विवाहबाट बचाइरहेको विद्यालय
विवाहका लागि उमेर हद २० वर्षभन्दा कम गर्नुपर्ने कतिपयको तर्क असङ्गत, अपरिपक्व मात्र होइन, किशोरकिशोरीका लागि प्रतिकूल पनि छ।
विवाहका लागि २० वर्ष पुग्नुपर्ने कानून परिमार्जन गर्न केही सांसदहरू नै दबाब दिइरहेछन्। शहर र सम्भ्रान्त समुदायकेन्द्रित यो उमेर हद ग्रामीण र गरीब समुदायलाई अनुकूल नरहेको उनीहरूको जिकिर छ।
नेपाली परिवेशमा अधिकांश महिलाका लागि बिहे भनेको घरायसी कामको बोझ बढ्नु हो, परिवारका लागि सन्तान उत्पादन गरिदिने जिम्मेवारी वहन गर्नु हो र ‘बुहारी’ भएर बन्धनमा बाँधिनु हो। तर, यसका लागि शारीरिक र मानसिक परिपक्वताको पक्षलाई पूरै बेवास्ता गरेका उनीहरू ग्रामीण भेगमा केटाकेटीले १४-१५ वर्षकै उमेरमा पढाइ छाड्ने असङ्गत तर्क समातेर उमेर हद घटाउन टेबल ठटाइरहेछन्। तर, किशोरकिशोरीले पढाइ छाड्नुको कारण उनीहरूको पढाइप्रतिको अनिच्छा नभएर गरीबीले दिलाएको बाध्यता हो।
धेरै किशोरीका लागि यही कानून परिवार र समाजसँग जुधेर पढाइलाई निरन्तरता दिने साधन पनि बनिरहेको छ। गत मंसीर मध्यतिर सप्तरीका मुसहर र अन्य दलित बस्ती पुग्दा हामीले यो तथ्य राम्ररी अनुभव गर्न पायौं।
हामी शुरूमा तिरहुत गाउँपालिकाको एक विद्यालय पुग्यौं। शिक्षकहरूका अनुसार, साताअघि कक्षापिच्छे चार-पाँच विद्यार्थी मात्र थिए। बाँकी सबै धान काट्न गएका रहेछन्। केटाकेटी पनि बाबुआमासँगै काम गर्न जानुपर्ने भएकाले खेतीपातीका वेला विद्यालय रित्तै हुने रहेछन्। त्यस दिन हामी कक्षा ८ का छात्राहरूसँग गफ गर्दै थियौं।
खाजाको प्रसङ्ग उठ्दा मुसहर समुदायकी एक बालिकाले आँखाभरि आँसु पारिन्। उनीसँग खाजा खाने पैसै हुँदो रहेनछ। बिहानभरि कामको चटारोले गर्दा सामान्यतः एक घण्टा लाग्ने विद्यालय दगुरेर आधा घण्टामा आइपुग्दी रहिछन्। भन्दै थिइन्, “धेरै छिटो दगुर्दा मेरो खुट्टा कति दुख्छ, तर कक्षा छुटाउन मन लाग्दैन।”
कक्षा ८ मा पढ्ने दलित समुदायका छात्रा प्रायः १४ देखि १६ वर्षसम्मका थिए। उनीहरूको कथाव्यथा पनि लगभग उस्तै। सबैमा गरीबी र जातीय विभेदको असर प्रष्ट देखिन्थ्यो। शिक्षकहरू स्कूलमा जातीय विभेद छैन भन्छन्। तर, छात्राहरू अन्य समुदायका विद्यार्थीले आफूहरूलाई कक्षामा बस्दा र खेल्दा पनि छुट्याउने गरेको सुनाउँछन्। “सर मिसहरू पनि ठूलो जात को हो नि त, त्यसकारण उनीहरूलाई केही भन्नुहुन्न,” उनीहरूको एकै आवाज थियो।
तराईका विपन्न समुदायमा १४-१५ वर्षकै उमेरमा छोरीहरूको बिहे गरिदिने चलन छ। यी छात्राहरूलाई पनि यस्तो दबाब आइरहेकै रहेछ। “बाबुआमाले त भन्नुहुन्छ नि, तर बिहे २० वर्षपछि मात्र गर्ने हो,” एक छात्राले सुनाइन्। त्यहाँका प्रायः किशोरकिशोरीलाई धेरैभन्दा धेरै पढ्ने हुटहुटी थियो। तर, विद्यालयमा पठनपाठनको अवस्था निकै दयनीय रहेछ।
