‘हाम्रो मेहनत बिचौलियाको कब्जामा पुगेकाे सरकार किन देख्दैन?’
लागतभन्दा आधा मूल्यमा अण्डा बिक्री गर्नु परेपछि झापाका किसान अण्डा र कुखुरा सडकमा छोडेर आन्दोलनमा उत्रिएका छन्।
पेशाले भेटनरी टेक्निसियन मेचीनगर नगरपालिका-२, बौद्धमोडका सीएम मगरलाई किसानको घरघरमा पुग्दा व्यवसाय गर्ने इच्छा जाग्यो। परिवारका अन्य सदस्यको सहयोग लिएर कुखुरा फार्म खोले। फार्ममा ६ हजार लेयर्स कुखुरा राखे। शुरूमा व्यापार राम्रै भयाे।
“शुरूमा फाइदा भएको थियो, अहिले त लागत पनि उठ्दैन,” उनी भन्छन्, “एक बोरा जिरो साइजको दाना एक हजार ८०० रुपैयाँमा पाइन्थ्यो, तर अहिले तीन हजार ५०० रुपैयाँ पुगेको छ।”
अर्जुनधारा नगरपालिका-९, चारघरेका महेन्द्र घिसिङ पनि कुखुराका दाना महँगो भएकाले समस्या परेको बताउँछन्। २०७५ सालदेखि अण्डा उत्पादनका लागि लेयर्स कुखुरा पाल्न शुरू गरेका घिसिङ त्यति वेला एक बोरा दाना दुई हजार रुपैयाँमा किनेको सुनाउँछन्।
“अहिले एक बोरा दाना तीन हजार ५०० रुपैयाँमा किन्न पनि निकै मोलमोलाइ गर्नुपर्छ,” घिसिङ भन्छन्, “तर अण्डाको मूल्य बढेको छैन।”
अण्डा उत्पादक संघ झापाका सदस्य समेत रहेका घिसिङ दानाको मूल्य बढ्दै गए पनि अण्डाको मूल्य नबढेकाले समस्या भएको बताउँछन्। “बिचौलियाले पोल्ट्री व्यवसायीलाई प्रतिअण्डा आठ रुपैयाँ दिन्छन्, जबकी उपभोक्ताले १५ रुपैयाँमा किन्नुपर्छ,” घिसिङ गुनासो गर्छन्, “उत्पादन गर्ने किसानले आधाभन्दा कम मूल्यमा बेच्नु परेको छ।”
कम मूल्यमा बेच्नु पर्दा उत्पादन लागत पनि नउठ्ने गरेको अर्का व्यवसायी एवं अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष मोहन खरेल बताउँछन्। “अण्डाको उचित मूल्य पाएका छैनौं,” खरेलकाे पनि उही गुनासाे छ।
खरेलका अनुसार खानेकुराको व्यवस्था र संरक्षण सहित सबै जोड्दा एउटा अण्डाको लागत १२ देखि साढे १२ रुपैयाँ पर्ने गरेको छ। तर, किसानले प्रतिअण्डा चार रुपैयाँ घाटा बेहोर्नु परिरहेको उनी बताउँछन्।
याे समस्यालाई सरकारले वास्ता नगरेको उनीहरूकोे गुनासो छ। त्यसैले अण्डाको उचित मूल्य निर्धारण गर्नुपर्ने माग गर्दै आफूहरू आन्दोलन गर्न बाध्य भएकाे त्यहाँका किसान बताउँछन्। माघ १० गते किसानले झापाको बिर्तामोडमा अण्डा र कुखुराबीच सडकमा छाडेर विरोध जनाएका थिए।
अण्डा र कुखुरा बिर्तामोडको सडकमा छोड्नुअघि उनीहरूले प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा अण्डा र कुखुरा छोड्नु परेको अण्डा उत्पादक संघ, झापाका उपाध्यक्ष खरेल बताउँछन्।
उत्पादन आधा घट्यो
