नेपालले सहयोग पठाउन लागेको टर्कीको अवस्था कस्तो छ?
शक्तिशाली भूकम्प गएपछिका ५२ घण्टामा टर्कीमा एक सयभन्दा बढी पराकम्प आइसकेका छन् भने मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ।
दिनअघि शक्तिशाली भूकम्प गएको टर्कीमा नेपालले स्वास्थ्य टोली र सहायता सामग्री पठाउने भएको छ बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले स्वास्थ्य टोलीसँगै सहायता पटाउने निर्णय गरेको हो।
माघ २३ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियामा जनधनको ठूलो क्षति भएको छ। टर्कीका अधिकारीहरूले मृत्यु हुनेको संख्या आठ हजार ५७४ पुगेको जनाएका छन्।
त्यस्तै, सिरियामा भएको हताहतिको संख्या भने यकीन हुन गाह्रो भएको अधिकारीहरूले जनाएका छन्। त्यहाँ बुधबारसम्म दुई हजार ६६२ जनाको मृत्यु भइसकेको तथ्यांक आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप तायीप एर्दोगान भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सरकारले पहलकदमी नलिएको र अझैसम्म सर्वसाधारणले सरकारको तर्फबाट सहयोग नपाएको गुनासो गरेका छन्।
एक स्थानीय महिला आरजु देदेओग्लुले ठूलठूला भवनको भग्नावशेषमा फसेका आफ्ना दुई भतिजीलाई उद्धार गर्ने कुनै पनि निकाय आइनपुगेकोमा आक्रोष व्यक्त गरिन्। “भग्नावषेशमुनी हाम्रा दुई बच्चाहरु फसेका थिए। मलाई लाग्छ अब तिनीहरू बितिसके। उद्धारकर्ताहरू किन वेलैमा आउन सकेनन्?,” उनले भनेकी छन्।
इस्केन्दरुनको नुमुने जिल्ला जुन टर्कीको दक्षिणी क्षेत्रमा पर्छ, सो स्थानमा अझै खोज र उद्धार कार्य हुन नसकेको बीबीसीले जनाएको छ।
त्यस्तै, अन्टाक्याको दक्षिणी शहरमा भूकम्प प्रभावित ६४ वर्षीय मलेकले सोधे, “खोइ कहाँ छ टेन्ट? खानेकुराका ट्रक कहाँ छन्?” टर्की र सिरियाका लाखौं भूकम्पपीडितले तीन दिनदेखि खाद्यान्न र टेन्ट समेत नपाएको जनाएका छन्। कतिपय ठाउँमा खोज र उद्धार समेत हुन सकेको छैन।
५२ घण्टामा आठ वर्षीय बालकको उद्धार
उद्धारका केही आश्चर्यजनक घटनाहरू भइरहँदा भूकम्प गएको ५२ घण्टामा आठ वर्षीय एक बालकको उद्धार गरिएको छ। हाते शहरमा रहेको भत्किएको एक भवनबाट ती बालकको उद्धार गरिएको जनाएको छ।
यगिती चकमक नामक ती बालकलाई भवनबाट सकुशल उद्धार गरिएपछि उनको आमा भए ठाउँमा लगिएको थियो। आफ्नो सन्तानको व्यग्र प्रतीक्षामा रहेकी उनले छोरालाई अंगालोमा च्यापेकी थिइन्।
मृतकको संख्या बढ्दै
टर्कीमा भएको भूकम्पले आठ हजार ५७४ जनाको मृत्यु भएको छ। त्यस्तै सिरियामा भने दुई हजार ५६२ भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझै बढ्ने सम्भावना रहेको जनाइएको छ।
माघ २३ मा सिरियासँगको सिमानामा पर्ने दक्षिणपूर्वी क्षेत्रमा ७.८ म्याग्नेच्युडको भूकम्पपछि सयवटा भन्दा बढी पराकम्प आएको छ। पहिलो भूकम्प सोमबार बिहान ४ः१७ बजे गएको थियो। भूकम्पको केन्द्रविन्दू खारामानमारस प्रान्तको पाजारिक जिल्ला थियो।
टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प र शक्तिशाली परकम्पका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्दै गर्दा घाइते हुनेहरूको संख्या दशौं हजार पुगेको छ। भूकम्प भएको १२ घण्टाभित्रै फेरि ७.६ म्याग्निच्युडको पराकम्प गएको थियो।
सयभन्दा बढी पराकम्प
पछिल्लो ५२ घण्टामा टर्कीमा ४ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा बढी पराकम्प गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण निकाय यूएसजीएसले जनाएअनुसार यो भूचाल मुख्य भूकम्पको समयमा छुटेको क्षणको समाजोजन हो र समयसँगै यसको प्रभाव कम हुँदै जानेछ।
चार म्याग्निच्युडको पराकम्पलाई सामान्य मानिन्छ, यसले उल्लेखनीय रुपमा हल्लाउने गर्छ भने भवनमा सानोतिनो दरार पार्नसक्छ। सिद्धान्ततः पाँच म्याग्निच्युडको भूकम्प चार म्याग्निच्युडभन्दा १० गुणा बढी असरदार हुन्छ र यसले भवनहरूमा सामान्य क्षति पुर्याउँछ।
६ म्याग्निच्युडको भूकम्पलाई शक्तिशाली मानिन्छ। यो चार म्याग्निच्युडको भूकम्पभन्दा सय गुणा शक्तिशाली हुन्छ। अधिक जनसंख्याको भएको वस्तीमा यस प्रकारको भूकम्पले धेरै क्षति पुर्याउँछ।