तीर्थकुमारीलाई छिन्नलता विशेष सम्मान, ‘गलबन्दी’ जोडीलाई युवा सम्मान
यसबर्षको छिन्नलता पुरस्कारबाट वरिष्ठ गीतकार बुद्धवीर लामा, संगीतकार बद्रीदुर्गा खरेल र गायक यम बराल पुरस्कृत भएका छन् ।
छिन्नलता विशेष सम्मानबाट भने ख्यातिप्राप्त गायिका तीर्थकुमारी सम्मानित भइन् । पुरस्कार र सम्मानको राशी जनही ५० हजार रुपैंयाँ रहेको छ ।
युवा प्रतिभातर्फ लोकगायक प्रकाश सपूत र गायिका शान्तिश्री परियार पुरस्कृत भए । उक्त पुरस्कारको राशी भने ४० हजार रुपैंयाँ रहेको छ ।
छिन्नलता गीत पुरस्कार गुठीले शुक्रबार विशेष समारोह आयोजना गर्दै स्रष्टालाई सम्मानित गरेको हो ।
छिन्नलता निकेतन ताहाचलमा भएको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल थिए ।
पुरस्कृत गीतकार लामाको बादलुको घुम्टोले इलामबजार छोपिँदा, रुँदैछु म गैरी खेतमा, धोका दियौ तिमिले, खुट्टा तान्दै गर जस्ता थुप्रै गीत चर्चित छन् भने गायक बरालको अव चोटहरुले पिरोल्दै न मलाई, मन रहे पो मायाप्रिती, निष्ठुरीले छोडेर गईहाली जस्ता गीत प्रिय छन् ।
वरिष्ठ गायिका तीर्थकुमारी म त खाँदिन कुवाको पानी, कहिले हुने होला नानी तिमी पिपल म बर जस्ता युगल गीत गीतबाट चिनिन्छिन् ।
त्यस्तै, वरिष्ठ संगीतकार/गायक बद्रीदुर्गा खरेलका बोलाउ भने तिमीलाई बात लाग्ने डर, बान्की परेकी माया जस्ता गीत स्रोताले मन पराएका छन्।
युवा युगल गायक सपूत र शान्तिश्री भने पछिल्लो समय गलबन्दी च्यातियो तिमीले तानेर बाट चर्चित छन् ।उक्त अवसरमा पुरस्कृत स्रष्टाहरुले आआफ्ना गीत पनि गाएका थिए ।