छोरीलाई आत्मनिर्णयको अधिकार
यस्तो देखिन्छ, अबका छोरी ‘घर खाने’ खालका होइनन्, आफ्नो जीवन स्वतन्त्र तरीकाले जिउने हुनुपर्छ। ‘आफ्नै निर्णय अन्तिम’ भन्न सक्ने बन्नुपर्छ।
मेरी आमा (देवीजी)को हातमा एउटा कतुवा, कालो पत्थरी र खरानी थमाइदिँदै हजुरआमाले भन्नुभएछ, “लौ हजुरआमाकहाँ गएर जनै कात्न सिक्।’ यो थियो, असल बुहारी बन्ने पहिलो तालीम। ६-७ वर्षको कलिलो उमेरमै उहाँको मस्तिष्कमा बिहे पसाइसकिएको थियो। शारीरिक र यौनिक विकास नहुँदै केटीले ‘पोइघर’ जानुपर्ने थिति बाँधेको थियो समाजले। त्यही बाध्यतामा छोरीलाई ‘घर गरेर खान सक्ने’ बनाउने चटारोमा हुन्थे आमाहरू।
केटीको परिवारमा दुलाहा होइन, छोरीले उसको घरपरिवार रिझाउने कुुरा प्राथमिक थियो। केटाको परिवारमा पनि दुलहीमा छोराको जीवनसाथीभन्दा असल बुहारीको व्यवहार बढी खोजिन्थ्यो। र, त्यसको मापक थियो, आइपरेका घरायसी काम सबै गर्न जान्नु। चाहे उमेर जतिसुकै सानो होस्।
‘अल्जाइमर्स’ को चपेटामा परेकी मेरी आमाले त्यो छिप्पिनुअघि नै संस्मरणमा लेख्नुभएको छ- ‘...आमा मलाई जनै, बत्ती पनि कात्न सिक्नुपर्छ।
१० वर्ष पुग्न आँटिस्, काम भनेको सबै थोक गर्न जान्नुपर्छ भन्नुहुन्थ्यो।’
आखिर १० वर्षको उमेरमा बिहे गरेर देहातबाट ‘नेपाल’ छिरेकी देवीजीलाई जहिल्यै कसरी घरपरिवार रिझाउने, माइती (अझ आमा)को इज्जत जोगाइराख्ने भन्ने पीर रहिरह्यो।
परिवारका महिला सदस्यहरूको ध्याउन्नै हुन्थ्यो, बच्चीलाई कसरी विवाहको लायक बनाउने। मेरी सासू (मामी) उहाँकी बुबाकी एकदम प्यारी हुनुहुँदो रहेछ। त्यसैले उहाँलाई भाइहरूसित फूटबल खेल्न दिनुभएको रहेछ, भाइको सानो कट्टु लगाएर। सासूले आफ्नो आत्मकथामा लेख्नुभएको छ-
‘म आठ वर्षकी थिएँ। एक जना नानीआमा भन्ने हुनुहुन्थ्यो... उहाँले मैले यसरी खेलेको देख्नुभयो... माथि आमा भएका ठाउँमा गएर ‘ए दुल्है नानी, के भाको? हजुर के भाको? त्यत्रो तिघ्रे छोरीलाई पनि त्यसरी कट्टु लगाएर फूटबल खेल्न दिने? बिहा गर्नु पर्दैन छोरीको? के गर्या त्यो?’ भन्नुभएछ। त्यसपछि भोलिपल्टैबाट खेल्न बन्द भयो...।’
सासूको बिहे पनि ११ वर्ष लाग्दै गर्दा भएको रहेछ। उहाँकी सासू (मुवा) अर्थात् मेरी बडा सासूज्यू (हाल १०७ वर्ष) त झन नौ वर्षमै अर्काको घर जानुपरेको रहेछ। उति वेला कुलघरानाका भनिएकै छोरीहरू किन नहुन्, मालिकका सामु हात थापिरहेका चाकरहरूलाई कुनै सामान ‘ला’ भने जस्तै गरी पराई घर पठाइन्थ्यो।
यद्यपि, बिहेपछि ‘घर खाएर’ चुलाचौकामा मात्र दिन बिताउनुपर्ने आम छोरीहरूको भन्दा अलि फरक रह्यो देवीजी, मामी र मुवाको विवाहपछिको जीवन। त्यसको मुख्य कारण थियो, शिक्षा। विद्याको महत्त्व बुझ्ने माइतीमा हुर्कनु र त्यस्तै घरमा बिहे हुनु उहाँहरूको सौभाग्य नै ठान्नुपर्छ।
