद राष्ट्रिय अभिलेखालयले तिब्बती भाषाका विशेषज्ञ पुण्यप्रसाद पराजुलीबाट गराउँदै गरेको सन्देश दिने उक्त समाचारले अरू पनि धेरै कुरा बोलेको छ।
यस लेखसित सरोकारको कुरा चाहिं ‘सन् १८९८ मा नेपाल आएका फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीले ... आफ्नो पुस्तक नेपाल (हिन्दू अधिराज्यको इतिहास) मा सबैभन्दा पहिले भृकुटीबारे उल्लेख गरेका थिए। पछि उनको तथ्यलाई इतिहास शिरोमणि बाबुराम आचार्यले प्रयोग गरे। सोही जानकारीका आधारमा नेपालले भृकुटीलाई राष्ट्रिय विभूतिका रूपमा स्वीकार गरेको हो। ... सिल्भाँ लेभीले पुस्तकमा ‘तिब्बतका दोस्रो राजा स्रङ सन ग्याम्पोले ल्हासा खडा गरेर आफ्नो राज्यलाई चारैतिर फर्काएको उल्लेख गर्दै हिमालयपारि नेपालमा पनि आफ्नो शक्तिको प्रदर्शन गर्नुका साथै विजयी भएर राजा अंशुबर्मनकी छोरी विवाह गरे’ भनेर लेखेका छन्’ भन्ने केही वाक्य हुन्।
यी वाक्यले सिल्भाँ लेभीले नै तिब्बती रानीमध्येकी नेपाली राजकुमारीको नाम देवनागरीमा ‘भृकुटी’ वर्णविन्यास लेख्न मिल्ने गरी जनाए झैं बुझिन आउँछ, तर कुरो त्यसो होइन।
भृकुटीबारे नेपालमा कुनै दस्तावेज नभएको र आफ्नै राजकुमारी शक्तिशाली तिब्बतकी रानी हुँदा पनि नेपालको इतिहासका उवेलाका टिपोटकारहरूलाई चासो नभएको सत्य हो। यसको जानकारी नेपालको इतिहासमा पहिलो पटक उल्लेख गर्ने विद्वान् सिल्भाँ लेभी नै हुन्।
उनले भृकुटीलाई अंशुबर्माकी छोरी भनी ठोकेर लेखे पनि पछिका नेपाली इतिहासकारहरूमा व्यापक विवाद भयो। अहिले भृकुटी अंशुबर्माकी छोरी होइनन् भन्ने सिद्ध भइसकेको छ। तर, नेपाल सरकारद्वारा स्वीकृत विद्यालयीय पाठ्यपुस्तकहरूमा पुरानै कुरा रटाइरहेको भेटिन्छ।
लेभीले भृकुटीबारे ई. १९०५ मा प्रकाशित फ्रान्सेली भाषाको आफ्नो किताब ले नेपालः एचुजिस इस्तोरिज दुवान रुवायोम् इन्दुमा उल्लेख गरेका थिए, समाचारमा उल्लेख गरिए जस्तो नेपाल (हिन्दू अधिराज्यको इतिहास) किताबमा होइन। नेपाल (हिन्दू अधिराज्यको इतिहास) लेभीको उपर्युक्त पुस्तककै नेपालीमा अनूदित कृति हो (ठीक १०० वर्षपछि ई. २००५ र २००७ मा क्रमशः पहिलो र दोस्रो खण्ड गरी डिल्लीराज उप्रेतीबाट अनूदित र ‘हिमाल किताब’ बाट प्रकाशित)।
लेभीले आलोच्य नायिकालाई भृकुटी नामले सम्बोधन गरेका थिएनन्। उनले रोमन लिपिमा bribtsun लेखेका छन् र त्यस रोमन हिज्जेमा पनि उनीभन्दा अघिका यूरोपेली विद्वान् जर्जीले La-chi thrit-zuns लेखेको कुरा पादटिप्पणीमा जनाएका थिए। thrit-zuns लाई सिल्भाँले किन bribt गरे थाहा छैन। यसको अनुवाद गर्ने क्रममा अनुवादक र अनूदित कृतिका सम्पादकहरूले bribtsun लाई ‘भृकुटी’ मा अनुवाद गर्ने धृष्टता गरेनन् किनभने त्यसो गर्नु इतिहास मेट्ने वा भ्रान्तिमा पार्ने दुस्साहस हुने थियो।
