बाढीमा फसेका एउटै टाेलका १०७ जनाकाे उद्धार
मोरङको कटहरीमा बाढीमा फसेका १०७ जनाको सशस्त्र प्रहरीले उद्धार गरेकाे छ ।
लोहान्द्रा खोलामा आएको बाढीका कारण डुबानमा परेका कटहरी गाउँपालिका ४ गन्नु टोलका महिला, बालबालिका र जेष्ठ नागरिकलाई उद्धार गरिएकाे हाे ।
उद्धारमा संलग्न सशस्त्र प्रहरी निरीक्षक बिराज कटुवालका अनुसार २५ घर डुबानमा परेपछि मानिसहरु घर बाहिरको सडकमा जम्मा भएर बसेका थिए।
महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार गरिएपनि पुरुषहरु भने घर कुरेर बसेका छन् ।
नेपाली सेनाले पनि साेही ठाउँबाट तीन जनाकाे उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुलाई विद्यालयमा राखिएको छ भने गाउँपालिकाले खानाकाे व्यवस्था गरेकाे छ ।
वडा अध्यक्ष मण्टु शेखका अनुसार उनीहरुलाई सामूहिक रुपमा खाने व्यवस्थाका लागि ग्यास सिलिण्डर, चुलो, चामल, दाल र तरकारीको व्यवस्था गरिएको छ ।
डुबान क्षेत्रमा पुगेका प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई राहतमा कमी आउन नदिन आग्रह गरे ।