चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालन हुँदै
काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनरमा सञ्चालन हुने भएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गत चैत २२ गतेदेखि नै सञ्चालनमा आएको थियो। तर, आन्तरिक टर्मिनल सञ्चालन हुन सकेको थिएन।
आन्तरिक टर्मिनल सञ्चालनका लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायमा पत्राचार गरी एक दुई दिनभित्रै सञ्चालन हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। व्यापार सहजीकरणका लागि निर्माण भएको सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोड अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ।
गाडीको पार्किङ, मालसामानको लोड र अनलोड लगायत सुविधा उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि अहिले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने समितिका कार्यकारी निर्देशक गजुरेलले बताए। वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।
यसैगरी आयातकर्ता र निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहजरूपमा पार्किङको सुविधा उपलब्ध हुने भएको छ। विश्व ब्यांकको ऋण सहयोगमा निर्माण भएको सुक्खा बन्दरगाहको कूल लागत एक अर्ब ५४ करोड छ। करीब २६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, ब्यांक रहेका छन्।
बन्दरगाह सञ्चालनमा आएसँगै अब नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ। चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया करीब एक दशकअघि नै शुरु भएको थियो।
नेपाल र विश्व ब्यांकबीच २०७० जेठमा चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो। त्यसपछि २०७५ असारमा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महीनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। (रासस)