कसलाई भेट्छन् मेयर बालेन?
जतिसुकै महत्त्वपूर्ण काम लिएर गए पनि काठमाडौंवासीलाई भेटै नदिने काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आफ्ना नजिकका र स्वार्थ मिल्नेहरूसँग भने जहिल्यै भेटघाट गरिरहेका छन्।
माघ २२ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कलाकार जल शाहसँग भेट गरे। जलले श्रीमान् र छोरी सहित मेयरलाई महानगर कार्यालयमा भेटेकी हुन्। अमेरिकामा बस्दै आएकी जल केही समयअघि नेपाल आएकी हुन्।
गत जेठ १६ मा पद तथा गाेपनियताकाे शपथ लिए लगत्तै मेयर बालेन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई भेट्न सैनिक मुख्यालय पुगेका थिए। सेनापतिलाई नभेटी नहुने के काम थियो भने चाहिं उनले सार्वजनिक गरेका छैनन्।
गत स्थानीय निर्वाचनमा भाेट दिएर जिताएका काठमाडौंका मतदाताले भने बालेनलाई भेट्न नपाएको गुनासो गर्दै आएका छन्। नगरी नहुने कामका लागि भेट्न खोज्दा पनि नपाएको उनीहरूको गुनासाे छ।
मेयर बालेनलाई भेट्न नपाउने मध्येका एक हुन, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला। माइती नेपालले काठमाडौं महानगरभित्र यौन व्यवसाय गर्दै आएका ३७५ जनालाई उद्धार गरी सडकपेटी तथा खाली ठाउँमा चटपटे, पानीपुरी, फलफूल, बदाम, पानी, चिया, मकै बेच्ने व्यवस्था गरिदिएको थियो। तर‚ महानगरले ती ठाउँमा यस्ता व्यवसाय गर्न रोक लगायो।
महानगरको उक्त कार्यले उद्धार गरिएका महिलाहरू बिचल्लीमा परेको भन्दै माइती नेपालकी संस्थापक समेत रहेकी कोइरालाले मेयर साहसँग भेटेर छलफल गर्न चाहेकी थिइन्। तर‚ मेयरले कर्मचारीमार्फत उक्त विषय महिलासँग सम्बन्धित रहेकाले उपमेयर सुनीता डंगोललाई भेट्न आफूहरूलाई सुझाएको कोइराला बताउँछिन्।
“मेयरसँग भेटेर मेरा नानीहरूबारे कुराकानी गर्छु भन्ने थियो। समय दिनुहोस् भनेर साथीहरूलाई महानगरपालिका पठाएकी थिएँ‚” उनले भनिन्‚ “मेयर बालेन्द्र साहले ‘यो त महिलाको कुरा भयो, मेयरसँग नभई उपमेयरसँग कुरा गर्नु’ भन्नुभएछ। मलाई दुखेको कुरा र भेट्न चाहेको त मेयरसँग हो नि!” मेयर भएपछि महानगरको समस्या लिएर जाँदा त्यसलाई सुन्दिनुपर्ने कोइराला बताउँछिन्।
महानगरको कदमले आफूहरूको हातमुख जोड्ने माध्यम नै गुमेको भन्दै अनौपचारिक व्यापार व्यवसाय गर्दै आएकाहरूले गत भदौ ७ मा मेयरलाई भेटेर ज्ञापनपत्र बुझाउन चाहेका थिए। तर‚ कार्यालयमै रहेका मेयर साहले व्यस्तता देखाउँदै आफूहरूलाई भेट नदिएको उनीहरू बताउँछन्।
मेयरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको बताउँछन् सम्पदा संरक्षण अभियन्ता सुमन सायमी। महानगरले सडकमा व्यापार गर्दै आएका साना व्यवसायीलाई ज्यादती गरेको तथा टुकुचाखोला उत्खनन्देखि अन्य काम पनि मनलाग्दी तरिकाले गरेको उनको जिकिर छ। सायमी भन्छन् “सडकपेटीमा मकै पोल्नेदेखि साना व्यवसाय गर्ने सबै अन्यायमा परेका छन्।”
यस्ता विषयमा छलफल गर्न मेयर साहलाई फोन गर्दा फोन नउठाउने, कुनै प्रतिक्रिया नदिने, सरोकारवालाको कुरा नसुन्ने गरेको सायमीको भनाइ छ।
महानगरले गत मंसीर १२ मा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलायो। त्यो वेला नगरप्रहरी र सुकुम्बासीबीच झडप भयो। त्यसको भोलिपल्ट सुकुम्बासीहरू मेयर साहलाई भेटेर ज्ञापनपत्र बुझाउन महानगर कार्यालय पुगे। तर‚ उनीहरूलाई पनि भेट दिएनन्।
