बालापन बुझौं
बाबुआमाले पर्याप्त समय नदिँदा इन्टरनेटको लतमा फसेर एकलकाँटे बन्दै गएका बालबालिकामा जीवन बुझ्ने र आवेग नियन्त्रण गर्ने क्षमता खस्कँदो छ।
घटना १: कोभिड–१९ महामारी लगत्तै आठ वर्षीय एक बालकलाई अस्पताल ल्याइयो। उनमा एकदमै डराउने, राति सुत्न र स्कूल जान पनि नसक्ने समस्या रहेछ। बुझ्दै जाँदा उनले बन्दाबन्दीमा अत्यधिक भिडिओ गेम खेलेछन्। हिंस्रक घटनाहरू रहेको गेममा यति डुबेछन् कि आफैंलाई त्यसको एक पात्रका रूपमा सोच्न थालेछन्। यस्तो लतले उनको मस्तिष्कमा गम्भीर नकारात्मक असर पारिसकेछ। मनोपरामर्श र औषधिको प्रयोगपछि बालकमा बिस्तारै सुधार आयो।
घटना २: पति रोजगारीका लागि विदेश गएपछि छोरालाई पढाउन पहाडी जिल्ला सदरमुकाममा बस्दै आएकी एक महिला सात वर्षीय छोरालाई साथै लिएर पसल जान्छिन्। छोराले चाउचाउ किनदिन अनुरोध गर्दा आमाले स्वास्थ्यका लागि राम्रो नहुने भन्दै अस्वीकार गर्छिन्। छोरा रिसाएर कोठामै फर्कन्छन्। आमा थप किनमेल गरेर आधा घण्टापछि पुग्दा उनी पासो लगाएर झुन्डिएको अवस्थामा फेला पर्छन्। उनलाई तत्काल नजिकैको अस्पताल पुर्याए पनि बचाउन सकिएन।
घटना ३: राति खाना खाएर सुत्न भनी आफ्नो कोठामा छिरेका १६ वर्षीय छोरा भोलिपल्ट बिहान स्कूल जाने वेलासम्म नउठेपछि हेर्दा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पर्छन्। उनको मोबाइल फोन हेर्दा थाहा हुन्छ– एउटै कक्षाकी केटीसाथीसँग मेसेन्जरमा सामान्य भनाभनपछि ‘म तँलाई देखाइदिन्छु’ भन्दै भिडिओ कल गरेर झुन्डिएका रहेछन्।
पछिल्ला दिन विश्वव्यापी रूपमै बालबालिका तथा किशोरकिशोरीमा मानसिक समस्या बढ्दो छ। आधाभन्दा बढी मानसिक समस्या १५ वर्ष र तीन चौथाइ समस्या २४ वर्षको उमेरअघि शुरू हुने अध्ययनहरूले देखाएका छन्। नेपालमा विद्यालयका किशोरकिशोरीमा गरिएको एक सर्वेक्षण अनुसार, २० प्रतिशत किशोर तथा १८ प्रतिशत किशोरीमा भावनात्मक तथा व्यवहारजन्य समस्या पाइएको छ।
आधाभन्दा बढी मानसिक समस्या १५ वर्ष र तीन चौथाइ समस्या २४ वर्षको उमेरअघि शुरू हुने अध्ययनहरूले देखाएका छन्।
अर्को एक अध्ययनमा विद्यालय जाने किशोरकिशोरीमध्ये झण्डै १३ प्रतिशतमा इन्टरनेटको दुर्व्यसन भेटियो। पछिल्लो समय बालविकासमा बाधा पुर्याउने अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी), अटिज्म जस्ता समस्या पनि नेपालमा विकराल बन्दै छन्।
किशोरकिशोरीको आत्महत्या पनि अहिले विश्वव्यापी समस्या हो। १५–१९ वर्ष उमेर समूहका किशोरकिशोरीको मृत्युमा चौथो मुख्य कारण आत्महत्या रहेको तथ्याङ्कले देखाउँछन्। केही समयअघि मात्र झापामा तीन किशोरीले एउटै रूखमा झुन्डिएर आत्महत्या गरेको घटना बाहिर आएको थियो। जनसंख्याको झण्डै ४० प्रतिशत हिस्सा ओगट्ने बालबालिका तथा किशोरकिशोरीमा यो हदको मानसिक समस्या देखिनु निकै गम्भीर छ। किनकि, यो उमेर भनेको सिक्ने, पढ्ने र व्यक्तित्व निर्माणको जग बसाल्ने समय हो। यति वेला हुने मानसिक समस्याले वृत्तिविकासमा मात्र होइन, शारीरिक स्वास्थ्यमा समेत जीवनभरिलाई गम्भीर नकारात्मक असर पारिदिन्छ।