विद्यार्थीका अनुसार, चार बजे छुट्टी हुने स्कूल तीन बजेतिरै खाली भइसक्छ। स्वास्थ्य विषयका शिक्षक नहुँदा अन्तिम कक्षा पढ्न पाइँदैन। शैक्षिक सत्र शुरू भएको आठ महीना पुग्दा पनि उनीहरूका हातमा पाठ्यपुस्तक थिएन। कक्षा ९ मा कम्युटर विषय पढ्नुपर्छ। तर, उनीहरूले कम्प्युटर छुनै पाएका छैनन्। स्कूलका लागि १२ वटा कम्प्युटर आएको विद्यार्थीले सुनेका थिए। ती बीचबाटै कहाँ गायब भए, थाहा छैन।
शौचालयमा पानी छैन। छुट्टै शौचालय नहुँदा कुनै-कुनै छात्रा महीनावारीमा स्कूलै आउँदा रहेनछन्। सेनिटरी प्याड व्यवस्थापनका लागि हरेक महीना झेल्नुपर्ने तनाव छँदै छ।
दोस्रो दिन अर्को विद्यालय पुग्यौं। त्यहाँ तीन जना यस्ता छात्रा भेटिए जसले दलित भएकै कारण शिक्षा जस्तो न्यूनतम अधिकार पाउन पनि ठूलो कष्ट बेहोर्नुपरेको रहेछ। कक्षा ९ र १० का उनीहरू कोही एमबीबीएस पढ्न चाहन्थे त कोही नर्सिङ र इन्जिनीयरिङ। उनीहरूका लागि पढाइ नै सबथोक थियो, तर पढ्ने वातावरण थिएन। बिहान भएपछि रातिका जुठा भाँडा माझ्ने, घर सरसफाइ गर्ने अनि खाना पकाइवरी सबैलाई खुवाएर हतार हतार विद्यालय पुग्नु उनीहरूको दैनिकी थियो।
त्यति वेला धान काट्ने र भित्र्याउने समय भएकाले स्कूलबाट सीधै साहुको खेतमा काम गर्ने बाबुआमालाई सघाउन जाँदा रहेछन्। खेतबाट फर्केपछि फेरि बेलुकीको खाना पकाउनु छँदै छ। यस्तो व्यस्तताबीच परीक्षाका वेला राति तीन बजेतिरै उठेर पढ्नु उनीहरूको बाध्यता थियो। चरम गरीबीले सिर्जित यस्तो दलनबाट उम्कने एक मात्र उपाय उनीहरूले शिक्षालाई देखेका छन्।
यी छात्राका लागि पनि २० वर्षे उमेर हद सानै उमेरमा बिहे गर्नुपर्ने बाध्यता पन्छाउने बलियो हतियार बनेको छ। उनीहरूका अनुसार, बाबुआमा पनि छोरीले धेरै पढून् भन्ने नै चाहन्छन्। तर, अहिलेकै पढाइ खर्च धान्न मुश्किल परिरहँदा भविष्यमा डाक्टर, इन्जिनीयर बन्ने खर्च कसरी जुट्ला, उनीहरूसँग उपाय छैन।
तेस्रो दिनको भ्रमण गोइठीस्थित मुसहर बस्तीमा थियो। बिदाको दिन नभए पनि लाग्थ्यो, बस्तीका केटाकेटी कोही स्कूल गएका छैनन्। तीन वर्षअघि नेपाल यूथ फाउन्डेशनले गरेको अध्ययन अनुसार, यी बस्तीका २२ वर्षमुनिका ६७ प्रतिशत व्यक्ति विद्यालय वा कलेज भर्ना भएका थिएनन्। भर्ना भए पनि नियमित विद्यालय नजानेको संख्या अत्यधिक थियो। ९७ प्रतिशत किशोरी विद्यालयमा नियमित नरहेको पाइएको थियो।
आमाहरूको आक्रोश थियो, “स्कूलमा हाम्रा बच्चालाई ट्वाइलेट सफा गर्न लगाउँछन्, शिक्षकहरूले पनि राम्रोसँग पढाउँदैनन्, खालि मोबाइल चलाएर बस्छन् अनि ट्यूसन पढ्न आऊ भन्छन्। हामीले ट्यूसन पढाउने पैसा कहाँबाट ल्याउने?”