देवीजीकी आमाले पनि आफ्नै बुबाबाट घरमै ज्ञान हासिल गर्नुभएको रहेछ। रेलमा जाँदा कोइला परेर आँखाको ज्योति गुमाउनुभएका बुबाले छोरीलाई पढाउनुभएको मात्र होइन, पूजापाठ र तर्पण समेत गर्न लगाउनुभएको रहेछ।
देवीजी संस्मरणमा लेख्नुहुन्छ- ‘...आमालाई हजुरबाबाको पूजा, पाठ, तर्पण त्यत्तिमै ठिक्क हुन्थ्यो रे। सबै कुरा आमालाई कण्ठै आउँथ्यो रे। संस्कृतको पनि धेरै ज्ञान थियो। स्वास्नी मानिसले गर्न नहुने पाठ, तर्पण गर्नुपर्दा हजुरबुबाले मर्जी हुन्थ्यो रे, ‘छोरी हैन, यो मेरो छोरा हो...।’
यसरी आफैं पुरुष सरह सक्षम भएर उहाँ बिहेपछि विराटनगरबाट सिसौटमा भित्रिनुभयो। झण्डै एक दर्जन छोराछोरीकी आमा बन्नुभयो। अनि ती सबैलाई पढाउन÷लेखाउन जोड दिनुभयो। देवीजीका शब्दमा- ‘...आमालाई पढ्न÷पढाउन एकदम शोख थियो। जसले पनि दुई अक्षर चिनून्, अनपढ कोही नहुन् भन्नुहुन्थ्यो। आमा हामीलाई मात्र होइन, बड्काबाबा, काइँलाबाबा, कान्छाबाबा, सबै जनाको केटाकेटीलाई पढाउनुहुन्थ्यो ... दिनभरिको सबै काम सकिएपछि राति हामीलाई पढाउनुहुन्थ्यो, लेखाउनुहुन्थ्यो। सानैदेखि नै सबै तालीम गर्ने। यो गर्न हुन्छ, यो गर्न हुँदैन, माया गरीगरी भन्नु हुन्थ्यो। धन सम्पत्ति भनेको क्यै होइन, सबैभन्दा ठूलो विद्या हो, शीलस्वभाव हो भन्नुहुन्थ्यो...।’
देवीजीले बिहेपछि पनि सासू-ससुराको पहलमा बनारस अनि काठमाडौंको स्कूलमा पढ्ने मौका पाउनुभयो। दुलाहाले पनि चिठीहरू मार्फत नै किन नहोस्, देवीजीको नेपाली लेखाइ तिखार्दै लैजानुभयो, कथाकारसम्म बन्न सघाउनुभयो।
*** *** ***
माइतमै बसी विभिन्न गुरु मार्फत म्याट्रिकसम्मको शिक्षा हासिल गर्नुभएकी मुवाले पनि आफ्नी सानी बुहारीलाई छोरा सँगसँगै पढाउन जमर्को गर्नुभएको रहेछ, आफन्तहरूको चाहना विपरीत। उहाँ भन्नुहुन्थ्यो, ‘...मैले बुहारीलाई बेस्करी पढाउँछु भन्दा सबैले त्यसो नगर्न सल्लाह दिन्थे। छोरालाई पढाऊ, बुहारीलाई के काम? बुहारीलाई त अलिअलि पढाए पुग्छ। बुहारीलाई पढाए तिनीले पछि हेलाँ गर्छिन् अनि तिमीले दुःख पाउँछौ भन्थे। त्यो वेला मान्छेको त्यस्तै मन थियो। बुहारीलाई हेलाँ नै गर्थे ...।’
आखिरी उहाँले नातिनातिना आफैं जिम्मा लिएर छोरा-बुहारीलाई विदेशमा सँगै पढ्न पठाउनुभयो। एक्लो छोराकी दुलहीलाई इष्टमित्रको सुझाव विपरीत यसरी पढ्न प्रोत्साहन दिनु नेपाली महिला शिक्षाकै दृष्टिले ठूलो योगदान हो। नत्र त न मेरी सासूले विदेशमा अध्ययन गर्न पाउनुहुन्थ्यो, न पद्मकन्या कलेज त्यो उचाइमा पुग्थ्यो, न त हजारौं युवतीलाई उच्च शिक्षाको ढोका खुल्थ्यो ! तिनै शिक्षित महिलाले आफूपछिको पुस्तालाई क्रमशः शिक्षाको ज्योति बाँड्दै गए।