स्वच्छ‚ सुन्दर‚ सफा बनाउने अभियान चलाएकाे काठमाडाै महानगरपालिकाले सडकपेटी‚ खुला ठाउँमा व्यापार‚ व्यवसाय गर्न रोक लगाएको छ। यस्तै‚ अनाधिकृत संरचना पनि हटाउँदै आएका छन्। देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अनौपचारिक व्यवसाय गर्नेहरूलाई व्यवस्थित गर्नको साटो उनीहरूलाई लखेटेको आरोप मेयरमाथि छ।
महानगरले खुलामञ्च रहेको क्षेत्रमा भूमिगत पार्किङ बनाउने योजना बनाएको भन्दै स्थानीवासी र संरक्षण अभियन्ताहरूले विरोध गर्दै आएका छन्। यसै विषयमा गत पुस १८ गते उनीहरू मेयरलाई ज्ञापनपत्र बुझाउन महानगर कार्यालय पुगेका थिए। तर‚ मेयर साहले भेट्न अस्वीकार गरे।
यस्तै‚ टुकुचामा डोजर चलाएको वेला पनि स्थानीयहरू मेयरलाई भेट्न कार्यालय पुगेका थिए। उनीहरूलाई पनि भेट दिएनन्। “मेयरले आफ्ना आसेपासे बाहेक अरूलाई भेट्दैनन्। भेटे पनि कुरा सुन्दैनन्। मेयरको नियत नै खराब छ‚” अकुपाई टुँडिखेलका अभियन्ता आलोक तुलाधर भन्छन्‚ “मेयरले रजाईं गर्ने खालको प्रवृत्ति देखाइरहेका छन्। सरोकारवालासँग सल्लाह नगरी मनलाग्दी योजना ल्याउन पाइँदैन।” महानगरलाई निवेदन, इमेल गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि आफूहरू कार्यालयमै पुगेको तुलाधर बताउँछन्।
असार २८ गते कृष्ण मल्ल, अशोक शर्मा, निर्मल शर्मा, दीपा श्री निरौला, निश्चल बस्नेत, रविन्द्र खड्का लगायत कलाकारसँग महानगरको कार्यालयमा भेटे गरेका थिए।
आफू व्यस्त रहेको बताउँदै आएका मेयर साह मोबाइल गेम पब्जीको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप’ को फाइनलमा पुगेका टोलीलाई हौसला दिन भन्दै इन्डोनेसिया पुगेका थिए। प्रतियोगितामा दोस्रो भएका टीम डीआरएस नेपाल फर्किंदा उनीहरूको स्वागत गर्न पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेका थिए।
यस्तै‚ कात्तिक २४ मिस नेपालका आयोजक संस्था हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठसँग मेयर साहले आफ्नै कार्यालयमा भेटघाट गरेका थिए। त्यस्तै‚ अमेरिकी राजदूत डिन आर थोपसनसँग मंसीर १५ गते र फ्रान्सका राजदूत गिल्स बोरब्यौसँग पुस २४ गते भेट गरेका थिए।
मेयर साहले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिमण्डलसँग माघ १९ गते महानगरको कार्यालयमा भेट गरेका थिए। टोलीमा निफका अध्यक्ष केपी पाठक, कलाकार नीर शाह, रेजिना उप्रेती, यादव भट्टराई, ऋषि लामिछाने, सरिता गिरी, सन्ध्या थापा लगायत थिए। त्यस्तै‚ माघ २२ गते उनले कलाकार जल शाहलाई भेटे गरेका थिए।
आफूलाई मन परेका व्यक्तिहरूलाई मात्र भेट गर्ने मेयर साह महानगरवासीका समस्या किन सुन्न चाहिरहेका छैनन्? सरोकारवालाको प्रश्नबाट किन भागिरहेका छन्? समस्या समाधान गर्न उनीसँग वैचारिक दृष्टिकोण नभएकाले मेयर साहले सरोकारवालाहरूसँग भेट नदिएको बताउँछिन् समाजशास्त्री मीना पौडेल।
“समस्या बुझ्न नसकेपछि दृष्टिकोण हुँदैन। त्यसपछि रणनीति पनि बन्दैन‚” समाजशास्त्री मीना पौडेल भन्छिन्‚ “त्यसैले मेयर साह भागिरहेका छन्।” इन्जिनीयर समेत रहेका मेयर साहले भुइँ मान्छेको समस्यादेखि उम्किन खोजेको पौडेलको टिप्पणी छ।