जसले नेपाली मुद्रा प्रचलनमा ल्याए
नेपाल राष्ट्र ब्यांकको पहिलो गभर्नरका रुपमा हिमालयशमशेर जबराले भारतीय मुद्राको विस्थापन गरी नेपाली मुद्रा चलाउने तथा विनिमय दर निर्धारण गर्ने महत्त्वपूर्ण कार्य गरेका छन्।
नेपाल राष्ट्र ब्यांकका पहिलो गर्भनर हिमालयशमशेर जबरा माघ २२ गते बिहान ९५ वर्षको उमेरमा बिदा भएका छन्। उहाँको निधनले देशलाई अपूरणीय क्षति पुगेको छ।
उहाँले देशका लागि थुप्रै काम गर्नुभएको छ। आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह पनि गर्नुभएको छ। उहाँ २००७ सालमा अर्थ मन्त्रालयको सचिव हुनुभएको थियो। त्यति वेला भन्सार विभागलाई आधुनिकीकरण गर्ने र महालेखा परीक्षक कार्यालय गठन भएको थियो।
त्यस्तै, उहाँ सचिव रहेकै वेला बजेट सार्वजनिक गर्ने परिपाटी शुरू भयो। यसमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रह्यो।
उहाँको सधैं प्रशंसा गर्नुपर्ने र महत्त्वपूर्ण अन्य दुई वटा काम छन्। जुन नेपाल राष्ट्र ब्यांकको पहिलो गभर्नर भएपछि गर्नुभएको हो। पहिलो हो, नेपालमा चलनचल्तीमा रहेको भारतीय मुद्रालाई विस्थापित गरेर नेपाली मुद्रा प्रयोगमा ल्याउनु।
२०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र ब्यांकको स्थापना भयो। उहाँ पहिलो गभर्नर नियुक्त हुनुभयो। त्यति वेला नेपालमा द्वैध मुद्रा चलनचल्तीमा थियो, भारतीय मुद्रा र नेपाली मुद्रा। भारतीय मुद्रा त छ्यापछ्याप्ती चल्तीमा थियो। त्यो वेलामा भारतीय मुद्रा कानूनी रूपमै प्रचलनमा थियो।
उहाँकै पहलमा नेपाल राष्ट्र ब्यांक ऐन बन्यो। त्यसका आधारमा भारतीय मुद्रा विस्थापित गर्न खूब मेहनत गर्नुभयो। झण्डै तीन वर्षको परिश्रमपछि २०१६ चैत मसान्तबाट नेपालमा भारतीय मुद्रा पूरापूर विस्थापित भयो। र, नेपाली मुद्रा नै प्रचलनमा आयो।
त्यसपछि उहाँले गरेको अर्को महत्त्वपूर्ण कार्य हो, विनिमय दर निर्धारण। त्यतिवेला भारतीय रुपैयाँ प्रचलनमा त थियो नै त्यसको विनिमय दर पनि सरकारले तोक्दैनथ्यो। व्यापारीले विनिमय दर तोक्थे, अझ असन र इन्द्रचोकतिरका व्यापारीले तोक्ने गरेका थिए।
विनिमय दर पनि एउटै हुँदैनथ्यो। बिहान एउटा र दिउँसो अर्को दर हुन्थ्यो। त्यो तोक्ने स्थानीय व्यापारी थिए। त्यसमा पनि आर्थिक आधारमा नभई उनीहरूको मनमौजी हुन्थ्यो। यो काममा एक हिसाबले भन्दा व्यापारीको हैकम थियो। त्यो व्यापारीको हैकम हटाउन उहाँले अग्रगामी कदम चाल्नुभयो।
विदेशी विनिमय दर नियमित गर्ने ऐन ल्याउनुभयो। त्यसमा भारतीय मुद्रालाई ब्यांकले मात्र साट्ने व्यवस्था गर्नुभयो। त्यससँगै भारतीय मुद्राको विनिमय दर पनि तोक्नुभयो। यसका लागि उहाँले ठूलो संघर्ष गर्नुभयो।
त्यसपछि भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र ब्यांकले मात्र तोक्न पाउने भयो। त्यस्तै, भारतीय मुद्राको कारोबार ब्यांक बाहेक अरूसँग गर्न नपाउने व्यवस्था भएपछि नेपालमा व्यापक प्रयोगमा रहेको भारतीय मुद्रा दुई–चार वर्षमा विस्थापित भयो र नेपाली मुद्रा मात्र प्रयोगमा ल्याइयो।
