राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई
राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर मोन्टी देशाई नियुक्त भएका छन्।
राष्ट्रिय खेलकूद परिषद्ले स्वीकृति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले देशाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो। यस विषयमा विस्तृत जानकारी दिन आज पत्रकार सम्मेलन राखिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए।
क्यानले प्रमुख प्रशिक्षकका लागि गत पुस २४ गते आवेदन आह्वान गरेको थियो। जसमा २४ जनाले आवेदन दिएका थिए। त्यसमध्ये पाँच जनालाई शर्टलिस्टमा राखिएको थियो।
जसमा देशाईसँगै अस्ट्रेलियाली पूर्व क्रिकेटर डेभ ह्वाटमोर, श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका प्रसाद, दक्षिण अफ्रिकी पूर्व क्रिकेटर रसेल क्रेग डोमिंगो र न्यूजिल्यान्डका पूर्व क्रिकेटर ग्लेन पोकनल थिए। अन्तर्वार्तापछि क्यानले देशाईलाई प्रमुख प्रशिक्षक नियुक्त गर्न राखेपलाई पत्राचार गरेको थियो। राखेपले स्वीकृति दिएसँगै देशाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको हो।
यसअघि पनि उनले नेपालको युवा टोलीलाई प्रशिक्षण दिएका थिए। उनले राष्ट्रिय टोलीलाई पनि सल्लाह दिंदै आएका थिए।
उनले एक सातादेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिंदै आएका छन्। क्यानले लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय शृङ्खलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ।
अर्को साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिदेशीय शृङ्खला हुनेछ। यही शृङ्खलाबाट देशाईले नेपाली राष्ट्रिय टोली सम्हाल्नेछन्।