सरकारी जमीनमा रहेको उक्त बस्तीमा केही घर छाडेर सबै झुपडी थिए। शौचालय भएका घर नगण्य थिए। शौचालय त परको कुरा, शौच गर्न पुग्ने जमीनसम्म उनीहरूका नाममा थिएन। वरिपरिका खेत सबै साहुका। केही किशोरीले बताए अनुसार, दिसापिसाब गर्दागर्दै साहूले लखेटेका, महीनावारीका टाला पोखरीमा धुनुपर्दा गाउँलेले हप्काएका अनेकौं नमीठा अनुभव उनीहरूसँग छन्।
सामान्य कुराकानीमा उनीहरूको उमेर थाहा पाउन मुश्किल थियो। कसैले आफ्नो उमेर यकीनसाथ भन्न सक्दैनथे त कोही जानाजान बताउँदैनथे। भर्खर बिहे गरे जस्ता देखिने जोकोही सोध्दा आफू २० वर्ष कटिसकेको बताउँथे। जबकि, काखमा बच्चा च्यापेर बसेका आमाहरू २० वर्षभन्दा कम उमेरका देखिन्थे।
यस्तै अनुभव मैले अर्को एक मुसहर बस्ती जाँदा पनि गरेको थिएँ। बालविवाह गरेको पोल खुल्दा कानूनी कारबाही हुने डरले उनीहरू आफ्नो उमेर बढी देखाउँथे। जबकि, अध्ययनमा तिनै बस्तीमा २२ वर्षमुनिका व्यक्तिमध्ये लगभग ६० प्रतिशत केटी र ३० प्रतिशत केटाको बिहे १९ वर्षकै उमेरभित्र भइसकेको पाइएको थियो।
तीन वर्षअघिसम्म मुसहर समुदायका ६० प्रतिशतभन्दा बढी किशोरीलाई बालविवाह गैरकानूनी भन्ने थाहा नभए पनि यसपालि उनीहरू अधिकांश यसबारे जानकार पाइए। बिहे गर्न २० बर्ष पुग्नुपर्ने कानूनले नै कति किशोरकिशोरीलाई विद्यालयमा टिकाइरहेको थियो। सांसदहरूले भने जस्तो यो कानून शहर र सम्भ्रान्त केन्द्रित अनि ग्रामीण र गरीब समुदायका लागि प्रतिकूल नभई उनीहरूका लागि जीवन परिवर्तनको संवाहक हुन सक्ने किशोरीहरूसँगको कुराकानीले नै प्रष्ट्याउँथ्यो।
गरीबी र अशिक्षासँग बालविवाहको गहिरो सम्बन्ध छ। अर्थात् १४-१५ वर्षको उमेरमा बिहे गर्दै विद्यालय छोड्नु उनीहरूको रहर पटक्कै होइन। गरीबीले निम्त्याइदिने परिबन्ध मात्र हो। हामी गएका मुसहर बस्तीमा पनि केवल तीन प्रतिशत केटाकेटीले कक्षा ८ पास गरेका थिए। यस्तो अवस्थामा न उनीहरूले सम्मानजनक जीवनयापन दिलाउने उचित शिक्षा पाएका हुन्छन् न त हातमा सीप। बरु यही क्रम दोहोरिँदा झनै गरीबीको दलदलमा फस्छन्।
अर्कातिर, शरीर बच्चा जन्माउन तयार नहुँदै आमा बनेकाहरूमा अनेक स्वास्थ्य जटिलता देखा पर्छन्। त्यस्ता आमाले जन्माएका केटाकेटीमा पनि नकारात्मक असर पर्छ। कम उमेरमा बिहे गरेका किशोरीहरू घरेलु हिंसामा पनि बढी पर्छन्।
नेपालका सन्दर्भमा गरीबीको संरचनागत कारक तत्र्व जातीय उत्पीडन हो। सय वर्षयता मधेशले थुप्रै विकास देखिसक्यो, तर त्यही ठाउँमा पुस्तौंदेखि १० नङ्ग्रा खियाउँदै आएको मुसहर बस्तीले अहिले पनि टाउको उठाउन पाएको छैन। बस्तीमा विकास पुगेको छैन। परिवारको सम्पूर्ण कमाइले वर्षभरि पनि खान नपुग्नेहरूको संख्या अत्यधिक छ। गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता न्यूनतम अधिकार अझै टाढै छन्।
गरीब र दलितको बाहुल्य रहेका विद्यालयलाई विद्यालय व्यवस्थापन र शिक्षक स्वयंले यति गएगुज्रेको अवस्थामा पुर्याएका छन् कि विद्यार्थी टिक्ने र राम्ररी सिक्ने अवसर छैन। गुणस्तरहीन विद्यालयकै कारण डाक्टर, इन्जिनीयर बन्ने सपना बोकेका किशोरीहरूको सपना बीचमै टुङ्गिने सम्भावना अत्यधिक छ। त्यसैले ग्रामीण र सीमान्तीकृत समुदायको उत्थान बिहेको उमेर घटाएर होइन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सम्मानजनक जीविकोपार्जनमा उनीहरूको पहुँच बढाएर मात्र सम्भव छ।
(नारीवादी समाचोलनामा रुचि राख्ने पराजुली लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा लेख्छिन्। हिमालको २०७९ माघ अंकबाट।)
थप सामग्री: