भक्तपुर देशकै प्रदूषित शहर
प्रायः सफा र चिटिक्क हुने पर्यटकीय नगरी भक्तपुर देशकै अत्यधिक प्रदूषित शहर बन्न पुगेकाे छ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला र देशका धेरै शहरमध्ये भक्तपुरमा सबैभन्दा बढी प्रदूषण देखिएको हो। वर्ल्ड एअर क्वालिटी इन्डेक्सले भक्तपुरका २२ स्थानमा गरेको मापनमा वायु प्रदूषण खतराको तहमा पुगेको सङ्केत दिएको छ।
हिउँदको सुख्खा समय सकिन लाग्दा पनि भक्तपुरका २२ ठाउँमा पीएम २.५ (हजारौं हानिकारक धुवाँका कणहरूको मिश्रण)को तह समग्रमा २०० भन्दा माथि पुगेको देखिन्छ। यो खतराको सङ्केत हो। जबकि, काठमाडौंमा प्रदूषणको तह १८१, पोखरामा १४३, वीरगञ्जमा १३१, चितवनमा ६९, नेपालगञ्जमा ७९, विराटनगरमा ८५ र हेटौंडामा ८१ रहेको छ।
माघ २५ गते बिहान ६ बजेको समयमा भक्तपुरको खरिपाटी, सुडाल, सुडालको सरस्वतीस्थान, काठमाडौं क्यान्सर सेन्टर, सल्लाघारी कटुन्जे, सैनिक मुख्यालय, झौखेल, खरिपाटी चाँगुनारायण, झौखेल चाँगुनारायण, बेसीगाउँ चाँगुनारायण, दधिकोट, मध्यपूर थिमी, सिपाडोल, नाङ्गेल, दुवाकोट, नलिनचोक चित्तपोल, साँगा भञ्ज्याङ, ताथली, चाकुपाट ताथलीका विभिन्न २२ ठाउँमै उच्च वायु प्रदूषण देखिएको हो।
भक्तपुरका सबै ठाउँकै एअर क्वालिटी इन्डेक्स (एक्यूआई) हेर्दा सबैभन्दा बढी पीएमको तह मध्यपुर थिमीमा ३१०, दुवाकोट चाँगुनारायणमा २९६, बेसीगाउँ चाँगुनारायणमा २३४, सल्लाघारी कटुञ्जेमा २७९, ताथलीमा २३४, दुवाकोटमा २९६ र चाँगुनारायण झौखेलमा २४६ रहेको छ। यसैगरी सैनिक मुख्यालयमा १८८, खरिपाटी चाँगुनारायणमा १७८, दधिकोटमा १८९, नाङ्गेलमा १७१, नलिनचोकमा १७६, चाकुपाट ताथलीमा १४२, साँगा चितापोलमा १६१ र सिपाडोलमा १७८ देखिएको छ।
विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० सम्म हुनु राम्रो मानेको छ। योभन्दा माथि १०० सम्मलाई मध्यम, १०० देखि १५० सम्मलाई खराब, १५१ देखि २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्मलाई धेरै अस्वस्थ भनेको छ। त्यस्तै, ३०० भन्दा माथिलाई खतरनाक भनेको छ।
यसैगरी, हावामा हानिकारक पीएम २.५ को मात्रा एक क्युबिक मिटरभित्र २५ माइक्रोग्राम (कपालको एउटा रौंको गोलाई बराबर) हुनुपर्ने बताएको छ। अहिले नै यो ६० को तहमा देखिन्छ, यो तोकिएको स्तरभन्दा झण्डै तीन गुणा बढी हो।
हिउँद याममा जमीनको तल्लो तहमा चिसो हुने र माथिल्लो तहमा न्यानो हुने भएकाले हावासँगै प्रदूषणका कण जति गहिराइ हुन्छ, त्यति जमेर बस्ने प्रदूषणविज्ञ डा. भूपेन्द्र दास बताउँछन्। यसलाई वैज्ञानिक भाषामा ‘इन्भर्सन’ भनिने र यो गर्मी महीनामा ठ्याक्कै उल्टो अर्थात् जमीनको तल्लो तह तातो र माथिको वायुमण्डल चिसो हुन्छ। हिउँदको समय अझै रहेकाले तलको भागमा प्रदूषण जमेर बसेको र पानी पनि नपरेकाले भक्तपुरमा धेरै प्रदूषण भएको डा. दास बताउँछन्।
