डीपीआर स्वीकृत नहुँदै शिलान्यास भएको साढे सात करोडको अस्पताल भवन अलपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीपीआर स्वीकृत नगर्दै शिलान्यास गरिएको खोटाङमा निर्माणाधिन साढे सात करोडको अस्पताल भवन अलपत्र परेको छ।
स्थानीय तहस्तरीय १० शय्याको अस्पतालको भवन निर्माणको काम ६ महीनादेखि रोकिएको छ। प्लाटफम इन्जिनियरिङ कन्सल्टेन्सीले बनाएको डीपीआर सरकारी मापदण्डअनुसार, नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारित गरेको छैन। जसले गर्दा रावाबेँसी गाउँपालिका–२ खार्पामा निमार्णाधिन भवन अलपत्र परेको छ।
स्वास्थ्य भवन पूर्वाधारको डिजाईन तथा निर्माण सम्बन्धी मापदण्डअनुसार डीपीआर नबनेको भन्दै मन्त्रालयले भुक्तानी पनि रोकेको छ। जसले गर्दा निर्माण कम्पनी महादेव खिम्ती अन्जान–रुजन जेभीले गत असारदेखि निर्माण कार्य बन्द गरेको छ।
महादेव खिम्ती अन्जान–रुजन जेभीले सात करोड ५७ लाख ५१ हजार ६०२ रुपैयाँमा ३७ महीनामा काम सक्ने गरी २०७८ असार २१ गते भवन निर्माणको सम्झौता गरेको थियो। डीपीआरलाई देखाउँदै मन्त्रालयले भुक्तानी नदिएपछि भवन निर्माणको काम रोक्नु परेको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताए।
अस्पताल भवनको जग बनाएर पिलर पनि उठाइसकिएको छ। निर्माणस्थलमा निर्माण सामग्री थुप्रिएका छन्। डीपीआरमा अस्पतालको फोहोरमैला व्यवस्थापन, शवगृह, पार्किङ लगायतका संरचनाको डिजाइन नसमेटिएका कारण पारित नभएको रावाबेँसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई बताए।
अस्पताल भवनको डीपीआर स्वीकृत नहुँदै तत्कालीन प्रतिनिधि सभा सदस्य विशाल भट्टराई र तत्कालीन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले २०७७ मंसीर १५ गते अस्पतालको भवन शिलान्यास गरेका थिए। स्वास्थ्यचौकी खार्पालाई १० शय्याको अस्पतालमा रुपान्तरण गर्नेगरी काम शुरू भएको थियो।
अस्पतालका लागि नौ रोपनी चार आना दुई पैसा एक दाम लग्गा जुटाइएको छ। जसमा अस्पतालका लागि आवश्यक संरचना बनाउन पुग्ने गाउँपालिकाले जनाएको छ। डीपीआर निर्माणका क्रममा भएको त्रुटी सच्याएर अस्पताल भवनको कामलाई अगाडि बढाउने प्रयास भइरहेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।