अनूदित कृतिका तीन सम्पादकमा प्रमोद खकुरेल, वसन्त थापा र म स्वयम् थियौं। त्यसैले नेपाल (हिन्दू अधिराज्यको इतिहास) को दोस्रो खण्ड (ई. २००७) को पृ. १०२ मा देवनागरी लिपिमा वर्णित पेटबोलीको विवरणमा रोमन लिपिका दुई शब्द र Lha-gieg र Bribtsun ‘हंसमध्ये वको यथा’ भएर रहेको देख्न सकिन्छ। La-chi वा भनेको चाहिं राजकुमारी हो।
कथित भृकुटीका अरू पनि हिज्जे छन्। वर्तमानमा चिनियाँहरू भृकुटीलाई रोमन लिपिमा Khridzun लेख्छन् (चु छिलिआङ र अरूद्वारा रचित, पान शुआनछिङद्वारा अंग्रेजीमा अनूदित चाइनाज् तिबेत ल्हासा, पृ. १७। इतिहासकार ज्ञानमणि नेपालले नेपाल भोट सम्बन्धका केही सांस्कृतिक पक्ष (विसं २०४५)मा भृकुटीबारे लामै चर्चा गरेका छन् जसमा तिब्बती पुस्तक मणिकाबुमको पनि उल्लेख छ। उनले पुस्तकमा भृकुटी सम्बोधन गरे पनि पहिलो पटक यो शब्द अङ्कन गर्ने क्रममा लगत्तै कोष्ठमा ‘ठ्रिचुङ-लाची’ (पृ. १) जनाएका छन् र चित्रका क्याप्सनमा कतै कतै ‘ठ्रिचुङ-लाची’ मात्र पनि लेखेका छन्।
गोरखापत्रको उपर्युल्लिखित समाचारमा मणिकाबुममा भृकुटीलाई ‘भाल्सा ठिचोन’ भनिएको कुरा पनि जनाइएको छ जुन उक्त पुस्तकमा ‘भृकुटी’ शब्दको उल्लेख छैन भन्ने सङ्केत हो। विज्ञ अनुवादक पराजुलीले भृकुटी शब्द अनूदित पुस्तकमा कसरी प्रयोग गर्लान्, हेर्न बाँकी नै छ।
यहाँ प्रश्न उठछ्- thrit–zuns, bribtsun, Khridzun, ठ्रिचुङ, ठिचोन इत्यादि भनिँदै आएकी नायिका, जसबारे नेपाल र नेपालमा प्रचलित भाषाहरूमा कतै उल्लेख छैन, तिनको नाम नेपालीमा कसरी विशुद्ध संस्कृतनिष्ठ भृकुटी हुन आयो? ठिचोन कसरी नेपालीमा भृकुटी भयो, कुन पण्डितबाट कहिले यस्तो न्वारान गरियो, इतिहासका जिज्ञासु विद्यार्थीलाई जानकारी चाहिएको छ। कथित भृकुटीलाई तिब्बती भाषामा छोटकरी वा चलनचल्तीमा ख्रित्सुन वा ठिचोन भन्ने गरिए पनि पूरा नाम भन्नु पर्दा बाल-मो-जा ख्रि-त्सुङ (Bal–mo–bza Khri-btsun) अथवा भेल्सा त्रित्सुन (Bhelsa Tritsun) भनिएको भेटिन्छ (डा. पूनमराज्यलक्ष्मी राणा, ‘रोल अफ भृकुटी (भेल्सा त्रित्सुन) इन स्प्रेड अफ बुद्धिज्म, सृजना, भाग १४, पृ. ११०)। त्यही भेल्सा वा बाल-मो-जा नेपालमा भृकुटी भएको देखिन्छ।
वास्तवमा यो पुराना स्थाननामहरू संस्कृतमा रूपान्तरण गर्दै आर्य सभ्यता विस्तार हुँदाको हजारौं वर्षदेखिको प्रवृत्तिकै धङघङी हो। उदाहरण धेरै छन्, प्रसङ्गात् एउटा- हामीले अचेल सगरमाथा भन्ने गरेको विश्वशिखरको नाम तिब्बती र नेपालका उच्च हिमाली भेगका बासिन्दाको भाषामा सदियौंदेखि चोमोलोङ्मा रहेको छ। ब्रिटिश सर्भेयर कर्णेल जर्ज एभरेस्टको सम्मानमा उनकै नामबाट ई. १८६५ मा ब्रिटेनले औपचारिक रूपमा यो शिखरको नामकरण एभरेस्ट गरिदिएपछि त्यही नाम विश्वमा प्रसिद्ध भयो।