भारतीय मुद्राको विनिमय दर कति निर्धारण गर्ने भन्ने विषयमा निकै द्विविधा थियो। निकै छलफल र विश्लेषणपछि उहाँले एक भारतीय रुपैयाँ बराबर १.६ नेपाली रुपैयाँ निर्धारण गर्नुभयो। उहाँले त्यो वेला निर्धारण गरेको विनिमय दर अहिलेसम्म पनि टिकिरहेको छ। त्यसलाई उहाँको दूरदर्शिता मान्न पनि सकिन्छ।
२०२३ सालमा नेपालको आर्थिक अवस्था राम्रो भयो भनेर विनिमय दर परिवर्तन गरिएको थियो। नेपाल र भारतको मुद्रा बराबर हो भन्ने थियो। नेपाल र भारतको मुद्रा १ बराबर १ गरियो।
तर, त्यसले नेपाललाई नै घाटा भयो। त्यसैले त्यो दर धेरै टिक्नै सकेन। फेरि भारु १ को नेरु १.६ निर्धारण भयो। आखिर उहाँको त्यो ‘डिसाइडिङ फ्याक्टर’ अग्रगामी रहेको मान्नुपर्ने हुन्छ। उहाँको जोड सधैं यही हुन्थ्यो कि भारतीय विनिमय दर निर्धारण गर्दा बडो होश पुर्याउनुपर्छ।
यसरी हेर्दा नेपाली मुद्रा चलाएर भारतीय मुद्राको विस्थापन र भारतीय मुद्राको विनिमय दर निर्धारणको योगदान उहाँले पेशागत जीवनमा देशका लागि गरेका दुई ठूला योगदान हुन्। त्यस वेलामा त्यति ठूलो काम गर्न पक्कै सजिलो थिएन। त्यो वेला नेपालको आर्थिक क्षेत्रमा गर्नुपर्ने कुरा नै त्यही थियो।
२०१७ पुस १ गते राज महेन्द्रले शासनसत्ता हातमा लिए। पञ्चायती व्यवस्था लागू भयो। र, उहाँलाई पनि राष्ट्र ब्यांकको गभर्नरबाट बर्खास्त गरियो।
२०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भयो। त्यसपछि फेरि उहाँ ब्यांकिङ क्षेत्रमा आउनुभयो। उहाँले स्थानीय पूँजीलाई एकीकृत गरी हिमालयन ब्यांक स्थापना गर्नुभयो। त्यसपछि निजी क्षेत्रका ब्यांक खुल्न थाले। नेपालमा ब्यांकिङ पद्धतिको आधार बसाउने काम उहाँले नै गर्नुभयो।
उहाँको भनाइ सधैं के रहन्थ्यो भने कहिलेकाहीं हामी आर्थिक रूपले बलियो भएर हौसिएर भारतीय मुद्राको विनिमय दर घटाऔंला, त्यसमा होश पुर्याउनुपर्छ। हाम्रो आर्थिक स्थिति पाँच–सात वर्ष बलियो हुँदै गई पुग्दो बचत भएर मुद्रा बलियो भएपछि मात्रै यसमा हात हाल्नुपर्छ। नत्र लहडका भरमा विनिमय दर घटबढ गर्दा नोक्सान बेहोर्नुपर्छ।
उहाँ सकुन्जेल हरेक वर्ष वैशाख १६ गते हुने नेपाल राष्ट्र ब्यांकको वार्षिकोत्सवमा आउनुहुन्थ्यो। प्रवचन पनि दिनुहुन्थ्यो। त्यहाँ पनि प्रायः दोहोर्याइरहने हुन्थ्यो, भारतीय मुद्राको विनिमय दर बजारमा छोड्ने काम नगर्नुहोस् है, भद्रगोल हुन्छ।
आज देश र विशेष गरेर ब्यांकिङ क्षेत्रले ब्यांकिङ आधार बसाउने व्यक्ति गुमाएको छ। उहाँको कमी त सधैं खट्किरहने नै छ। तथापि, उहाँले चालेका कदमलाई पछ्याउँदै देशको आर्थिक अवस्था सुधार्न पहल गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
(नेपाल राष्ट्र ब्यांकका पूर्व डेपुटी गभर्नर मानन्धरसँग महेश्वर आचार्यले गरेको कुराकानीमा आधारित।)