प्रमुख प्रशिक्षक देशाईका यस्ता छन् तीन लक्ष्य
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक मोन्टी देशाईले तत्कालका लागि तीन वटा लक्ष्य राखेर प्रशिक्षण अघि बढाएको बताएका छन्।
एक सातादेखि राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका देशाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नियुक्ति दिएको छ। प्रमुख प्रशिक्षक नियुक्त गरेसँगै क्यानले पत्रकारसँग अन्तर्क्रिया आयोजना गरेको हो।
पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख प्रशिक्षक देशाईले तत्कालीन र दीर्घकालीन योजना बनाएको बताए। तत्कालीन योजनामा राष्ट्रिय टोलीले खेल्ने आगामी १२ वटा एकदिवसीय खेलमा राम्रो प्रदर्शन गर्ने र त्यसमा निरन्तरताको प्रयास गर्ने बताए। यससँगै अब खेल्ने एकदिवसीय खेल जित्ने गरी काम गर्ने उनको भनाइ थियो।
त्यस्तै, दोस्रो लक्ष्यमा एशिया कप रहेको बताएका छन्। त्यसको तयारीमा लाग्ने प्रमुख प्रशिक्षक देशाईले बताए।
यससँगै उनको तेस्रो विश्वकप छनोट रहेको छ। एशिया कपअघि नामिबियामा हुने छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए।
दीर्घकालीन लक्ष्यमा क्रिकेट क्यालेन्डर बनाएरै लाग्ने उनको भनाइ थियो। अहिले दुई वर्षका लागि नियुक्त भएको र त्यसपछि पनि नेपालमै रहने योजना बनाएको उनले बताए।
यसका लागि थुप्रै चुनौती भए पनि नेपाली खेलाडीमा राम्रो खेल्ने क्षमता रहेको उनले बताए। पछिल्लो एक साता बन्द प्रशिक्षणमा रहेको खेलाडीहरूको क्षमता बुझ्ने कोशिश गरेको उनको भनाइ थियो।
नेपालले पाएको एकदिवसीय मान्यतालाई कसरी कायम राख्न सकिन्छ भनेर नै लाग्ने प्रमुख प्रशिक्षक देशाईले बताए। लामो समयदेखि नेपालसँग जोडिएकाले नेपालले एकदिवसीय मान्यता पाउँदा आफू पनि खुशी भएको उनले सुनाए।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अहिले घरेलु शृङ्खला जित्ने चुनौती रहेको बताए। यससँगै एकदिवसीय मान्यता बचाउने चुनौती रहेको वेला नवनियुक्त प्रमुख प्रशिक्षकबाट राम्रो नतीजाको आशा गरिएको चन्दको भनाइ थियो।