*** *** ***
शिक्षित र उदार मनको परिवार पाएकैले मेरी आमा, बूढीसासू, सासूसँगै उहाँहरूपछिको पुस्ताका हामीले पनि शिक्षा मार्फत आआफ्नो क्षितिज अझ फराकिलो पार्ने मौका पायौं।
मेरै विवाह १७ वर्षको उमेरमा भएको हो, झण्डै पाँच दशकअघि। बुबाआमा ‘पहिले बीए, अनि बिहे’ भन्ने गर्नुहुन्थ्यो। तैपनि स्कूले शिक्षा पूरा नहुँदै मेरो बिहे छिनिदिनुभयो। यसको कारण मैले पछि मात्र बुझें। छोरीको पढ्ने चाहनामा अड्चन नआओस् भनेरै पढेलेखेको घरबाट बिहेको ताकेता आउँदा नाइँ भन्न सक्नुभएनछ।
नेपालकै अग्रणी शिक्षित महिलालाई सासूका रूपमा र आफूले घर सम्हालिदिएर नातिनी बुहारीलाई पढ्न जाऊ भन्ने बूढीसासू पाएर नै हो, मैले पढाइलाई निरन्तरता दिन सकेको। अनि पछि जागीरे हुन पाएको।
परिवारको शैक्षिक पृष्ठभूमिका अलावा विशेष गरी हजुरआमाहरू, आमा, सासूहरूको नैतिक, मानवीय, समाजसेवी भावनाले पनि मेरो मस्तिष्कलाई मलजल गरिदियो जसले जीवनको मार्गदर्शन पहिल्याउन सघायो। असल मान्छे हुने बाटोमा डोर्यायो।
सानै परिवार भए पनि मेरा छोराछोरी जिजुहजुरआमाको संरक्षण, मावली हजुरआमाको स्नेह, घरकी हजुरआमाको आध्यात्मिक र समाजसेवी भाव, दुवैतिरका बाजेहरूको ज्ञान-विज्ञानको सङ्गतमा हुर्कन पाए। किताबी ज्ञानसँगै मानवीय मूल्यमान्यता बुझें। असल र जागरूक नागरिक बन्ने प्रेरणा उनीहरूले परिवारबाटै पाए।
नातिनातिनीसम्म आइपुग्दा धेरै कुरा बदलिइसकेको छ। अहिले छोराछोरी दुवैले विना भेदभाव पढ्ने माहोल बनिसकेको छ। तर, पढाइसँगै बेरोजगारीको रफ्तार पनि बढ्दो छ। खानलाउनदेखि सास फेर्नसम्म चुनौती थपिँदो छ। परिवार झन झन सानो बन्दै छ। सानै उमेरदेखि मानसिक दबाब छ, आजका बाबुनानीलाई। मेरी आमाले भोगेको बुहार्तनभन्दा धेरै जटिल र बहुआयामिक त्रासमा छन् उनीहरू।
धेरै समय विद्यालय र कलेजमा बिताउने नयाँ पुस्तालाई डोर्याउने जिम्मा परिवारका सदस्यबाट गुरुहरूको पोल्टामा सरेको छ। हजुरबा-आमा र परिवार सदस्यबाट पाउने ज्ञानगुनका कुरा किंवदन्ती बन्दै छन्। मानवताको कुरा दैनन्दिन अभ्यासमा नभई पाठ्यक्रममा सीमित छ।
अहिले छोरीहरूलाई हाम्रा आमाहरूलाई रटाइए जस्तो ‘घर खान’ उपदेश दिइरहन पर्दैन। अब मेरी छोरीले उसका छोरीलाई दिने उपदेश पनि बदलिएको छ। ऊ छोरीलाई जिन्दगी जिउने स्वतन्त्रताको पाठ सिकाउँछे। जिउने तरीकामा उसकै रुचिको कदर हुनुपर्ने अडान लिन्छे।
छोरी के बन्न वा गर्न चाहन्छे, कसलाई मन पराउँछे वा पराउँदिन, सबै रोज्ने क्षमता उसैमा विकास होस् र उसकै निर्णय अन्तिम होस् भन्ने चाहन्छे। यो आफैंमा चुनौतीपूर्ण कार्य हो। हुन त मेरी आमाको तुलनामा अहिलेको सामाजिक परिवेश झेल्न यस्तै खालका छोरीहरू तयार हुनुपर्ने होला। समय र पुस्तासँगै परिमार्जन हुँदै जाने कुरा न हो यो!
(हिमालको २०७९ माघ अंकबाट।)