अण्डा उत्पादक संघका अनुसार, झापामा प्रत्येक दिन तीन लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेका छन्। यसको खपत झापामा नै हुँदै आएको छ। पाँच वर्षअघि यसको दोब्बर उत्पादन हुने गरेको थियो। मूल्य नपाउने भएपछि किसान पलायन हुँदै गएको अण्डा उत्पादक संघका उपाध्यक्ष खरेल बताउँछन्। “हामी १६५ जना कृषक सँगसँगै काम गर्थ्यौं, तर कोरोनाभाइरस महामारीपछि धेरैले यो व्यवसाय नै छोड्नुभयो,” उनी भन्छन्।
अझ पछिल्लो ६ महीनामा अण्डाको मूल्य निरन्तर घटेको व्यवसायीहरू बताउँछन्। लगानी नै नउठ्ने भएपछि आन्दोलनमा उत्रिनु परेको बताउँदै संघका सदस्य समेत रहेका घिसिङ भन्छन्, “ब्यांकबाट पाँच प्रतिशत ब्याजदरमा लिएको ऋणको अहिले १३ प्रतिशत ब्याज तिर्नु परेको छ, अण्डाको मूल्य बढ्नुको सट्टा घटेको छ।”
चारैतिरबाट आफूहरू नै मर्कामा परेको उनी सुनाउँछन्। “ब्यांकले ब्याज बढाएको छ, विचौलियाले उचित मूल्य दिँदैनन्, सरकारले पनि वास्ता गरेको छैन,” घिसिङ गुनासो गर्छन्।
अर्का व्यवसायी खरेल भारतबाट आउने अण्डाले पनि नेपाली किसान मर्कामा परेको बताउँछन्। “भारतबाट लुकिछिपी सस्तोमा अण्डा आउँछ, त्यस कारणले पनि नेपालको उत्पादनले मूल्य पाएको छैन,” खरेल भन्छन्। भारतमा किसानलाई सरकारले सहुलियत दिने भएकाले उत्पादन खर्च नै कम पर्ने उनको भनाइ छ।
मेची भन्सार कार्यालयका सूचना अधिकार पूर्णप्रसाद लम्साल भने भन्सारबाट अण्डा भित्रिएकाे स्विकार गर्दैनन्। “बर्डफ्लूको संकमण देखिएसँगै भारतबाट कुखुरा र अण्डा नेपाल ल्याउन बन्देज गरिएको छ,” लम्साल भन्छन्।
पशु क्वारेन्टाइन कार्यालय, काँकडभिट्टाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार सिंह भारतबाट आयातले नभएर कृषक र बिक्रेताको तालमेल नमिलेकाले समस्या आएको तर्क छन्। “जबसम्म कृषक र बिक्रेताले सँगसँगै किनबेच गर्दैनन्, बीचमा तेस्रो व्यक्ति हुन्छ, तबसम्म यस्तो समस्या आइरहन्छ,” उनी भन्छन्।
यसअघि २०७६ पुस-माघमा पनि किसानले यसरी नै सडकमा अण्डा र कुखुरा छोडेर विरोध जनाएका थिए। त्यसपछि प्रतिअण्डा १५ रुपैयाँसम्म पाएका थिए। तर, विस्तारै अण्डाको मूल्य घट्दै गएको घिसिङ बताउँछन्।
अहिले आएर लागत पनि उठ्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। “यो पटक झापामा मात्रै अण्डा फालेका छौं, यदि सरकारले हाम्रो मागको सुनुवाइ गरेन छिट्टै प्रदेश र केन्द्रमा आन्दोलनका कार्यक्रम अघि बढाउँछौं,” उनी भन्छन्।
कुनै उपाय नभेटेपछि बाध्य भएर सडकमा फाल्नु परेको उनको भनाइ छ। “हामीले धेरै मूल्य चाहिन्छ भनेका छैनौं, हाम्रो मिहेनतको भाग मात्रै खोजेका हौं,” घिसिङ भन्छन्, “हाम्रो मेहेनत बिचौलियाको कब्जामा छ। यसलाई सरकारले किन देख्दैन?”