हिउँदमा हावाको बहाव पश्चिमबाट पूर्वतिर जाने भएकाले उपत्यकाको सबै प्रदूषण भक्तपुरमा थुप्रिएको त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभाग प्रमुख रेजिना मास्के बताउँछिन्। “अहिलेको हावा पश्चिमी हावा हो, यो नागढुंगाबाट बहँदै नगरकोट भएर बाहिरिन्छ, त्यहाँको प्रदूषणमाथि यताको पनि थपिंदा धेरै भएको हो,” मास्के भन्छिन्।
प्रदूषणयुक्त हावामा हजारौं विषाक्त धुवाँको सम्म्रिश्रण हुन्छ। जसलाई ‘पार्टिकुलेट्स’ भन्ने गरिन्छ। यो हावामा भएको धूलो, धुवाँ, फोहोर, तरल पर्दाथको संयोजनबाट बनेको हुन्छ। यस्ता अत्यन्त हानिकारक ‘पार्टिकुलेट्स’ खासगरी सवारीसाधन र कोइलाबाट सञ्चालित कलकारखानाबाट निस्कन्छन्।
यस बाहेक खाना पकाउँदा, कृषिजन्य वस्तु बाल्दा र फोहोर जलाउँदा पनि यस्ता हानिकारक ‘पार्टिकुलेट्स’ हावामा पुग्छन्। प्रदूषित हावामा यस्ता ‘पार्टिकुलेट्स’ का अतिरिक्त कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड लगायत हानिकारक ग्यास हुन्छन्।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका अनुसार, भक्तपुरमा हाल ६० वटा इँटाभट्टा छन्, जसमध्ये ४० वटाबाट इँटा उत्पादन भइरहेको छ। यससँगै भक्तपुरमा सवारीसाधनको आवागमन पनि धेरै हुन्छ। त्यसमाथि खुला जमीनको अभाव, कृषि अवशेष बाल्ने, सडक छेउछाउ फोहोर थुपारेर बाल्ने चलन अत्यधिक देखिन्छ। जसले गर्दा प्रदूषण बढ्दै गएको छ।
प्रदूषणले भिजिबिलिटीमा असर
भिजिबिलिटी कम हुँदा टाढाको वस्तु देख्न सकिंदैन। केही सातायता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयौं पटक कम भिजिबिलिटीका कारण हवाई जहाज अवतरण गर्न सकिएको छैन। खासगरी बादल नलाग्ने हिउँदका महीनामा यो समस्या धेरै देखिन्छ।
कुहिरो, हुस्सु समेत नलागेको यो हिउँदमा पनि धेरै पटक विमान अवतरण गर्न समस्या देखियो। हावामा सल्फर डाइअक्साइड मिसिंदा भिजिबिलिटीमा असर पार्ने प्रदूषणविज्ञ डा. दास बताउँछन्। उनका अनुसार, इँटाभट्टा सञ्चालन भइसकेकाले त्यसबाट थप धुवाँ थपिने र कम गुणस्तरको कोइलाका कारण सल्फर डाइअक्साइडको मात्रा बढेर हावा थप विषाक्त हुन सक्छ।
नयाँ प्रविधि अपनाएर धुवाँ कम फाल्ने गरे पनि सल्फर हटाउने प्रविधि नै नभएकाले इँटाभट्टाले अहिले पनि घातक धुवाँ फालिरहेको डा. दास बताउँछन्। “अहिले भक्तपुरमा मात्रै इँटाभट्टा छन्, ती पनि बस्ती वरपर छन्,” उनी भन्छन्, “जसले गर्दा भिजिबिलिटी नहुँदा हवाई जहाज अवतरण हुन समस्या भइरहेको छ, यो गम्भीर समस्या हो।”