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य कस्तो बनाउने, त्यो धेरै पक्षमा निर्भर रहन्छ। तीमध्ये गर्भावस्थामा आमाको शारीरिक तथा मानसिक स्वास्थ्य, जन्मिने क्रममा हुन सक्ने समस्या, बाल्यकालमा पाएको मायाममता र स्याहार, घर, विद्यालय तथा समाजको वातावरण, पोषण, शारीरिक तन्दुरुस्ती, बाबुआमा तथा अभिभावकको मानसिक स्वास्थ्य, गरीबी आदि प्रमुख हुन्।
बालबालिकाले यूट्युबमा सजिलै आफूलाई मन परेको कुरा हेर्न सक्छन्। यसले उनीहरूलाई जीवनका अन्य कुरा पनि सजिलै पाइन्छ भन्ने भ्रम पर्न थाल्छ।
नेपालका सन्दर्भमा गरीबी र कमजोर स्वास्थ्य अवस्थाका कारण बालबालिकामा मानसिक समस्याको जोखिम धेरै छ। जस्तो– पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार, अझै पनि पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्को छन्। आठ प्रतिशतमा सुकेनास र ४३ प्रतिशतमा रक्त अल्पता छ। गर्भावस्थामा आमामा हुने रक्त अल्पता र विभिन्न संक्रमणले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुर्याउँछ। सोही सर्वेक्षणमा झण्डै ३३ प्रतिशत महिलामा रक्त अल्पता पाइएको थियो।
संयुक्त संरचनामा रहेका नेपाली परिवार पछिल्ला दिन क्रमशः एकल संरचनामा ढल्दै छन्। अधिकांश एकल परिवारमा बाबुआमा दुवै कामकाजी छन्। बच्चाको हुर्काइमा बाबुआमाले पर्याप्त समय दिन नसक्दा शारीरिक तथा मानसिक असरहरू देखिन्छन्। जस्तै– कामकाजी आमाले बच्चालाई समयमा दूध खुवाउन सक्दैनन्। नवजात शिशुलाई अर्काको भरमा छाड्दा आमा र बच्चामा आत्मीयता विकसित हुन पाउँदैन। बच्चालाई समय नदिँदा उनीहरू सानैदेखि टीभी/मोबाइल फोन/इन्टरनेट आदिमा अभ्यस्त हुन थाल्छन्। बच्चालाई राम्ररी खुवाउन नसक्दा वा मोबाइल/टीभी हेराएर खुवाउँदा कुपोषणको जोखिम रहन्छ।
स्मार्टफोन अनि इन्टरनेटको प्रयोगले बच्चाहरूको मनोविज्ञानमै गलत असर पारिरहेको हुन्छ। जस्तै– यूट्युबमा उनीहरू सजिलै आफूलाई मन परेको कुरा हेर्न सक्छन्। यसले उनीहरूलाई जीवनका अन्य कुरा पनि सजिलै पाइन्छ भन्ने भ्रम पर्न थाल्छ। परिणाम– उनीहरू आफूले भने जस्तो नहुने बित्तिकै धेरै रिसाउने, लडिबुडी गर्ने जस्ता गतिविधि देखाउन थाल्छन्। आवेग नियन्त्रण गर्ने क्षमता एकदमै कम हुन जान्छ। तर, अधिकांश अभिभावकले यो कुरा नजरअन्दाज गरिरहेका छन्।
त्यसैले बालबालिकाको मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न गर्भावस्थादेखि नै अपनाउनुपर्ने सावधानी तथा उपायबारे सरकार, सरोकारवालादेखि अभिभावकसम्मले गम्भीर चासो राख्नु अत्यन्त जरुरी छ।
(डा. बस्नेत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागका सहप्राध्यापक हुन्। हिमालको २०७९ माघ अङ्कबाट।)
थप सामग्री