राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको ल्होत्से हलमा पुगेर सांसद अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारूढ गठबन्धनका तर्फबाट उनको उम्मेदवारी परेको हो।
अर्यालको प्रस्तावकमा राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।
संसद् सचिवालयले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। माघ २३ गते बिहान ११ः५९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ।
अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना छ। सत्तारूढ सबै दलको समर्थन छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।
राष्ट्रिय सभामा एमालेका १६, माओवादीका १५ सांसद छन्। त्यस्तै, कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
एक जना स्वतन्त्र र तीन जना मनोनीत सांसद छन्। रिक्त एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ।