लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, शपथ आज १ बजे
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरी एक महीनापछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरूको शपथ भने आज दिउँसो १ बजे हुने जनाइएको छ।
मन्त्रिपरिषद्मा सत्ता गठबन्धन दल नेकपा (एमाले)बाट चार जना, नेकपा (माओवादी केन्द्र)बाट तीन जना तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाट एक–एक जना मन्त्री छन्।
मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रालयको कार्य विभाजन पनि गरिएको छ। जोखबहादुर महरालाई आर्थिक मामिला मन्त्रालय, माओवादी केन्द्रका इन्द्रजित थारूलाई भैतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णा केसी आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। महरा‚ थारू र केसी माओवादी केन्द्रबाट मन्त्री भएका हुन्।
एमालेबाट मन्त्री भएका चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालय‚ दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय र तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। राप्रपाका जानकीप्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
१० मन्त्रालय रहेका लुम्बिनीमा एउटा मन्त्रालय जसपालाई दिने गरी हाल उक्त मन्त्रालय एमालेले राखेको छ। सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने तत्काल सरकारमा नजाने बताएको छ।