उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुँदै
नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुँदै छिन्।
आज मध्याह्न ११ः५९ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ। आजको बैठकमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष चयन गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते अर्यालको मात्रै उम्मेदवारी परेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्याल निर्विरोध चयन हुने भएकी हुन्।
राष्ट्रिय सभामा माओवादी संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव पेश गर्ने भएका छन्। उनको समर्थकमा नेकपा (एमाले) सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।
आजको बैठकमा उपाध्यक्षको निर्वाचन हुने सम्भावित कार्यसूची छ। माओवादी सांसद श्रेष्ठले अर्याललाई उपाध्यक्ष चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि दाहाल र देवकोटाले समर्थन गर्ने भएका छन्। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नेछन्।
यसअघि उपाध्यक्ष शशिकला दाहालको पदावधि गत वर्ष सकिएको थियो। एक वर्षसम्म पनि उपाध्यक्षको निर्वाचन हुन सकेको थिएन।
राष्ट्रिय सभामा एमालेका १६, माओवादीका १५, कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्। त्यस्तै, एक जना स्वतन्त्र र तीन जना मनोनीत सांसद छन्। एक पद रिक्त छ।