पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ।
मुशर्रफको आइतबार ७९ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो। सेनाका वरिष्ठ प्रमुखहरूले मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको पाकिस्तानी सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “अल्लाहले दिवङ्गत आत्मालाई आशीर्वाद दिऊन् र शोक सन्तप्त परिवारलाई शक्ति प्रदान गरून्,” विज्ञप्तिमा भनिएको छ।
उनको परिवारका सदस्यलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्व राष्ट्रपतिको ’एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन्। मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, केही महीना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो निजी वकील मार्फत पाकिस्तानी सरकारलाई निवेदन दिएका थिए। द एक्सप्रेस ट्रिब्यून पत्रिकाका अनुसार, पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे।
मुशर्रफ सन् १९९९ मा सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए। उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चीफ अफ स्टाफ कमिटी (सीजेसीएससी)को १०औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलका रूपमा काम गरेका थिए।