सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिएका छन्।
बिहीबार साँझ मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन्। नेकपा (एमाले) संसदीय दलका रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
उनलाई नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो। अहिले भने नागरिक उन्मुक्तिले विश्वासको मत दिएन।
आजै रावलले प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका थिए। त्यसलाई प्रदेश सभाले अस्वीकृत गरेको थियो।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्।