गत पुस १४ गते भक्तपुरका सात ठाउँमा अहिलेको भन्दा धेरै वायु प्रदूषण देखिएको थियो। त्यति वेला यी ठाउँमा एक्यूआई इन्डेक्स ३०० भन्दा माथि पुगेको थियो। सरकारले २०७६ माघ ३ मा पारित गरेको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा एक्यूआई ३०० भन्दा बढी भएपछि विपद्काल घोषणा गर्ने भनिएको छ।
भक्तपुर नाम्गेलको सबैभन्दा धेरै ३७६, ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरको ३१४, सल्लाघारी कटुन्जेको २३४, झौखेल चाँगुनारायणको २०६, खरिपाटी चाँगुनारायणको १६७ र सैनिक मुख्यालयको २१८ र सुडालको सरस्वतीस्थानको १९८ थियो।
चिसो घट्दै गएकाले वायु प्रदूषण कम हुँदै गएको मानिए पनि भक्तपुरमा भने देशका अन्य शहरको भन्दा बढी छ। भक्तपुरको प्रदूषण तह काठमाडौंको भन्दा झण्डै दुई गुणा बढी र एक्यूआई इन्डेक्स बढी भएका औद्योगिक शहर विराटनगर (२०७), वीरगञ्ज (१३१), चितवन (११९), हेटौंडा (८१) र धनगढी (१६०) भन्दा अत्यधिक हो।
प्रदूषणले ज्यान जोखिममा
पीएम २.५ भनिने हानिकारक धुवाँका कारण विभिन्न रोगबाट सन् २०१९ मा नेपालमा १७ हजार नौ सय मानिसको मृत्यु भएको संसारभरको वायु प्रदूषण मापन गर्ने ‘स्टेट अफ ग्लोबल एअर’ ले उल्लेख गरेको छ। नेपालमा सन् २०१० देखि २०१९ सम्म नौ वर्षको अन्तरालमा एक लाख ४५ हजार ४०० जनाले वायु प्रदूषणका कारण उत्पन्न हुने विभिन्न रोगबाट ज्यान गुमाइसकेका छन्।
वायु प्रदूषणका कारण हृदयाघात, श्वासप्रश्वास सम्बन्धी जटिलता, फोक्सोको क्यान्सर, श्वासनलीमा संक्रमण, निमोनिया, ब्रोङ्काइटिस, श्वासप्रश्वास सम्बन्धी विभिन्न समस्या, मुटुरोग, मधुमेह र शिशुमा विभिन्न समस्या उत्पन्न हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। जसका कारण मृत्यु समेत हुने गरेको छ।
यो अध्ययनमा नेपालको वायुमा पीएम २.५ भनिने हानिकारक तत्त्वको तह विश्वमै प्रदूषित शहरहरू भएको भारतको जत्तिकै छ। जबकि, भारतमा सन् २०१९ मा नौ लाख ७९ हजार ७०० जनाको मृत्यु वायु प्रदूषणजनित जटिल स्वास्थ्य समस्याका कारण भएको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार, कोरोनाभाइरसले भन्दा वायु प्रदूषणका कारण धेरै मानिसले ज्यान गुमाएका छन्। राष्ट्रसंघका अनुसार, सन् २०२१ मा वायु प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु भयो, जतिखेर कोरोनाका कारण झण्डै ६० लाख मानिसले ज्यान गुमाएका थिए। तर, वायु प्रदूषणको असरबारे खासै वास्ता गरिएको छैन।