गैंडाको खाग तस्करीको आरोपमा १५ जना पक्राउ
गैंडाको खाग ओसारपसार तथा खरीद-बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गत पुस १९ गते काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरबाट ५२२ ग्रामको एक थान खाग सहित इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो। उनीहरूलाई सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
ब्यूरोको टोलीले माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो। यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।