लुम्बिनीमा आज राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै छ। रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। मतदानका लागि माघ २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले जानकारी दिए।
राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसका माधवप्रसाद आचार्य, नेकपा (एमाले)का कुमार दसौंदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार रहेका छन्।
तीन जना उम्मेदवार रहे पनि कांग्रेसका आचार्य र एमालेका दसौंदीबीच प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन्। आचार्य र दसौंदी रोल्पाका हुन्। आचार्य कांग्रेस रोल्पाका पूर्व सभापति हुन्। २०७४ को निर्वाचनमा उनी प्रदेश सभाको उम्मेदवार बनेका थिए। दसौंदी एमालेका केन्द्रीय सदस्य हुन्। उनलाई सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी समर्थन रहेको छ।
सत्ता गठबन्धन दल नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय उम्मेदवार रहे पनि उनले एमालेका दसौंदीलाई सघाउने एमाले नेता तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य बताउँछन्। “नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग हामी नियमित छलफल र संवादमा छौं,” उनले भने‚ “उहाँहरूले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौं।”
तर‚ नागरिक उन्मुक्ति लुम्बिनीका प्रमुख सचेतक राजकुमार चौधरीले अहिलेसम्म केन्द्रबाट त्यस्तो निर्देशन नआएको बताए। “हामी पनि सत्ता गठबन्धनकै हौं, सरकारलाई समर्थन गरेका छौं, विश्वासको मत दिएका छौं,” उनले भने, “छलफल भइरहेको छ, तर माथिबाट निर्देशन नआउँदासम्म केही भन्न सकिंदैन।”