प्रादेशिक अस्पताललाई एम्बुलेन्स प्रदान
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका सात वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
बुधबार प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधिलाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मन्त्री नियुत्त भएपछि गरेको पहिलो निर्णय कार्यान्वयन गरेको मन्त्री श्रेष्ठले बताए।
चितवनको वकुलहर अस्पताल, रामेछापको रामेछाप अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रवाराही चापागाउँ अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, काठमाडौंको टोखा चण्डेश्वरी अस्पताल र दोलखाको पशुपति चौलागाई स्मृति अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
प्रति एम्बुलेन्स ५२ लाख ९० हजारमा खरीद गरिएको केन्द्रले जनाएको छ। केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाका अनुसार एम्बुलेन्समा बिरामीसहित दुई जना कुरुवा, स्वास्थ्यकर्मी बस्ने सुविधा छ।
त्यस्तै, एम्बुलेन्समा डेलिभरी सेट, ड्रेसिङ सेट, वासिङ इक्युपमेन्ट, टु वे भिडियो कन्भर्सेशन डिभाइस, मोबाइल डिभाइस, फोरजी कनेक्टेभिटी डिभाइस, वाकीटकी, क्यामरा, जीपीए सिस्टम समेत जडान गरिएको छ।