नेपाल सहित संसारका डेढ करोड मानिस हिमताल विष्फोटको जोखिममा
नेपाल सहित संसारका विभिन्न देशका डेढ करोड मानिस हिमताल विष्फोटको जोखिममा रहेको एक अध्ययनले देखाएको छ।
हिमनदी पग्लने क्रम तीव्र भएर हिमतालहरूमा पानीको मात्रा बढ्दै जाँदा विश्वका डेढ करोड मानिस तत्कालै हुन सक्ने जोखिममा बाँचिरहेको हालै प्रकाशित अध्ययनले देखाएको हो। त्यसरी जोखिमको छायाँमा बस्नेहरूमा आधाभन्दा बढी जनसंख्या भारत, पाकिस्तान, पेरु र चीनको रहेको छ। नेचर कम्युनिकेशनले माघ २४ मा प्रकाशित रिपोर्टमा यस सम्बन्धी जानकारी दिइएको छ।
यस्तै खालको अर्को अध्ययनले हालसम्म भएका १५० भन्दा बढी हिमनदी विष्फोटको सूची रहेको सार्वजनिक गरेको छ। यो जोखिमबारे युरोप र अमेरिकामा विरलै चर्चा हुने गर्छ। अध्ययन अनुमानअनुसार, दश जाख मानिस ६ माइल (दश किलोमिटर) को दूरीमा बस्छन्, जुन क्षेत्रमा जोखिमयुक्त तालहरू छन्।
इतिहासको सबैभन्दा खतरनाक बाढी सन् १९४१ मा पेरुमा आएको थियो, जुन बाढीमा एक हजार आठ सयदेखि ६ हजारसम्म मान्छे मारिएको अनुमान गरिएको थियो। सन् २०२० मा बिट्रिस कोलम्बियामा आएको सुनामीले झण्डै ३३० फिट माथिसम्म पानीको उछाल आएको थियो। तर, धन्न त्यो घटनामा कुनै मानवीय क्षति भएको थिएन।
सन् २०१७ मा नेपालको हिमाली क्षेत्रमा आएको पहिरोले निम्त्याएको बाढीको भिडियो जर्मन आरोहीहरुले खिच्न सफल भएका थिए। एलास्काको मेन्डेनहल हिमनदीमा वार्षिक साना–साना विष्फोट हुने गरेको छ, जसलाई नेसनल वेदर सर्भिसले सन् २०२१ देखि ‘आत्महत्या क्षेत्र’ को नाम दिएको न्युक्यासल युनिभर्सिटीका अनुसन्धानकर्ता क्यारोलिन टेयलरले बताएकी छन्।
सन् २०१३ मा भारतमा एकैपटक भएको भारी वर्षा र हिमनदीको विष्फोटमा हजारौं मान्छेले ज्यान गुमाएका थिए। सन् २०२१ मा भारतमा आएको अर्को बाढी हिमताल विष्फोटले गर्दा भएको भनिए पनि त्यसपछि भएका अध्ययनले बाढीको कारण हिमनदी विष्फोट नभएको पुष्टि गरेको थियो।
वैज्ञानिकहरूले जलवायु परिवर्तनले बाढीको पुरनावृत्ति गराएको नदेखिएको बताएका छन्। तर, जसै विश्व तापमान बढ्दै जाँदा हिमनदीहरू पग्लँदै गइरहेका छन्, त्यसले हिमतालमा पानीको मात्रा थपिँदै जाँदा ताल फुट्ने जोखिम बढेको र त्यसको आसपास बस्नेको जीवन जोखिममा परेको छ।
“विगतमा भएका हिमताल विष्फोटनको एउटै घटनाले हजारौं मानिसलाई मारेको थियो,” अध्ययमा संलग्न युनिभर्सिटी अफ क्यान्टाबुरीका वैज्ञानिक टम रविन्सनले भने, “जलवायु परिवर्तनले हिमनदी पग्लँदै जाँदा हिमताल ठूला बन्दै गइरहेका छन्, जसले सम्भावित अस्थिरतालाई बढाइरहेको छ।”
युनभर्सिटी अफ क्यालग्रेका भूगर्भशास्त्री ड्यान सुहगरले खास जोखिम हिमनदी प्रभावित क्षेत्रमा कति मानिसको बसोवास छ भन्नेमा रहेको बताए। “विश्व तापमान बढ्दै जाँदा हिमतालहरू बन्ने नै छन्” सुहगरले भने, “यी तालहरूले दिनसक्ने जोखिम भनेको मानिस को बसोबास कहाँ छ भन्ने हो।”
रोविन्सनले आफ्नो अध्ययन एक हजार ८९ वटा हिमनदी भएको क्षेत्रको जलवायु, भूगोेल, जनसंख्या, जोखिमलगायतका कारकहरूलाई समष्टिगत रुपमा केलाउने पहिलो अध्ययन भएको बताएका छन्। उनले धेरै वैज्ञानिकको ध्यान भारत, चीन र हिमालय क्षेत्रमा केन्द्रित हुँदै गर्दा एन्डिज पर्वतमाला भने छायाँमा परेको जिकिर गरेका छन्। उनले जोखिमको उच्चता पेरुको सान्ता क्षेत्र र बोलिभियाको बेनी क्षेत्रमा पनि रहेको तर्क गरेका छन्।
सन् १९४० मा एन्डिजमा आएको बाढीले सो क्षेत्र प्राथमिकतामा परेको भए पनि पछिल्लो एक दशकमा एशियाको उच्च हिमाली क्षेत्र प्राथमिकतामा परेको छ। यसको हुनुको कारण यो क्षेत्रमा वसोवास गर्नेको संख्या अधिक हुनुले पनि भएको युनिभर्सिटी अफ डायटनको प्रोफेसर उमेश हरितस्यले बताए।
जोखिमको उच्च सूचीमा भारत हुनुको कारण हिमनदी क्षेत्र मुन्तिरको क्षेत्रमा ठूलो जनसंख्याको बसोबास छ। जोखिमको उच्च सम्भावना अमेरिका, क्यानडा र उत्तरी ध्रुवको अलास्का क्षेत्र तथा एन्डिजमा पनि छ, तर त्यस क्षेत्रको प्रभावित भूगोलमा मानवीस वसोवास न्यून छ।
अध्ययनमा हिमतालको सूची संकलन र वर्गीकरणमा संलग्न युनिभर्सिटी अफ पोस्टड्यामका ओलिभर कोरुपले यस अध्ययनले भोलिका दिनमा हुने अध्ययनलाई दिशानिर्देश गर्ने आधार भएको बताए।