राष्ट्रपतिले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
राष्ट्रपतिबाट हुने सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ। राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।
राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।
गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ।