मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मंगलबार नेकपा (माओवादी केन्द्र)का एक जनालाई मन्त्री तथा एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री सुनीता यादव र राज्यमन्त्री रहबर अन्सारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री यादवले शपथ खुवाएका हुन्।
गत पुस २७ गते ६३ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त एमालेका नेता यादवले पहिलो पटक तीन जना मन्त्री, दोस्रो पटक ६ मन्त्री र तीन राज्यमन्त्री तथा तेस्रो पटक एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, खानेपानी तथा ऊर्जामन्त्री सिंगासन सा कलवार‚ गृह तथा सञ्चार मन्त्री शत्रुध्नप्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री मोहम्मद जैयद आलम, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी रहेका छन्।
जनता समाजवादी पार्टी (जसपा)बाट अर्थमन्त्रीमा सञ्जय यादव र सामाजिक विकास मन्त्री सुरिता साह रहेका छन्। जनमत पार्टीबाट भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री वसन्त कुशवाहा र महेश यादव शिक्षा‚ विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री रहेका छन्।
यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा जसपाका शेष अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा एमालेका केशव राय र भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा जनमतका सञ्जयकुमार यादव रहेका छन्।