चापाकलले ल्याएको खुशी
वडा कार्यालयले घरघरमा चापाकल गाडिदिएपछि विपन्न परिवारका राजवंशीहरूलाई खानेपानी लिन छिमेकीको घर धाउनुपर्ने बाध्यता मात्रै हटेको छैन‚ स्थानीय सरकारले आफू जस्ता गरीबका लागि पनि काम गर्दो रहेछ भन्ने महसूस भएको छ।
झापाको बिर्तामोड नगरपालिका-७ भुस्साबारीकी ७५ वर्षीया चलाखी चौधरीले जीवनभर आफ्नै आँगनमा भएको चापाकलबाट खानेपानी पिउन पाइन्छ भन्ने सोचेकी थिइनन्। किनकि‚ अहिलेसम्म छिमेकीको घरबाटै ओसारेर खानेपानीको गर्जो टार्दै आएकी थिइन्।
उनलाई आफ्नै आँगनमा चापाकल होस्‚ आफूलाई मन लागेको वेला प्रयोग गर्न पाऊँ भन्ने इच्छा नभएको होइन। तर‚ त्यो इच्छा कसलाई भन्नु! हालखबर सोध्न आउने छोरा-बुहारी हुन् वा छोरी-ज्वाइँ‚ कसैलाई पनि चलाखीले भनिनन्। किनकि‚ उनीहरूसँग पनि चापाकल गाड्नका लागि चाहिने खर्च थिएन। आफैं गाडौं भने बूढाबूढी मात्र बस्ने उनीहरूलाई बिहान-बेलुकीको खानेकुरा जोहो गर्नै धौ धौ छ।
गत वैशाखमा स्थानीय तह निर्वाचनका वेला चलाखीको घरछेउकी लक्ष्मी खतिवडा वडा सदस्यमा निर्वाचित भइन्। एक दिन चलाखीको घर पुग्दा उनले घरमै चापाकल भए हुने थियो भन्ने इच्छा जाहेर गरेकी थिइन्।
राजवंशी गाउँमा पानीको दुःख देखेकी लक्ष्मीलाई पनि विपन्न परिवारलाई चापाकल गाड्दिन पाए हुन्थ्यो भन्ने थियो। त्यही कुरा उनले वडा बैठकमा वडाध्यक्ष कृष्णप्रसाद खरेलसँग राखिन्। वडावासीको समस्या नगरपालिकामा तत्काल राखेपछि चापाकल गाडेको खरेल बताउँछन्। “कल नहुँदा धेरै महिलाहरूले समस्या भोग्नुभएको रहेछ,” वडाध्यक्ष खरेलले भने‚ “तुरुन्तै नगरसँग कल माग गर्यौं। त्यही कल चलाखीको घरछेउमै गाडियो।”
चलाखीको घरछेउमा चापाकल गाडेपछि ५० वर्षीया मनसरा राजवंशी पनि दङ्ग छिन्। उनी छिमेकीको घरमा भएको चापाकलबाट पालो कुरेर खानेपानी ल्याउँथिन्। तर‚ धेरैबेर कल चलाउँदा पानी सकिन्छ झैं हेर्ने‚ महीनावारीका वेला लगाएको कपडाको टालो धुँदा आँखा तर्ने गर्दा उनको मन कुँडिन्थ्यो। त्यसैले ऋणै गरेर भए पनि चापाकल गाडौं भनेर वेला वेला श्रीमान् रमानन्द राजवंशीलाई भन्दै आएको मनसराले सुनाइन्।
“तर‚ हामी जस्तो केही नभएकालाई ऋण पनि कसले पत्याउने!” मनसरा भन्छिन्‚ “वडाले गएको कात्तिकमा निःशुल्क कल गाडिदियो। हाम्रा लागि घरमै कल हुँदा शहरका सबै सुख घरछेउमै आए जस्तो भयो।”
वडा कार्यालयले गत असोजदेखि माघ १५ सम्म ४० वटा चापाकल विपन्न वर्गका घरमा गाडिदिएको छ। जसले विपन्न वर्गलाई खानेपानी लिन छिमेकीको घर पुग्नुपर्ने बाध्यता मात्रै हटेको छैन‚ वडाले आफू जस्ता गरीबका लागि पनि काम गर्दो रहेछ भन्ने लागेको रमानन्दको अनुभव छ।
वडाले विभिन्न संघसंस्था र नगरपालिकाको सहयोगमा विपन्न वर्गलाई लक्षित गरी सहयोग गर्दै आएको वडाध्यक्ष खरेल बताउँछन्। जाडोमा न्यानो कपडा वितरण, शौचालय बनाउन नसक्नेलाई पनि सहयोग गर्दै आएको छ।