संसद्को संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको अन्तिम सम्बोधन (तस्वीरहरू)
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन्।
संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकास र समृद्धितर्फ ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले सबैका लागि सहज शिक्षा प्राप्तिको व्यवस्था गर्नुपर्ने बताइन्।
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति भण्डारीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन्। नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
धारा ९५ कै उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ। त्यहि अनुरुप राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाको पहिलो अधिवेशनलाई लिएर संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन्। गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ।
राष्ट्रपति भण्डारीको पदावधि आउँदा फागुन २९ गते सकिँदै छ। त्यसअघि नै फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ। त्यसैले पनि आफ्नो अन्तिम सम्बोधनमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा संसद् धन्यवाद दिइन्।