एभरेस्ट भन्दै विदेशबाट मानिसहरू आउन थालेपछि त्यसको नाम नेपाली वा संस्कृतमा नहुँदा बडो लाज हुन थाल्यो, नेपालका सत्ताधारी वा इनेगिनेकाहरूलाई। भोटे भाषाको नाम चोमोलोङ्मा आफ्नो भन्न पनि शायद हीनताबोध भयो। अनि इतिहास शिरोमणि बाबुराम आचार्यबाट यसको संस्कृत नाम जुराइयो- सगरमाथा। यो चोमोलोङ्माकै संस्कृत अनुवाद हो। अतः भृकुटी-न्वारान पनि सम्भवतः इतिहास शिरोमणिबाटै भएको हुन सक्छ किनभने सिल्भाँ लेभीपछि भृकुटीबारे चासो राख्ने पुराना नेपाली विद्वान्मध्ये उनी अग्रगण्य हुन्।
तर, लेभीको bri उच्चारणलाई नजिकैको संस्कृत ‘भृ’ मा लगेर भृकुटी बनाइएको हो वा मणिकाबुम आदि कुनै स्रोतमा तिब्बती रानी, नेपाली राजकुमारीको सौन्दर्य वर्णनमा आखीभौं राम्रो भनिएको कुनै सङ्केत पाएर यस्तो नाम जुराइएको हो, थाहा छैन। तर, पहिलो कारणले उक्त नामकरण भएको भए thri, Khri, ठ्रि वा ठि उच्चारणउपर ध्यान नपुगेको देखियो। दोस्रो कारणले सो नाम राखिएको भए वर्तमानमा तिब्बती भाषाका दस्तावेजलाई नेपाली भाषामा रूपान्तरणको पुण्य काम गर्दै रहेका पराजुलीको मणिकाबुम अनुवादबाट यस कुराको पनि जानकारी पाइएला।
तथापि, मलाई के लाग्छ भने मणिकाबुमले नेपाली राजकुमारीको नाम निख्लो भृकुटी भनेर चाहिं जनाउँदैन। त्यसो भए नेपाली राजकुमारी भाल्सा, भेल्सा अथवा बाल-मो-जाको नाम नेपालमा संस्कृतनिष्ठ भृकुटी बनाउनुपरेको कारण के हो जहाँ उनका बारेमा केही सामग्री नै पाइँदैन?
माथि उल्लिखित विभिन्न हिज्जेका तिब्बती नामहरूको अर्थ हो, ‘नेपालकी राजकुमारी’। वास्तवमा नवागन्तुक दुलहीलाई छरछिमेक र गाउँमा तिनको माइतीको स्थाननामले सम्बोधन गर्ने चलन नेपालका अनेक जनजातिमा छ जुन तिब्बतमा पनि रहेछ। नेवार भाषामा बनेपाकी कुनै कन्या विवाह गरी पाटन पुगे पाटनेहरूबाट तिनलाई भों भचभय्-जु, भों ताभत (बनेपाली बुहारी नानी, बनेपाली भाउजू) इत्यादि सम्बोधन गरिन्छ। यही प्राचीन संस्कारमा नेपाली राजकुमारीको न्वारानको वा पिताले राखिदिएको नाम सदाका लागि गुम हुन पुगेको देखिन्छ।
इतिहासका नाम परिवर्तन गर्दा इतिहास हराउने पनि गर्छ। मलाई लाग्छ, नेपालको इतिहासमा नेपाल र नेवार शब्दको व्युत्पत्ति यकीन गर्न नसकेर अनेकानेक अड्कलबाजीको फेहरिस्तीमा अलमलिनुपरेको कारण हाल बागमती भन्ने गरिएको नदीको संस्कृत नाम ‘वाक्-मती’ राखिनु र त्यो नाम व्यापक हुनुअघिको यसको असंस्कृत अथवा अनार्य नाम नामेट हुन पुग्नु हो। नाम परिवर्तन हुँदा त्यससँग सम्बन्धित अनेकानेक प्रसङ्ग मेटिने भएकाले इतिहासको कुन कालखण्डमा गएर धोका पाइन्छ भन्न सकिन्न।
यो कुरा भनिरहँदा हाल सुदूरपश्चिममा दलित बस्तीका अपमानजन्य नामहरू परिवर्तन गर्ने होड चलिरहेका समाचारले पनि मलाई झस्काएको छ। यहाँ पनि यी नाम कहिले कसरी परिवर्तन गरिए भन्ने कुराको बलियो अभिलेखीकरण नभए इतिहासलाई न्याय हुँदैन।
(प्रधान लेखक/समालोचक हुन्। हिमालको २०७९ माघ अंकबाट।)